सुनसान सदरमुकाम

सदरमुककामा पहिलाको जस्तो चहल पहल हुन छाडेको छ । सदरमुकाममा हुने अधिकांश काम गाउँपालिकाको केन्द्रमा नै हुन थालेपछि जिल्ला सदरमुकाममा चहलपहल कम हुन थालेको हो ।
एक नगरपालिका र सात गाउँपालिक रहेको पाँचथरमा स्थानीय सरकार बनेपछि ग्रामीण बजार मिक्लाजुङ गाउँपालिकाको केन्द्र रबि बजार, कुम्मायक गाउँपालिकको यासोक बजार, याङवरकको थर्पु बजार, फाल्गुनन्द गाउँपालिकाको घुर्बिसी पञ्चमी बजार, तुम्वेवा गाँउपालिकाको मैवा बजारमा चहलपहल बढेको स्थानीयवासीले बताएका छन । गाउँपालिकाको केन्द्रमात्र नभएर वडा कार्यालय रहेका स्थानीय ग्रामीण बजारमा पनि साविकभन्दा बढी स्थानीयको जम्काभेट हुने गरेको मिक्लाजुङ गाउँपालिका–२ का वडाध्यक्ष सन्तोष शेर्माले बताए ।
स्थानीय सरकार गाउँगाउँमा पुगेपछि सदरमुकाम फिदिमका ब्यापारी, होटल ब्यवसायी भने चिन्तित हुन थालेका छन् । गाउँपालिकाहरू सञ्चालनमा आएपछि सदरमुकाम फिदिममा व्यापारिक कारोबारमा ठूलो गिरावट आएको र यो क्रम निरन्तर रहेको उद्योग वाणिज्य संघ पाँचथरका अध्यक्ष मित्रप्रसाद काफ्लेले बताए । यस्तो क्रम जारी रहे सदरमुकामबाट ठूलो मात्रामा ब्यापारी विस्थापित हुने काफ्लेले बताए ।
सदरमुकाम फिदिममा रहेका साना व्यापारीहरू भने आफ्नो गाउँपालिकाको केन्द्रमा बसाइँ सरिसकेका छन् भने गाउँपालिकाको केन्द्रमा जाने कि प्रदेशको राजधानीतर्फ जाने भन्ने अन्योलमा पनि धेरै व्यवसायी छन् । प्रदेशको राजधानी कता बन्ने भन्ने निर्यण पर्खेर बस्ने व्यापारीको संङख्या पनि ठूलो छ । प्रदेशको राजधानीको टुंगो लाग्ने बित्तिकै ठूलो संख्यामा ब्यापारी सदरमुकाम फिदिम छाड्ने अनुमान यहाँका स्थानीय ब्यापारीले गरेका छन् ।
बसाइँसराइ रोक्नका लागि आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउनु पर्ने पाँचथरका अध्यक्ष मित्रप्रसाद काफ्लेले बताए । फिदिम आसपासमा रहेका धार्मिक तथा ऐतिहासिक स्थलहरूको प्रचार गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकेमात्र सदरमुकाम फिदिमको कारोबारमा सुधार ल्याउन सकिने काफ्लेले बताए ।