आन्तरिक विमानस्थलका लागि काभ्रेमा संभाव्यता अध्ययन

त्रिभुवन विमानस्थलमा बढ्दै गएको उडानको चापलाई मध्यनजर गर्दै वैकल्पिक व्यवस्थास्वरूप काभ्रेमा विमानस्थल बनाउनका लागि संभाव्यता अध्ययन र अवलोकन गरिएको छ ।
त्रिभुवन विमानस्थलमा विमानहरू धेरैबेर होल्डमा बस्नुपर्ने भएकाले वैकल्पिक विमानस्थलका रूपमा उपत्यकाको नजिकै रहेको काभ्रेका बनेपा नगरपालिका–११ मा रहेको नागीडाँडा, धुलिखेल ७ र ९ को सिमानामा पर्ने ठूलीचौर र धुलिखेल ११ र १२ को सिमानामा पर्ने चिसापानी ठूलीचौरमा अवलोकन भएको हो ।
मंगलबार नागरिक संस्कृति, नागरिक उड्डयन तथा पर्यटनमन्त्री रवीन्द्र अधिकारी, सञ्चार तथा सूचना (क्याबिनेट) राज्यमन्त्री गोकुल बाँस्कोटा, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमलगायत स्थानीय जनप्रतिनिधि सहितको टोलीले आन्तरिक विमानस्थल बन्न सक्ने काभ्रेका सम्भावित ठाउँहरूको अवलोकन गरेको थियो ।
मन्त्री अधिकारीले काठमाडौंको हवाई चाप कम गर्नलाई काठमाडौं नजिकै अर्को विमानस्थल खाँचो भएकाले आन्तरिक विमानस्थल बनाउन काभ्रेमा स्थलगत अनुगमन गर्न आएको बताए । मन्त्री अधिकारीले १५ दिनमा विमानस्थल बनाउने बारेमा विज्ञ टोलीले दिएको सुझावअनुसार कहाँ बन्ने भन्न सकिने बताए । उनले आगामी वर्षको बजेट भाषणमा नै उल्लेख गर्ने गरी काम अगाडि बढाउनेसमेत बताए । “स्थानीयको भावना, आवश्यकता, आर्थिक रूपमा खर्चको अवस्था र रुट हेर्छौ,” अधिकारीले भने, “अनि मात्र यस ठाउँमा बन्छ भन्ने निर्णयमा पुग्छांै । काभ्रेका सम्भावित तीन ठाउँमध्ये कुनै एक उपयुक्त ठाउँलाई विज्ञ समूहले १५ दिनभित्र मन्त्रालयसमक्ष प्रतिवेदन बुझाउनेछ र त्यसपछि निर्णय गर्छौं ।”
त्यस्तै अवलोकन टोलीमा रहेका सूचना तथा सञ्चार प्रविधि राज्यमन्त्री बास्कोटाले विकास निर्माणका कुरामा सबैले सरकारलाई सहयोग गर्नुपर्ने बताए । काभ्रेमा विमानस्थलको कुरा उठाएको १६ वर्ष भएको बताउँदै काठमाडौंको विकल्पको सहरका रूपमा काभ्रे भ्याली बनाउन एउटा विमानस्थलको पनि आवश्यक पर्ने बताए ।
आन्तरिक विमानस्थलका लागि २५ देखि ३० वटा जहाज पार्किङ गरेर राख्न मिल्ने ठाउँ आवश्यक पर्नेछ । प्राधिकरणले बनेपाको नागीडाँडा र धुलिखेलको ठूलीचौरमा प्रारम्भिक अध्ययनसमेत गरिसकेको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले जानकारी दिए । उनले यही अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले धान्न नसक्ने भएको कारणले विकल्प खोज्नु परेको बताए । आन्तरिक विमान राख्ने मात्र भए पनि त्रिभुवन विमानस्थलबाट काभ्रे सार्न सके ३० प्रतिशत ‘ट्राफिक’ कम हुने गौतमको भनाइ छ ।
बनेपाको नागिडाँडामा ३४ हेक्टर जमिनमा १२ सय मिटरको रनवे निकाल्न सकिने प्राविधिक स्टमेड छ । ५ महिना अघि दोहो¥याएर गरिएको सर्भेले नागरिक उड्डयन प्राधिकरणलाई आबश्यक पर्ने १२ सय मिटरको लम्बाइ र १ देखि ३ सय मिटरसम्मको चौडाइ भएको रनवे बन्ने नागरिक उड्डयन प्राधिकरणका निर्देशक एवं अध्ययन कर्ता ध्रुव भोछिभोयाले जानकारी दिए । भोछिभोयाका अनुसार प्राधिकरणको नियमअनुसार रनवे, १८ सय मिटरको उचाइ, मौसमको हिसाबले पनि राम्रो (हुस्सु नलाग्ने), ४ ठाउँबाट बाटो, बनेपा र धुलिखेलको सडक ट्राफिक भोग्नु नपर्ने भएका कारण अन्य स्थानभन्दा नागिडाँडा उपयुक्त हुन सक्ने बताए ।
उनले तिन ठाउँकै अध्ययन गरेर निर्णय लिनेसमेत बताए । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य एवं विमानस्थल बनाउन लागि पर्ने सुरकृष्ण वैद्यले काभ्रेमा बन्ने आन्तरिक विमानस्थल काभ्रेको नागिडाँडामा उपयुक्त हुने बताए । उनले विगत ५ वर्षदेखि त्यस ठाउँमा विमानस्थल बनाउनका लागि आन्तरिक तयारी गरेको बताए । नागीडाँडामा २० प्रतिशत मात्रै निजी जग्गा अधिग्रहण गरे पुग्नेछ ।
अवलोकन गरिएको अर्को धुलिखेलको ठूलीचौरमा ११ सय ५० मिटरको लम्बाइ र १ सय ५० देखि २ सय मिटर चौडाइ भएको रनवे बन्ने निर्देशक भोछिभोयाले जानकारी दिए । यस ठाउँमा ६० प्रतिशत जग्गा व्यक्तिको पर्नेछ । ठूलीचौरका नागरिकहरूले आफूहरूको धेरै जग्गा अधिग्रहण हुने भएकाले अन्त कतै विमानस्थल बनाउन अवलोकन टोलीलाई सुझाव दिएका थिए ।
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक गौतमका अनुसार ठूलीचौरमा विमानस्थल निर्माण गर्ने हो भने ६० प्रतिशत बराबरको जग्गा अधिग्रहण गर्नुपर्छ । होटल व्यवसायी अरुण श्रेष्ठले धुलिखेलमा एयरपोर्ट बन्न नहुने बताए । काठमाडौं विश्वविद्यालय, धुलिखेल अस्पताललगायतले समेत ठूलीचौरमा विमानस्थल बन्न नहुने बताएका छन् ।
त्यस्तै धुलिखेल ११ र १२ को सिमानामा पर्ने हालै मात्र चर्चामा आएको चिसापानी ठूलीचौर काठमाडौंबाट दूरीका हिसाबले नागीडाँडा र ठूलीचौर विमानस्थलभन्दा टाढा हुने विज्ञहरू बताउँछन् । ठूलीचौर र चिसापानीमा धेरै सर्वसाधारणको जग्गा पर्ने भएको र नागीडाँडामा सार्वजनिक जग्गा बढी भएकाले पनि नागीडाँडामा आन्तरिक विमानस्थल बन्ने सम्भावना बढी छ ।
यी दुवै स्थानमा १२ सय मिटरको विमानस्थल निर्माण गर्नका लागि कुल ५ अर्ब बराबरको खर्च लाग्ने महानिर्देशक गौतम बताउँछन् । ८ सय मिटरको विमानस्थल निर्माण गर्ने हो भने चाहिँ साढे ३ अर्ब मात्रै लाग्नेछ । यसअघि भएको प्रारम्भिक संभाव्यता अध्ययनको रिपोर्टमा उल्लेख भएअनुसार नागीडाँडामा बिमानस्थल निर्माणका लागि २० देखि ३० मिटरसम्म जमीन कटान गर्नुपर्छ । र, ठूलीचौरमा बिमानस्थल निर्माण गर्न ४५ मिटरसम्म जमिन कटान गर्नुपर्छ ।
चर्चा धेरै काम शून्य
काभ्रेमा यस पटक मात्र हैन धेरै पटक विमानस्थलको चर्चा चलेको थियाो । २०६५ सालमा माओवादीबाट हिसिला यमी पर्यटन मन्त्री हुँदा पाँचखाल र भकुन्डेबेसीमा विमानस्थल निर्माण गर्ने चर्चा चल्यो । तर, स्थानीयको विरोधका कारण सर्भे समेत हुन सकेन । माओवादीबाटै लोकेन्द्र विष्ट पर्यटनमन्त्री भए उनको पालामा पनि बनेपाको नागिडाँडा र धुलिखेलको ठूलीचौरको चर्चा चल्यो र नागीडाँडा र ठूलीचौरमा सम्भाव्यता अध्ययन पनि भयो ।
अध्ययन भएको पनि ६ वर्ष बित्न लाग्यो । तर, दुवै स्थानमा भौतिक प्रगति भने शून्य छ । जब सरकार परिवर्तन हुन्छ पर्यटनमन्त्री परिवर्तन हुन्छ तब विमानस्थलको चर्चा आउने गर्छ । पर्यटनमन्त्री पुरानो हुँदै जान्छन् अनि चर्चा हराउँछ । प्रत्येक जसो पर्यटनमन्त्री नियुक्त भएपछि त्रिभुवन विमानस्थलको ट्राफिक चाप हटाउन काभ्रेमा विमानस्थल निर्माणको चर्चा गरिन्छ । तर, मन्त्रीको कार्यकाल सकिँदासम्म कार्यप्रगति भने शून्य नै हुन्छ ।
अहिलेसम्म काभ्रेको कुन ठाउँमा विमानस्थल निर्माण गर्ने भनेर टुंगोसमेत लगाउन सकिएको छैन । अर्को चर्चा चलेको चिसापानीमा पनि एमालेका आनन्द पोखरेल पर्यटन मन्त्री हुँदा ५० लाख रकम छुटियो । त्यो रकमले के भयो थाहा छैन । यस पटक पर्यटनमन्त्री बनेका रवीन्द्र अधिकारीले पक्कै विमानस्थल बनाउने काभ्रेलीले अपेक्षा गरेका छन् ।
काभ्रेमा विमानस्थल निर्माणको चर्चा १६ वर्षदेखि चलेको भए पनि आजसम्म टुङ्गो लाग्न नसकेको अवलोकनको क्रममा सहभागी भएका सूचना तथा सञ्चार राज्यमन्त्री बाँस्कोटाले दुखेसो पोखे । ठूला विमानका लागि १५ सय मिटरससम्मको रनवे आवश्यक पर्छ । अहिले सौर्य र श्री एयरलाइन्ससँग बम्बार्डियर, नेपाल एयरलाइन्ससँग एमए ६०, बुद्ध एयरसँग बिचक्राफ्ट र एटीआर तथा यती एयरलाइन्ससँग जेटस्ट्रिम र एटीआर जस्ता ठूला जहाज छन् । यी विमानले साना विमानस्थलमा उडान र अवतरण गर्न सक्दैनन् । अहिले त्रिभुवन विमानस्थलबाट आन्तरिक गन्तव्यमा हुने ३० प्रतिशत उडान पहाडी विमानस्थलका लागि हुन्छन् । त्यसबाहेकको ६५ प्रतिशत उडान ट्रंक रुटमा हुन्छ ।