रक्सोल–अमलेखगन्ज रुटमा चल्ने ट्यांकरमा लकिङ प्रणाली

नेपाल आयल निगमले रक्सोल–अमलेखगन्ज रुटमा पेट्रोलियम पदार्थ बोक्ने ट्यांकरमा लकिङ प्रणाली सुरु गरेको छ । बाराको अमलेखगन्जस्थित नेपाल आयल निगमको मध्यमाञ्चल क्षेत्रीय कार्यालयमा आयोजित एक कार्यक्रमका बीच बाराका प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धर र निगमका कार्यकारी निर्देशक सुशील भट्टराईले संयुक्त रुपमा लकिङ प्रणालीको शुरुवात गरेका हुन् ।
भारतको रक्सोल र बरौनीबाट लोड भएर अमलेखगन्जस्थित क्षेत्रीय डिपोमा आउने ट्यांकरबाट हुने पेट्रोलियम पदार्थको चुहावट नियन्त्रणका लागि निगमले लकिङ प्रणाली सुरु गरेको हो । बाराका प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धरले लकिङ प्रणालीको सुरुवात गर्दै नेपाल आयल निगमले सुरु गरेको नयाँ प्रविधिले चुहावट नियन्त्रण र लागत कम गर्न मद्दत पुग्ने बताए ।
कार्यक्रममा नेपाल आयल निगमका कार्यकारी निर्देशक सुशील भट्टराईले लकिङ प्रणाली अब सबै ट्यांकरमा लागू गरिने जानकारी दिए । हाल रक्सोल र बरौनीबाट लोड हुने ट्यांकरमा शुरु गरिएको यो प्रविधिलाई अन्यत्र पनि लागू गरिने उनले बताए ।
कार्यकारी निर्देशक भट्टराईले नेपाल आयल निगम शुद्धीकरण अभियानमा रहेको र आन्तरिक सुधारका लागि चालिएको यो कदममा असहयोग गर्ने जोसुकैलाई पनि कारबाही गर्ने चेतावनी दिए । “हामी आन्तरिक सुधारको अभियानमा छौं, यसमा असहयोग गर्न खोजे निगमका कर्मचारी, ढुवानी व्यवसायी र अन्य पक्षलाई कारबाहीको दायरामा ल्याउनेछौं,” उनले भने ।