तानसेन–गुफाचौर सडक सम्पन्न «

तानसेन–गुफाचौर सडक सम्पन्न

जिल्ला सदरमुकाम तानसेनदेखि ऐतिहासिकस्थल तेल्घाको गुफाचौर जोड्ने सडक निर्माण सम्पन्न भएको छ । तानसेन नगरपालिकाले आव ०७४/७५ को विनियोजित बजेटबाट ७८ लाख खर्चेर तानसेन गुफाचौर सडक निर्माणकार्य सम्पन्न गरेको हो ।
नगरपालिकाको तानसेन देखि ८.४ कि.मि. लम्बाई रहेको सडकले ऐतिहासिक पर्यटकीयस्थल तानसेन १० तेल्घाको गुफाचौरलाई जोडेको हो । सडक निर्माणसँगै स्थानीयका उत्पादनले बजार पाउने र स्थानीयलाई सदरमुकाम आवतजावतमा समेत सहज हुने नगर प्रमुख अशोककुमार शाहीले बताए । उनले नगरले दीर्घकालीन पर्यटकीय क्षेत्र बनाउने उद्देश्यले गुफाचौरमा २ सय ७ फिट अग्लो गणेशको मन्दिर बनाएर आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने योजना सुनाए ।
तानसेन नगर सरकारले यस वर्ष सडक वर्षको रूपमा मनाउने र ग्रामीण तथा नगरका सडकहरू स्तरोन्नति गर्ने योजनाका साथ काम सम्पन्न भएको नगर उपप्रमुख लक्ष्मीदेवी पाठकले जानकारी दिइन् । पाठकका अनुसार नपाले यस वर्ष सडकका योजना सम्पन्न गरेर नगरका हरेक वडा र बस्तीलाई सडक सञ्जाल पुर्याउने लक्ष्य रहेको छ ।
नगरको बजेटबाट स्थानीय उपभोक्ता समितिमार्फत आयोजनाको काम सम्पन्न गरिएको आयोजनाका साइट इन्जिनियर विशाल ओलीले जानकारी दिए । दोहोरो सवारी आवतजावत गर्न मिल्ने गरी ७ मिटर चौडाइको बाटो निर्माण भएपछि तानसेन र गुफाचौर, तेल्घा, मस्याम लगायतका गाउँलेलाई समेत फाइदा हुने वलीको विश्वास छ । सडक आयोजनाको केही दिन अगाडि नगरपालिकाले सर्वपक्षीय अनुगमनसमेत गरेको छ ।
सामान्य ट्रयाकमात्र खोलिएको यो सडक स्तरोन्नति भएपछि अहिले नियमित रूपमा बससमेत चल्न थालेको छ, स्थानीय मोहनप्रसाद गैरेले भने, “गुरुयोजना बनाएर धार्मिक तथा पर्यटकीयस्थल बनाउने योजना रहेको गुफाचौरमा सडकसँगै अन्य विकासको ढोका खुलेको छ । सडक सञ्जालसँगै स्थानीय उत्पादनले समेत बजार पाउने भएको छ, तानसेन–१० का वडअध्यक्ष लोचनप्रसाद तिमिल्सेनाले भने, “जसले गर्दा स्थानीय उत्पादनले समेत बजार पाएको छ ।”

नपाद्वारा हाम्रो तानसेन प्रकाशन
तानसेनन गरपालिकाले आफ्नो त्रैमासिक गतिविधि समेटेर ‘हाम्रो तानसेन’ नामक पत्रिका प्रकाशन गरेको छ ।
नगरका विकास, शिक्षा, स्वास्थ्य पर्यटनआदिलाई समेटेर पत्रिका प्रकाशन आरम्भ गरिएको नगरप्रमुख अशोककुमार शाहीले बताए । पत्रिकाको नगर प्रमुख शाही र नेपाल पत्रकार महासंघका अध्यक्ष राजेशकुमार अर्यालले एक कार्यक्रमको बीच विमोचन गरे । नगरको काम, कारबाही र गतिविधि समेटेर नियमित रूपमा बुलेटिन निकाल्ने योजना रहेको नगरपालिकाका प्रेस सल्लाहकार तथा पत्रिकाका प्रधान सम्पादक गोविन्द भट्टराईले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्