Logo

एकीकृत सहरी विकास योजना तयार गर्दै कमलामाई

सिन्धुलीको कमलामाई नगरपालिकाले बृहत् एकीकृत सहरी विकास योजना तयार गर्ने भएको छ । सिन्धुलीमाढीमा प्रारम्भिक प्रस्तुति तथा अभिमुखीकरण कार्यक्रमको आयोजना गर्दै कमलामाई नगरपालिकाले एकीकृत सहरी विकास योजना तयार गर्ने कार्य प्रारम्भ भएको जानकारी गराएको हो ।
कमलामाई नगरपालिकामा अव्यवस्थित सहरीकरण बढ्दो क्रम तथा असन्तुलित क्षेत्रीय विकास, दीर्घकालीन विकासको सोच तथा सो अनुरुप योजना तर्जुमाको कमी, सहरी विकाससँग सम्बद्ध निकायबीच समन्वय तथा सहकार्यको कमीजस्ता कुरालाई मध्यनजर गर्दै योजना बनाउन लागिएको कमलामाई नगरपालिकाले जनाएको छ ।
सहरी क्षेत्रमा भौतिक पूर्वाधारका साथै शिक्षा, स्वास्थ्य, बसोबास तथा रोजगार आदि मानवीय आवश्यकताको असमान, असन्तुलित वितरणलाई पनि मध्यनजर गरेर योजना तयार गरिने बताइएको छ ।
एकीकृत सहरी विकास योजना बनाउने परामर्शदाताको जिम्मा प्रतिस्पर्धाको आधारमा अभियान कन्सल्टिङ प्रालि, पिक प्वाइन्ट इन्जिनियरिङ कन्सल्टेन्सी प्रालि र डेभलपमेन्ट भिजन कन्सल्टेन्ट प्रालि जेभी बानेश्वर काठमाडौंले पाएको नगरपालिकाले जनाएको छ ।

नगरको प्रोफाइल तयार गर्दै
कमलामाई नगरपालिकाले आफ्नो प्रोफाइल तयार गर्ने भएको छ । नगरको विकास र समृद्धिका लागि प्रोफाइल तयार पार्न लागिएको नगरकार्यपालिकाले जनाएको छ ।
नगरपालिकाका १४ वटै वडाका घरधुरीमा गई तथ्यांक संकलन गरिने नगरपालिकाका मेयर खड्गबहादुर खत्रीले बताए । उनका अनुसार नगर प्रोफाइलमा नगरको प्राकृतिक स्रोत, भौतिक पूर्वाधार तथा आर्थिक, शैक्षिक अवस्थाको अध्ययन तथा तथ्यांक संकलन गरिने छ । साथै उत्पादन, वन वातावरणको अवस्था, मानव संसाधन, सामाजिक वस्तुस्थिति, जनसांख्यिक विवरण संकलन गरिने मयेर खत्रीले जानकारी दिए ।
त्यस्तै नगर प्रोफाइलमा खानेपानी सरसफाइ र स्वास्थ्यको अवस्था, खेलकुद पर्यटनलगायतका क्षेत्रको अवस्थासमेत अध्ययन तथा तथ्यांक संकलन गरिने उनले बताए ।
तथ्यांकका आधारमा कमलामाई नगरपालिकाले आफ्नो प्राथमिकता निर्धारण गर्ने मेयर खत्रीले बताए । तथ्यांक संकलनका लागि सुपरीवेक्षक तथा गणक खटाउन आवश्यक गृहकार्य भइरहेको समेत उनले जानकारी दिए ।
केही स्थानीय तहमा तथ्यांक र योजनाको अभावमा कुन क्षेत्रको विकासमा के नीति लिने भन्ने अन्योल भइरहेका बेला जिल्लाको एउटा स्थानीय तह कमलामाई नगरपालिकाले भने नगरको प्रोफाइल बनाउन लागेको हो ।
जिल्लाका ९ वटा स्थानीय तहमध्ये केही स्थानीय तहमा विषयगत क्षेत्रको तथ्यांक नहुँदा नीति निर्माण गर्न समस्या भइरहेको स्वंय जनप्रतिनिधिहरूले नै बताएका छन् । अहिले जिल्लाका स्थानीय तहहरू धमाधम ऐन तथा कार्यविधि बनाउन व्यस्त छन् ।
कृञ्जला पुलामी

प्रतिक्रिया दिनुहोस्