दूध र तरकारीमा आत्मनिर्भर बन्दै «

दूध र तरकारीमा आत्मनिर्भर बन्दै

एक दशकअघिसम्म अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कका बासिन्दालाई दूध हालेको चिया खान बिहान १० बजेसम्म कुर्नुपर्ने अवस्था थियो । बुटवलबाट गाडिमा ल्याइने दूधको भर पर्ने सन्धिखर्कवासीको दैनिकी अहिले परिवर्तन भएको छ । यहाँका बजारमा बिहान ५ बजे नै सहज रूपमा दूध उपलब्ध हुन थालेको छ ।
०६७ सालमा नार्डेफको सहयोग र लुम्बिनी सामाजिक विकास केन्द्रको सहजीकरणमा सन्धिखर्कबाट ३ किलोमिटर नजिक किमडाँडा र घोचेखोलाबाट परीक्षणका रूपमा व्यावसायिक गाईपालन गरिएपछि अहिले दूध सहज भएको हो ।
गाईपालनबाट राम्रो भविष्य देखेसँगै यहाँका कृषक थप मिहिनेत गरेर राम्रो आम्दानी गरिरहेका छन् । हिँडेर आधा घण्टामा दूध बोकेर सदरमुकाम ल्याएर उनीहरूले बिक्री वितरण गरिरहेका छन् । सुरुवातमा किमडाँडाको दूधले सन्धिखर्कबासीलाई राहत दिए पनि पछिल्लो समयमा अन्यत्रबाट पनि सहजै दूध आउन थालेको छ ।
“सुरुमा नार्डेफको सहयोगमा ४० वटा गाई ल्याएर परीक्षण गरेका थियौं,” लुम्बिनी विकास केन्द्रका कार्यकारी निर्देशक इन्द्रमणि पौडेलले भने, “एकाएक गाउँलेहरू गाईपालन गर्न तयार भए, परीक्षणका लागि सुरु गरेको गाईपालनबाट कृषकको प्रयासले सोचेभन्दा बढी सफल भएका छौं ।”
थोरै लगानीबाट सुरु गरेको गाईपालनबाट समृद्ध बनेको घोचेखोलाका कृषक देवेन्द्र बन्जाडे बताउँछन् । “अभिभावकको रूपमा सुरुमा लुम्बिनी संस्थाले सहयोग गर्यो, सुरु–सुरुमा निकै जोस जाँगर आयो, १० वटासम्म गाई पालें,” २०६६ सालमा काठमाडौं गएर गाई ल्याएको सम्झिँदै उनले भने, “अहिले दैनिक ५५ लिटर दूध उत्पादन गर्ने गरेको छु ।” उनले दैनिक २५ सयदेखि ३ हजार रूपैयाँसम्म आम्दानी गर्ने गरेका छन् । सुरुबाटै तरकारी खेतीमा लागेका बन्जाडेले पछि गाईपालन गर्न सुरु गरेका हुन् । गाईपालनबाट उनले वार्षिक १२ लाख रूपैयाँ बचत गर्ने गरेको बताए । उनीसँगै घोचेखोलाका गणेश बन्जाडे, जानका बन्जाडेलगायतले पनि गाईपालन र तरकारी खेतीबाट वार्षिक लाखौं आम्दानी गर्ने गरेका छन् ।
अर्घाखाँची दूध, मासु र अण्डामा आत्मनिर्भर बने पनि तरकारी खेतीमा भने अझै आत्मनिर्भर बन्न सकेको छैन् । जिल्लामा तरकारी खेतीबाट राम्रो आम्दानी भएपछि जिल्लाका युवाको पनि तरकारी खेतीप्रति आकर्षण बढेको छ । बेरोजगार युवा मात्र होइन सरकारी कर्मचारी, शिक्षक र वैदेशिक रोजगारमा गएकाहरू पनि फर्किएर तरकारी खेतीमै लागेका छन् ।
अर्घाखाँचीमा सवै वडामा सडक सुविधा पुगेकाले जुनसुकै ठाउँमा बसेर खेती गरे पनि उत्पादित तरकारी बिक्री गर्न कुनै समस्या नभएको किसानहरू बताउँछन् । यसले गर्दा पनि पछिल्लो समयमा कृषिमा लाग्नेहरूको संख्या बढ्दै गएको छ ।
तरकारीका लागि जिल्लामा ५ सयभन्दा बढी प्लास्टिकका टनेल निर्माण गरिएको छ । प्लास्टिक टनेलमा गोलभेंडा खेती गरिने भएकाले बाह्रै महिना उत्पादन हुने गरेकोे छ । सिचाइँको सुविधा नभएको ठाउँमा किसानले प्लास्टिक पोखरी बनाएका छन् । वर्षातको पानी प्लास्टिक पोखरीमा जम्मा गरेर हिउँदमा तरकारी खेती गर्ने गरेको किसान बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्