Logo

पैंचो तिर्नुपर्छ पानी !

कालिकोट-कालिकोटाको पलाता गाउँपालिका–२ मिजुवाडा र बन्जडामा गाउँमा खानेपानीको अभाव धेरै पुरानो हो । पञ्चायतकालदेखि नै स्थानीयले यो समस्या भोग्दै आएका छन् । हरेक निर्वाचनमा भोट माग्न आउनेले खानेपानीको समस्या समाधान गरिदिने बचन नदिएका पनि होइनन् । तर, पञ्चायतपछि मुलुक बहुदलीय प्रजातन्त्र, लोकतन्त्र र गणतान्त्रिक व्यवस्थातर्फ श्रृङ्खलाबद्ध रूपमा प्रवेश गरे पनि स्थानीयको खानेपानी समस्या कहिल्यै समाधान भएन ।
मिजुवाडा र बन्जडा गाउँका करिब ४ सय घरधुरीमा खानेपानीको चरम अभाव छ । सँधै खडेरी हुने पलाता गाउँपालिकाका स्थानीय सरकारले कहिल्यै आफूहरूको समस्या समाधान नगरेको भन्दै स्तब्ध छन् । अन्यत्र बसाइ सर्ने अवस्था पनि नभएका स्थानीयको पानी अभावसम्बन्धी अनुभवले मुलुकका अन्य दुःखलाई समेत बिर्साइदिन्छ ।

एक ग्रागी पानी लिन २ घन्टा
मिजुवाडा र बन्जडा गाउँमा एक गाग्रो पानी लिनको लागि २ घण्टा हिँड्नुपर्ने र लामो समयसम्म पालो कुर्नुपर्ने बाध्यता र पानीको चरम अभाव देखिएको बमबहादुर बमले बताए । “गाउँमा खानेपानीको चरम अभावछ, एक ग्रागी पानी भर्नका लागी २ घण्टा हिड्नु पर्ने र लामो समय पालो कुनुपर्ने बाध्यता छ,” उनी भन्छन् ।
निकै उजाड गाउँ र डाडाकाडामा भएको हुदाँ र माथी लेकमा हिउ नपर्दा पर्याप्त मात्रामा नपर्दा पनि पानीको समस्या सधै हुने गरेको पलाता गाउँपालिका वडा २ कावडा अध्यक्ष वीर कामीले बताए ।

पैंचो तिर्नुपर्छ पानी
खानेपानीको समस्या भएका कारणले यहाँका स्थानीयवासीले घरमा कोही पाहुना आउँदा पनि आफ्नो घरमा खानेपानी नभएको बेला पैंचो लैजानुपर्ने बाध्यता छ । घरमा कोही पाहुना आएमा आफ्नो घरमा पानी नभएको बेला पैंचो माग्नुपर्ने बाध्यता रहेको स्थानीय जनपुरा न्यौपानेले बताइन् । “घरमा कोही पाहुना आए आफ्नो घरमा खानेपानी नभएको बेला पैंचो माग्नु पर्छ,” उनले भनिन्, “खानेपानीको विगतदेखि नै हामी कहाँ समस्या हुने गरेको छ । यो समस्या सबैले देखेका छन् । तर, कसैले सुनवाई गरेको छैन् ।”

पञ्चायतदेखि एउटै मागः खानेपानी चाहियो
जिल्लाको पलाता गाउँपालिका–२ मिजुवाडा, खाडा र बन्जडा गाउँका स्थानीयवासीहरूले चुनावमा भोट माग्न आउने उम्मेदवारहरूसँग पञ्चायतकालदेखि नै खानेपानीको माग गर्दै आएका छन् । गाउँमा खानेपानीको निकै ठुलो समस्या भएका कारणले बिगतदेखि नै खानेपानीको माग गर्दै आएका हुन् ।
गाउँमा खडेरीको समस्या निकै हुने र गाउँमा खानेपानीका गतिलो मुहान र योजना नहुदाँ खानेपानीको समस्या भएको छ ।
पञ्चायतकालदेखि नै गाउँमा मत माग्न आउने नेताहरूसँग खानेपानीको माग गर्ने गरेका जितेर जाने कसैले पनि आफ्नो मागको सुनवाई नगरेको स्थानीय राधा नेपालीले बताइन् ।

खानेपानीको योजना छ, तर अहिलेसम्म काम भएन
स्थानीयको मागअनुसार खानेपानीको योजना भएपनि अहिलेसम्म खानेपानी योजनाको काम अगाडि बढ्न सकेको छैन् । खानेपानी योजना काम अगाडि नबढ्दा गाउँमा खानेपानी निकै समस्या हुने गरेको हो ।
गाँउमा निर्माणाधिन अवस्थामा रहेको बुड्ने खानेपानी योजना दशकौं बित्दासमेत नबनेपछि हाहाकार भएको स्थानीयको भनाइ छ ।धौलागोह गाविसमा संचालित बुड्ने खानेपानी आयोजना निर्माण नहुँदा निकै सास्ती पाएको स्थानीय रुगुविना प्याकुरेलले बताइन् । “दैनिक एक बाल्टिनभन्दा बढी पानी भर्न नपाइने गाँउमा नियम लगाउँदा बच्चा बच्चीले मुख नधोएर विद्यालय जानु परेको छ,” उनी भन्छिन् ।
खानेपानीका लागि रातभर धारामा वास बस्नु पर्ने अवस्था रहेको स्थानीय कलशा प्याकुरेलले बताइन् । “दिनमा पानी भर्न पालो नआएका अधिकांश स्थानीय नागरिकहरू राती बास बसेर पानी भर्ने गरेका छन्,” उनी भन्छिन् ।
९ वर्षदेखि निर्माणाधीन बुड्ने खानेपानी योजनामा बर्सेनि बजेट आउने गरे पनि गाउँमा काम नभएका कारणले फ्रिज जाने गरेको जिल्ला खानेपानी सबडिभिजन कार्यालय कालिकोटका सूचना अधिकारी देवानन्द धिताल बताउँछन् । अहिले पलाता गाउँपालिकाकाले खानेपानी आयोजानका लागि लागि १ करोड ५ लाख बजेट विनियोजन गरिएको निर्माण काम चाडै थालनी गरिने बताए ।
अन्य ठाउँमा पनिसमस्या
जिल्लाको पचालभरना गाउँपालिका–८ तोलीभीर ठूलाचौरमा खानेपानीको अभाव भएको छ । गाउँमा लामो समयदेखि खानेपानी व्यवस्था नभएका कारणले खानेपानी भएको हो । कालिकोटमा ८० प्रतिशत खानेपानीको पुहँच पुगेको जिल्ला खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समितिले तथ्यांकमा देखाएको छ ।

रमेश रावल

प्रतिक्रिया दिनुहोस्