आन्तरिक स्रोतमा धनी धादिङ

प्रदेश नम्बर ३ को धादिङ धनीमध्येको एक जिल्ला हो । जब जनप्रतिनिधिविहीनता थियो, त्यतिबेला झनै आन्तरिक श्रोत वृद्धि हुन थाल्यो । तर बिडम्बना आन्तरिक स्रोतको खर्चबाट उल्लेख्य काम भएको एउटै पनि गतिलो उदाहरण जिल्लामा छैन ।
२०५९ साल असार मसान्तबाट स्थानीय विकास अधिकारीको नेतृत्वमा सञ्चालन हुदै गर्दा जिल्लाको आन्तरिक स्रोतको आम्दानी भने बृद्धि हुँदै गएको देखिन्छ । तर दिगो आम्दानीको श्रोत बन्ने गरी जिविसको आन्तरिक श्रोत परिचालन तथा खर्च भने हुन सकेन । बितेका वर्ष करोडौं रुपैयाँ आन्तरिक आम्दानी गरेपनि बाँड्ने बाहेकको उल्लेख्य काम भने देखिदैन । वार्षिक रुपमा १० करोड रुपैयाँभन्दा बढी आन्तरिक श्रोत खर्चे गरेपनि दिगो आम्दानीको श्रोत बनाउन नसकेकोले दिगो विकासमा सहयोग नपुगेको हो ।
आर्थिक वर्ष २०६८/०६९ मा १२ करोड २४ लाख ४० हजार आठ सय पचासी रुपयाँ आन्तरिक राजश्व संकलन गरेको थियो । जसमा मालपोत तथा भूमिकर, प्राकृतिक श्रोत (ढुंगा गिटी वालुवा), सेवा शुल्क दस्तुर, श्रोत उपभोगबाट प्राप्त रकम रोयल्टी बाँडफाँडबाट प्राप्त रकम थियो ।
यसैगरी आव २०६९/०७० मा १० करोड १८ लाख ५९ हजार रुपयाँ, आव २०७०/०७१ मा ९ करोड लाख ४४ लाख १७ हजार रुपैयाँ संकलन भएको थियो । यसैगरी आव २०७१/०७२ मा २४ करोड २६ लाख ५८ हजार रुपयाँ संकलन गरेर अघिल्लो आवको तुलनामा झण्डै तेब्बर आन्तरिक राजश्व संकलन गरेको थियो ।
आव २०७२/०७३ मा २२ करोड २ लाख १४ हजार रुपयाँ संकलन गरेको थियो भने गत आव २०७३/०७४ मा २६ करोड १८ लाख ७८ लाख रुपयाँ आन्तरिक आम्दानी गरेको थियो । आव २०७४/०७५ का लािग २४ करोड रुपैयाँमा ठेक्का लागेर आन्तरिक राजस्व संकलन भइरहेको छ ।
राजश्व उठाउने प्रचलन पुरानै भएपनि आव २०४९/०५० बाट राम्रै राजश्व उठाउने गरेको जानकारहरु बताउँछन् । राजश्वबाट प्राप्त रकम सालवसाली खर्च गर्ने प्रचलनमै स्वाहा भएको छ । आन्तरिक राजश्वबाट प्राप्त रकम २५ प्रतिशत चालु खर्च र ७५ प्रतिशत पुँजीगत खर्च गर्ने व्यवस्थाअनुसार खर्च हुदै गएको छ ।
गाँउगाँउमा खोलिएका माध्यामिक विद्यालयमा तलव र भवन निर्माण, स्वास्थ्य चौकी र ग्रामीण सडक निर्माण आन्तरिक स्रोतको उपयोग गरेको देखिन्छ । यसैगरी विद्युत बिस्तार, सम्बन्धन प्राप्त क्याम्पस सञ्चालनको लागि आर्थिक सहायता र खानेपानी योजना सञ्चालन गरिएको देखिन्छ ।