पर्यटन मन्त्रीले गरे जिरी विमानस्थल निरीक्षण

पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले दोलखाको पर्यटकीय नगरी जिरीमा रहेको विमानस्थलको अनौपचारिक निरीक्षण गरेका छन् । दोलखाको खरिढुंगामा रहेको एक एनजीओले बनाएको विद्यालय भवन उद्घाटन गर्न दोलखा आएको मन्त्री अधिकारी हेलिकोप्टरबाट जिरीसम्म पुगेका हुन् ।
जिरी एयरपोटको रन वे मैदान नजिकै भएको छोटो अन्तरक्रिया कार्यक्रमकाबीच मन्त्री अधिकारीले जिरी एयरर्पोट पुनः सञ्चालनका लागि आवश्यक पहल गर्न आफु तयार रहेको स्थानीयलाई आश्वासन दिए । जिरी वास्तवमा नै निकै सुन्दर र उत्कृष्ट पर्यटकीय गन्तव्य रहेको बताउँदै जिरी नगएमा नेपालको घुमफिर अधुरो रहने टिप्पणी गरेको युवा सञ्जाल जिरी अध्यक्ष केन्द्रज्योति खड्काले जानकारी दिए ।
विगतमा हवाई विभागको स्वामित्वमा रहेको जिरी एयरपोट नापीको बेला
कृषि मन्त्रालयअन्तर्गत जानु ठूलो भुल भएको बताउँदै अब फेरि पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत नै ल्याई आन्तरिक हवाई सेवा सञ्चालनका लागि आफूले कुनै कसर बाँकी नराख्ने स्पष्ट पारे । विशेष गरी काठमाडौंको हवाई ट्राफिक व्यवस्थालाई सहज बनाउन तथा सगरमाथा, रोल्वालिङलगायत पूर्वी क्षेत्रको पर्वतीय उडानका लागि जिरी एयरर्पोट उपर्युक्त रहेको बताए । उनले रामेछापको मन्थलीमा हाल सञ्चालनमा रहेको एयरर्पोटको समेत चर्चा गर्दै उक्त स्थानमा एयरर्पोट संचालन हुनु आवतजावतका लागि ठीक भए तापनि पर्यटकीय दृष्टिकोणले जिरीमा समेत हवाई सेवा सञ्चालन अपरिहार्य रहेको बताए ।
कार्यक्रमा जिरी नगरपालिकाका प्रमुख टंकबहादुर जिरेलले जिरी एयरपोट पुनः सञ्चालनका लागि विगतमा भएको प्रयासबारे जानकारी गराएका थिए । । २०५२ साल अगाडिसम्म हवाई विभागको स्वामित्वमा रहेको जिरी एयरपोट तात्कालीन नापी टोली प्रमुख र पशु विकास हाकिमको गोप्य मिलेमतोमा हवाई विभागको जमिनसमेत कृषि ब्लकअन्तर्गत नापी गरिएकाले हाल एयरर्पोट सञ्चालनमा समस्या परिरहेको बताए । २०४४ सालमा जिरी लामोसाँघु सडक निर्माणपछि बन्द भएको हवाई सेवा २०५३ सालमा तात्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालको पालमा नै ४०० मिटर रनवेलाई उत्तरतर्फ बढाइ ६०० मिटर कायम गरी ३० सेमि ग्राभेलिङसमेत गरी पुनः संचालनका लागि विस्तृत आयोजना प्रतिवेदन तयार गरी प्रक्रिया अगाडि बढाइएको भए पनि उक्त फाइल मन्त्रलायबाट हराएको मेयर जिरेलले बताए ।
–दिलबहादुर केसी