बन्ला त ‘स्मार्ट’ सिन्धुपाल्चोक ? «

बन्ला त ‘स्मार्ट’ सिन्धुपाल्चोक ?

जिल्लाको विकट मानिने हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले गाउँवासीलाई सहज सुविधा प्रदान गर्न घरमै बसेर बत्ती र खानेपानीको बिल भुक्तानी गर्ने व्यवस्था मिलाउने अभियानमा छन् । भौगोलिक विकटताका कारण जनताले सानो कामका लागि लामो समय खर्चिनुपर्ने भएपछि उनले यो अभियान सुरुआत गर्न लागेका हुन् ।
विभिन्न प्रविधिको प्रयोगमार्फत स्थानीयलाई घरमै सेवा दिन सकिने भएपछि शेर्पा उत्साहितसमेत छन् । वडा र गाउँपालिका हुँदै सिंगो सिन्धुपाल्चोकवासीलाई सूचना तथा प्रविधिको विकास गरी ‘स्मार्ट’ सिन्धुपाल्चोक बनाउन आफैंले सुरु गर्ने उनको भनाइ छ । “म आफूले आफ्नै पालिकामा सुरु गर्छु, सबै पालिकाले एकैसाथ सुरु गरे जिल्ला एकै चोटी स्मार्ट र समृद्ध बन्छ,” उनी भन्छन्, “बिजुलीका बिल, व्यक्तिगत घटना दर्तालगायतका काम अब तुरुन्तै गराउनेछु ।” उनले शिक्षा स्वास्थ्यलगायतका कामबाट सुरु गरी गाउँपालिकालाई नमुना बनाउँदै स्मार्ट सिटीको रूपमा घोषणा गर्न पहलकदमी गर्ने जनाए ।
हेलम्बु गाउँपालिका भूगोलका दृष्टिले विकट छ । सरकारी सेवा लिन यहाँका बासिन्दा दुई दिन पैदल हुँदै आउनुपर्छ । ‘‘जनताले दुःख पाइरहेका छन्, प्रविधिको विकास भएकाले जनप्रतिनिधिको सानो पहलले काम चुस्त र सेवाप्रवाहमा सहज हुनेछ,’’ उनी भन्छन्, ‘‘स्मार्ट सिटीको अवधारणा अहिलेको समयमा निकै आवश्यक रहेकाले कार्यान्वयनका लागि ढिलाइ गर्नु हुँदैन ।’’ उनले इन्टरनेटको पहुँच विस्तार गरी जनतालाई सेवा दिने बताए । गाउँपालिकाले पुनर्निर्माण हुँदै गरेका भौतिक संरचनामा समेत वातावरणमैत्रीको थालनी गरेको छ ।
शेर्पाले जस्तै जिल्लामा रहेका अन्य नगर र गाउँपालिकाले स्मार्ट सिटीको अवधारणालाई पछ्याइरहेका छन् । चौतारा साँगाचोकगढी नगरपालिकाले बजारमा क्षेत्रमा सिसीटिभि, डिजिटल सूचना बोर्डलगायतका काम गरिसकेको छ । नगरपालिकाभित्र रहेका विद्यालयमा ई हाजिरीको व्यवस्थासमेत सुरु गरिएको छ । नगरपालिकाका केही भेग ‘फ्रि वाईफाई जोन’ बनाइसकिएको छ । उपप्रमुख जानुका पराजुली सूचना प्रविधिलाई जनताको पहुँचमा पु¥याउन आफूले कुनै कसुर बाँकी नराख्ने बताउँछिन् । “सूचना प्रविधि विना विकासको कल्पना गर्न सकिँदैन, त्यसैले स्मार्ट सिटीको अवधारणा अवलम्बन गर्नु आवश्यक छ,” उनले भनिन्, “स्मार्ट सिटीका लागि हुनुपर्ने केही प्रक्रिया हामीले सुरु गरिसकेका छौं, अब पूर्णताका लागि थप काम सुरु गर्नेछौं ।” नगरपालिकाको हावापानी र भूगोलका आधारमा सम्भाव्यता अध्ययन गरी स्मार्ट सिटीको योजना निर्माण गर्ने उनले बताइन् । स्मार्ट सिटीको विकासपछि पारदर्शी प्रशासन, सार्वजनिक सेवा प्रवाह, निर्णय प्रक्रियामा जनसहभागिता, द्रुत गतिको यातायात सेवालगायत जनतालाई लाभ हुने प्रक्रिया रहेकाले विभिन्न चरण गर्दै स्मार्ट सिटी निर्माण गरिने नगरपालिकाले जनाएको छ ।
स्मार्ट सिटीका लागि इन्टरनेट अत्यावश्यक हुुने हुँदा पहिले नेटवर्क विस्तारका लागि पालिकाहरूले नै पहल गर्न लागेको छ । जुगल गाउँपालिकाका अधिकांश वडामा यसअघि मोबाइल नेटवर्क थिएन । पालिकाकी उपाध्यक्ष सिर्जना तामाङकोे अगुवाइमा नेपाल टेलिकमको सहयोगद्वारा अहिले सबै गाउँवासी टेलिफोनको पहुँचमा छन् । ‘‘स्मार्ट सिटीका लागि यो पहिलो पहल हो,’’ उपाध्यक्ष तामाङले भनिन्, ‘‘सबैभन्दा पहिले इन्टरनेट आवश्यक भएकाले मोबाइल र टेलिफोनको लाइन विस्तारलाई महत्व दिएका हौं ।’’ उनले प्रविधिमय गाउँपालिका निर्माणका लागि शिक्षा, स्वास्थ्य क्षेत्रमा विशेष निगरानी राखी कार्यसम्पादन गर्न थालिएको बताइन् ।
स्मार्ट सिटीका निर्माणका लागि भूगोल चुनौती छ । भौतिक संरचना, दीर्घकालीन निर्माण, सञ्चार र इन्टरनेट पहुँच, अति व्यवस्थित बजारीकरण आवश्यक भएकाले थप चुनौती छ । गाउँपालिका महासंघका महासचिव तथा इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङ प्रविधिलाई प्रयोजनमा ल्याउनु जरुरी रहेको बताउँछन् । ‘‘सूचना र प्रविधिले निकै फड्को मारेको छ, अब टेलिमिटिङ र भिडियो मिटिङकोसमेत व्यवस्था गर्नुपर्ने समय आइसक्यो,’’ उनी भन्छन्, “प्रविधिलाई पछ्याउँदै विकास गर्नु जरुरी छ ।” उनले नागरिकलाई सहज सुविधा प्रदान गर्न र विकासलाई गति दिलाउन स्मार्ट सिटीको रुपमा दर्ज गर्नु जरुरी रहेको बताए । ‘‘निकै चरण पार गर्नुपर्ने भएकाले यो अहिल्यै सम्भव छैन,’’ तामाङ भन्छन्, ‘‘गुरुयोजना बनाएर आगामी १० वर्षभित्र सबै पालिकाले आफ्नो ठाउँलाई स्मार्ट सिटी घोषणा गर्नतिर लाग्नु जरुरी छ ।’’ उनले प्रविधिका विज्ञहरूसँगको सल्लाह र सहकार्यमा नमुना काम सुरुआत गर्दै छिट्टै स्मार्ट सिटी निर्माणको चरणमा लाग्ने बताए ।
चुनावका बेला नेताहरुले जनतालाई सम्बोधन गर्ने क्रममा बोलेका स्मार्ट सिटी निर्माण गर्ने प्रतिबद्धता गरेका थिए । स्मार्ट सिटीबारे जानकारी नभएकाहरुले पनि भाषणमा यो शब्दलाई प्राथमिकताका साथ राखे । स्थानीय तह निर्वाचन भएको वर्षदिन बितिसक्दासमेत स्मार्ट सिटी निर्माणबारे जनप्रतिनिधिले चासो राखेनन् । जनतालाई बाँडेका सपनालाई बेवास्ता गरेकै कारण कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान महासंघ) सिन्धुपाल्चोकले स्मार्ट सिटीको अवधारणा ल्याएपछि नगर तथा गाउँपालिकाका प्रमुखहरूले गुरुयोजना निर्मााण गर्ने प्रतिबद्धता जनाएका छन् । क्यान महासंघ सिन्धुपाल्चोकले सूचना तथा प्रविधि विज्ञसहितको टोलीले जनप्रतिनिधिका लागि स्मार्ट सिटीको अवधारणा र कार्यान्वयनका चुनौती विषयक कार्यशालाको आयोजना गरेपछि यो विषय अहिले चर्चामा छ ।
क्यान महासंघ सिन्धुपाल्चोक अध्यक्ष निर्जन श्रेष्ठले समृद्ध प्रदेश निर्माणका लागि स्मार्ट सिटी आवश्यक भएकाले जनप्रतिनिधिलाई चुनावताका गरेका प्रतिबद्धतालाई कार्यान्वयनमा ल्याउन झक्झकाएको बताए । स्मार्ट सिटीसहितको समृद्ध जिल्ला निर्माणका लागि यो अभियान वडा हुँदै गाउँ र नगरपालिका तहसम्म पुगेको बताए । “स्मार्ट सिटीबारे जनप्रतिनिधिलाईसमेत सम्पूर्ण जानकारी नभएको हुनसक्ने भएकाले सहजताका लागि हामीले पहल गरेका हौं,” श्रेष्ठले भने, ‘‘पालिकाहरूलाई स्मार्ट सिटी निर्माणका लागि हामीले प्राविधिक सहयोग गर्नेछौं ।’’
स्मार्ट सिटी निर्माणका लागि आवश्यक सूचांकबारे क्यान महासंघले जानकारी दिनेछ । क्यान महासंघ प्रदेश नं. ३ का अध्यक्ष प्रभात श्रेष्ठले सफ्टवेयरको माध्यमबाट सम्पूर्ण काम हुने भएकाले स्मार्ट सिटीमा पारदर्शिता हुने बताए । ‘‘सबै सरकारी काम इन्टरनेटको माध्यमबाट जनताले घरमै बसेर गर्नसक्नेछन्,’’ उनी भन्छन्, ‘‘कार्यालयमा पुग्नैपर्ने काम पनि जानेबित्तिकै हुन्छ ।’’ उनले स्मार्ट सिटी भन्नु नै उच्च प्रविधियुक्त अति व्यवस्थित सहर भएकाले संरचना निर्माणका लागि केही समय लाग्ने बताए ।
नेपालमा स्मार्ट सिटीको अवधारणा स्व. सुशील कोइरालाको नेतृत्वको सरकारले भित्र्याएको थियो । आर्थिक वर्ष ०७२/७३ को बजेटमार्फत स्मार्ट सिटीको अवधारणा ल्याइएको हो । त्यतिबेला सरकारले काठमाडौं, लुम्बिनी र निजगढलाई स्मार्ट सिटीको रूपमा विकास गर्ने घोषणासमेत गरेको थियो । पछि केपी ओलीको सरकारले मुलुकका १० स्थानलाई स्मार्ट सिटी बनाउने घोषणा गरेको छ ।
-किशोर बुढाथोकी

प्रतिक्रिया दिनुहोस्