सचिवविहीन गाउँपालिका

नयाँ जिल्ला बनेको रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिकाका वडा सचिवविहीन भएको पाइएको छ । गाउँपालिकाका सबै वडामा सचिव नहुँदा काम कारबाही प्रभावित भएको छ । साविकमा ६ वटा गाउँ विकास समिति मिलेर बनेको उक्त गाउँपालिकामा हाल १४ वडा छन् । साविकका गाविस सचिव सरुवा मिलाएर अन्य गाउँपालिकामा गएपछि हाल गाउँपालिकामा एकजना पनि सचिव नभएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तिलक रावतले जानकारी दिए । उनका अनुसार गाउँपालिकाको ११ वडा नम्बर वडामा सचिव रहेको भए पनि बिदामा बसेका कारण त्यहाँ पनि सचिवविहीन भएको छ ।
भौगोलिक रूपमा विकट र अन्य सुविधाबाट वञ्चित, त्यसमा पनि वडा सचिव नहुँदा यस गाउँपालिकाका नागरिक समस्यामा परेका छन् । वडा सचिवको अभावमा वडा सहायक र स्वास्थ्य चौकी इन्चार्जहरूले काम गर्ने गरेका छन् । वडाबाट हुने पञ्जिकरणको काम सम्बन्धित वडाका स्वास्थ्य चौकी इन्चार्जहरूले गर्ने गरेका छन् भने अन्य काम वडा सहायकहरूले गरिरहेका छन् । सचिवको अभावमा सचिवको काम अन्यले गर्दा कागजात तथा बेहोरा नमिल्ने भएकाले सेवाग्राहीले सास्ती भोग्नु परेको छ । “सचिवको काम अन्य व्यक्तिले गर्नुपर्दा कहिले काँही कागजात तथा बेहोरा नमिल्ने हुँदा सेवाग्राहीले सास्ती भोगिरहेका छन्,” प्रमुख प्रशासकीय अधिकृत रावतले भने, “सचिवहरू नहुँदा नागरिकहरूले समयमै भरपर्दो सेवा पाउन सकिरहेका छैनन् ।” टाढा टाढाबाट दैनिक लामो दुरी पैदल हिँडेर वडा कार्यालयमा पुगे पनि सचिव नहुँदा सेवा पाउन गाह्रो भएको पुथाउत्तरगंगा गाउँपालिका–५ का रथजित घर्तीमगरले बताए । सचिव नहुँदा रित्तो काम नगरी फर्कनुपर्ने बाध्यता रहेको उनको भनाइ छ । रुकुमपूर्वका अन्य दुई स्थानीय तहको तुलनामा यो गाउँपालिका विकट छ । यहाँका अधिकांश वडामा अझै पनि यातायातको सेवा पुग्न सकेको छैन । टेलिफोन लगायतका अन्य अत्यावश्यक सेवाको पनि सुविधा छैन ।
चौरजहारी नगरपालिकाद्वारा ३० विधेयक पारित
पश्चिम रुकुम चौरजहारी नगरपालिकाको तेस्रो नगरसभा सम्पन्न भएको छ । तेस्रो नगरसभाले १३ वटा विधेयक पास गरेको छ । चौरजहारी नगरपालिकाले योसँगै वर्षमा ३० वटा विधेयक पास गरेको छ । तेस्रो नगर सभाबाट पास भएका विधेयकमा स्थानीय राजपत्रसम्बन्धी कार्यविधि २०७४, चौरजहारी नगरपालिकाको प्रशासकीय कार्यविधि २०७४, स्थानीय तहको उपभोक्ता समिति गठन, परिचालन र ब्यवस्थापन कार्यविधि २०७४र ‘घ’ वर्गको निर्माण व्यवसायी इजाजतपत्र कार्यविधि २०७४ रहेका छन ।
त्यस्तै करार कर्मचारीको सेवासुविधा मापदण्डसम्बन्धी कार्यविधि २०७४, एकीकृत सम्पति कर ब्यवस्थापन सम्बन्धी कार्यविधि २०७४, न्यायिक समितिले उजुरीको कारबाही किनारा गर्दा अपनाउनुपर्ने कार्यविधि सम्बन्धमा व्यवस्था गर्न बनेको कार्यविधि २०७४ छ । यसैगरी स्थानीय ऊर्जा विकाससम्बन्धी निर्देशिका २०७५, चौरजहारी नगरपालिकाले विभिन्न पदको स्थायी र दरबन्दी र करार सेवामा पदपूर्तिका लागि सञ्चालन गरिने परीक्षामा खटिने कर्मचारीको सेवासुविधा कार्यविधि २०७५, बालकोष सञ्चालन कार्यविधि २०७५, बाल क्लब र सञ्जाल गठन तथा सहजीकरण निर्देशिका कार्यविधि २०७५, बाल संरक्षण नीति कार्यविधि, २०७५ र बाल विवाह न्यूनीकरण रणनीति योजना २०७५ छन् । सबै विधेयक १५ दिनभित्र स्थानीय राजपत्रमा प्रकाशन भएपछि कार्यान्वयन हुने नगरप्रमुख विशाल शर्माले जानकारी दिए ।