तथ्यांकमा नदेखिएको समृद्धि «

तथ्यांकमा नदेखिएको समृद्धि

नेपाली राजनीतिमा पछिल्लो पटक अत्यधिक प्रयोग भएको शब्द हो समृद्धि । यो शब्दलाई सबैभन्दा बढी अहिलेको सरकारले प्रयोगमा ल्याएको छ । त्यसमा पनि दोस्रो पटक प्रधानमन्त्रीको कुर्सीमा आसिन केपी शर्मा ओलीले यसलाई हरेक भाषण, भेटघाट तथा कुराकानीमा प्रयोग गर्छन्, मानौं ओली आज समृद्धिका पर्यायवाची शब्द भएका छन् । समृद्धि केलाई भन्ने ? समृद्धिको मापन के हो ? यसको आयतन कस्तो हुन्छ ? के सुशासन र समृद्धि एक–अर्काका परिपूरक हुन् ? किन आज समृद्धिको तस्बिर तथ्यांकमा भेट्न सकिँदैन । समृद्धिको वीणाको धुन हाम्रा प्रधानमन्त्री केपी शर्मा ओलीले कहिलेसम्म बजाउने हुन् ? यी सबै प्रश्नको जवाफ उखान–टुक्का शैलीमा होइन, तथ्यांकमा दिन आवश्यक छ । तर, यो पङ्क्तिकारले खोजेको जवाफ आउला भन्ने कुरामा कमै आशा राखेको छ ।
पञ्चायती व्यवस्थाले भूमिसुधार, शोषणरहित समाजको स्थापना, राष्ट्रिय एकता, धार्मिक सहिष्णुताभित्रको हिन्दू अधिराज्यको कुरा गरेर ३० वर्ष शासन ग¥यो । नेपाली कांग्रेस र एमालेले प्रजातन्त्र, विकास, निजीकरण र आर्थिक उदारीकरणको कुरा गरेर आलोपालो गर्दै २०४६ देखि २०६३ सम्म शासन ग¥यो । संघीयता, गणतन्त्र, लोकतन्त्र, धर्मनिरपेक्षताको कुरा गरेर बाबुराम–प्रचण्डले पटक–पटक सत्ताको बागडोर सम्हाले । प्रचण्ड त अझ पनि सत्ताको केन्द« बिन्दुमै छन् । मुलुक अहिले माओवादी केन्द« र एमालेको वाम गठबन्धनको गठजोडले चलाइराखेको छ । यसको नेतृत्व समृद्धिको वीणा बजाई मीठो धुन निकाली जनतालाई मन्त्रमुग्ध गराउन सफल केपी शर्मा ओलीले गरेका छन् ।
मुलुकले भर्खरै तीनवटा निकायको निर्वाचन सम्पन्न भई सरकार चलाउने नयाँ नेतृत्व पाएको छ । झन्डै दुईतिहाइ नजिकको जनमतबाट वामपन्थीले सरकार चलाउने अवसर पाएको छ । मुलुकले अहिलेसम्म ६ वटा कम्युनिस्ट प्रधानमन्त्री पायो । झन्डै ८ वटा कार्यकाल कम्युनिस्ट नेतृत्वले पूरा गर्ने मौका पाएको छ । अहिले एउटा प्रदेशबाहेक सबै प्रदेशमा मुख्यमन्त्री, मन्त्रीहरू वामपन्थीहरूकै छ । त्यतिमात्र होइन; राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, प्रायः सबै संवैधानिक निकाय तथा अन्य महŒवपूर्ण पदहरूमा कम्युनिस्ट नै छन् । तैपनि आमनेपालीको समस्या घट्नुको साटो झन् बढ्दै गएको छ । मुलुक झन्–झन् गरिब हुँदै गएको छ । हाम्रा अर्थतन्त्रका परिसूचकहरू नकारात्मक हुँदै गएका छन् । हाम्रो व्यापारघाटा झन्–झन् बढ्दै गएको छ । परनिर्भरता झन् बढेको छ भने जीडीपीमा औद्योगिक तथा कृषिक्षेत्रको योगदान क्रमशः घट्दै गएको छ । मुलुकको पुँजीगत खर्च गर्ने क्षमता दिनप्रतिदिन कमजोर हुँदै गएको छ । त्यतिमात्र होइन, भ्रष्टाचारको पारो बढ्दै गएको छ । सरकारले छाया अर्थतन्त्रलाई रोक्न सकेको छैन । अर्थतन्त्रको सबैभन्दा धेरै हिस्सा रेमिट्यान्सले ओगट्ने देशको सूचीमा नेपाल पहिलो स्थानमा दरिएको छ । तथ्यांकका तस्बिरहरू, आँकडाहरू बोल्छन्, अब समृद्धिको गीत गाएर मात्र कहिलेसम्म जनतालाई झुक्याई सत्तामा बस्ने हो ? अब जनताले नेतृत्वलाई प्रश्न गर्ने बेला आएको छ । के यसको चित्तबुझ्दो जवाफ हाम्रा शासकहरूसँग छ ?
समृद्धिको मापन अर्थतन्त्रका परिसूचकहरू हुन । हाम्रो अर्थतन्त्रको महŒवपूर्ण दुर्भाग्य बढ्दो व्यापारघाटा हो । हाम्रो अर्थतन्त्र व्यापारघाटाले थलिएको छ । आयातको वृद्धिदर उच्च हुनु र निर्यातको वृद्धिदर न्यून हुनु नै व्यापारघाटाको अवस्था हो । हाम्रा अर्थमन्त्रीले श्वेतपत्रमार्फत जारी गरेको तथ्यांकलाई आधार मान्ने हो भने विगत २५ वर्षमा व्यापारघाटा ४२ गुणाले वढेको देखाइएको छ । चालू आर्थिक वर्षको ७ महिनामा ६ खर्ब १४ अर्ब व्यापारघाटा देखिएको छ । यो त सरकारी आँकडा हो तर योभन्दा अझ बढी प्रतिशत व्यापारघाटा भएको छ भनेर विश्लेषकहरू बताउँछन् । व्यापारघाटा भारतसँग मात्र ६६ प्रतिशत छ । के व्यापारघाटा कम नगरिकन समृद्धि सम्भव छ ? यो पङ्क्तिकार हाम्रा शासकहरूलाई प्रश्न गर्न चाहन्छ । सायद यो प्रश्न आम नेपालीहरूको पनि हुन सक्छ ।
नेपालको अर्थतन्त्रको झन्डै एकतिहाइ आधार रेमिट्यान्स देखिएको छ । यसले मुलुकको परिनिर्भरता बढाएको संकेत गरेको छ । विश्व बैंकले सन् २०१६ को तथ्याङ्क विश्लेषण गर्दै विदेश जानेले पठाएको रकमबाट अर्थतन्त्र चलाउने देशको सूचीमा नेपाल विश्वमा शीर्ष स्थानमा परेको जनाएको छ । नेपालले किर्गिस्तान र हाइटीलाई पनि जितेको छ । मुलुकको आर्थिक गतिविधिका कारणले आज जनसङ्ख्याको १४ प्रतिशत हिस्सा नेपाली युवा वैदेशिक रोजगारीको खोजीमा विदेश पलायन भएका छन् । श्रम तथा रोजगार मन्त्रालयको तथ्याङ्कअनुसार सन् १९९३÷९४ देखि सन् २०१४÷०१५ को अवधिमा ३८ लाख युवाले विदेशमा कामको गर्न लागि स्वीकृत लिएका छन् । अवैधानिक बाटो तथा भारतमा गई काम गर्ने युवाहरूको संख्या जोड्ने हो भने त झन्डै पौने करोड आसपास नपुग्ला भन्न सकिन्न । के युवाशक्तिबिना मुलुकको समृद्धि सम्भव छ ?
जीडीपीमा कृषिक्षेत्र र औद्योगिक क्षेत्रको योगदान क्रमशः ओरालोलाग्दो छ । राज्यले हाम्रो मुलुकलाई अझ पनि कृषिप्रधान देश भनिरहेको छ । जबकि जीडीपीमा कृषि क्षेत्रको योगदान ३१.६९ प्रतिशत र गैरकृषिक्षेत्रको ६८.३१ प्रतिशत योगदान रहेको छ । मुलुकको अर्थतन्त्रको संरचनाले भने नेपाल अब कृषिप्रधान देश रहेन । चालू आर्थिक वर्षको सात महिनामा मात्रै दोस्रो आयातमा कृषिजन्य वस्तुमा ७५ अर्ब बराबरको छ । त्यस्तै औद्योगिक क्षेत्रको जीडीपी पनि क्रमशः घट्दो अवस्थामा छ । कुनै समय कुल गार्हस्थ्य उत्पादनको १९ प्रतिशतको हाराहारीमा पुगिसकेको नेपालको औद्योगिक क्षेत्रको योगदान हाल ५.६७ प्रतिशतमा झरिसकेको छ । के हामी औद्योगिक क्षेत्रको विकास नगरी समृद्धि हुन सक्छौं ?
समृद्धिका लागि पुँजीगत खर्च अर्थात् विकास महŒवपूर्ण आधारस्तम्भ हो । कमजोर पुँजीगत खर्चले समृद्धिलाई बाधा पुगेको छ । पुँजीगत खर्चको ग्राफ निराशाजनक छ । चालू आर्थिक वर्षको ८ महिनामा मात्र २३ प्रतिशत खर्च भएको छ । विगत केही वर्षको इतिहास हेर्ने हो भने नयाँ आर्थिक वर्ष सुरु हुन एक–दुई महिना बाँकी हुँदा २०–२५ प्रतिशत मात्र विकास खर्च भएको देखिएको छ । बाँकी रकम हतार–हतारमा खर्च हुन्छ भने कति रकम त कागजमै मात्र हुन्छ । मुलुकको समृद्धिको कुरा गर्ने हो भने पुँजीगत खर्चलाई यथोचित ढंगले कार्यान्वयन गरेर समयमै सदुपयोग गर्नुपर्छ ।
साँच्चिकै समृद्धिको कुरा भने मुलुकको बढ्दो छाया अर्थतन्त्रलाई रोक्नुपर्छ, तर सरकारले नै यसलाई बढावा दिइरहेको छ । मुलुकको अर्थतन्त्रका दुईतिहाइ छाया वा अवैध अर्थतन्त्र भइसकेको छ । केन्द्रीय बैंकका अनुसार आर्थिक वर्ष २०६४÷०६५ देखि २०७२÷०७३ सम्ममा ६ खर्ब १९ अर्ब १४ करोड रुपैयाँ अनौपचारिक अर्थात् अवैध आयात भएको छ । अझ नेपाल र भारतीय दुई पक्षीय व्यापारको ३५.५ प्रतिशत अनौपचारिकमा हुने गरेको छ । यो ज्यादै ठूलो डरलाग्दो तथ्यांक हो ।
हालै प्रधानमन्त्री केपी शर्मा ओली तीनदिने भारत भ्रमण सम्पन्न गरी मुलुक फर्केका छन् । मुलुकको समृद्धिका लागि मोदी सरकारबाट अनेक टिप्स सिकेर आएका छन् । उनले आफ्नो भ्रमणलाई बनावटी र देखावटी नभई यथार्थमा आधारित भएको बताएका छन् । उनले नेपाल भारतको सम्बन्धमा ‘तस्बिर आफैं बोल्छ’ भन्ने वाक्यांश प्रयोग गरेका छन्, तर उनले तथ्यांकमा नदेखिएको समृद्धिलाई भुलेका छन् । चाँडै नै तथ्याङ्कमा नदेखिएको समृद्धिलाई उनले मनन गरून् । उनले आपूmलाई कम्युनिस्ट प्रधानमन्त्री भएको पुष्टि गर्छन् भने ‘समृद्धि मात्र होइन, समानतासहितको समृद्धि आजको आवश्यकता हो’ भनून् । यो नै आम नेपालीको चाहना हो । तर यस्तो उद्गार गर्लान् भन्ने कुरामा आमनेपाली विश्वस्त छैनन् । किनकि उनी सारमा कम्युनिस्ट प्रधानमन्त्री होइन, रूपमा मात्रै हुन् ।

प्रतिक्रिया दिनुहोस्