सदरमुकाम सुनसान, गाउँमा चहलपहल «

सदरमुकाम सुनसान, गाउँमा चहलपहल

छत्रदेव गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेल स्थानीय तहको निर्वाचनअघि काठमाडौंमा बस्दै आएका थिए । गाउँपालिका अध्यक्षको टीकट पाएसँगै गाउँ फर्किएका उनी गाउँ छोड्न सकेनन् । आफ्नो घर भाडामा दिएका पोख्रेल अहिले कान्छा हजुरबुबाको घरमा बस्दै आएका छन् । “टीकट पाउने थाहा थिएन, घर भाडामा दिएकाले भाडामा बसेकालाई हटाउन सकिएन, कान्छा बुबाको घरमा बस्दै आएको छु,” पोख्रेलले भने । उनीजस्तै अन्य स्थानीय तहका वडाध्यक्षसमेत गाउँमै बस्दै आएका छन् । जनप्रतिनिधि गाउँमा बस्न थालेपछि विकास निर्माणले फड्को मारेसँगै सदरमुकाममा भन्दा गाउँमा चहलपहल बढ्दो छ ।
सिंहदरबारको अधिकार गाउँगाउँमा आएसँगै एक टुक्रा पाइप लिन सदरमुकाम धाउनु परेन, गाउँमै पाइप, बिजुलीका पोल, जालीलगायका विकास निर्माणलाई आवश्यक पर्ने सामग्री र विनियोजन भएको बजेट पालिकाबाटै पाइन्छ । स्थानीय तहमा बैंक खुलेपछि समितिहरू सदरमुकाम धाउन परेन, बजेट निकास पनि स्थानीय बैंकबाटै हुन्छ, कमला उमावि पालिका गेट निर्माण उपभोक्ता समितिका सचिव मधु पन्तले भने । “स्थानीय तहको निर्वाचन सम्पन्न भएसँगै गाउँगाउँका जग्गाको मूल्य पनी वृद्धि भयो, पालिकाहरूका केन्द्रमा पनि जग्गा धेरै महँगो भयो । निर्वाचनपछि “रित्ता र जीर्ण भएका घर पनि सजिसजाउ भई मानिस बस्न थालेका छन्, संघीयता कार्यान्वयनपछिको चहलपहलले गाउँमा उमँग छाएको पाइन्छ,” पन्तले भने ।
देश नयाँ संरचनामा गएसँगै गाउँपालिका तथा नगरपालिकामा चलहपहल बढेको छ भने जिल्ला सदरमुकाम भने सुनसान छ । सेवाग्राहीले भरिभराउ भइरहने साविकको जिविस समन्वय समितिका रूपमा परिणत भएपछि सुनसान बनेको हो । “बजेट पनि छैन, योजना पनि छैन । त्यही भएर सुनसान भएको हो,” जिल्ला समन्वय समिति प्रमुख पीताम्बर शर्माले भने । “करोडौंको बजेट चलाएका जिविसका कर्मचारी पनि स्थानीय तहमा गएका छन्,” जिल्लाको शीतगंगा नगरपालिकाको केन्द्र ठाडामा चहलपहल ह्वात्तै बढेको छ, साविकका ७ गाविसका जनता नगरपालिकामा विभिन्न काम लिएर आउँदा दिनभर चहलपहल हुन्छ, नगरप्रमुख सूर्यप्रसाद अधिकारीले भने । नगरपालिकाका विभिन्न ठाउँ विकट भए पनि साता दिनमा टोलटोलमा घुमेर विकास निर्माणका काम अवलोकन गरिन्छ, संरचनापछि गाउँमा चहलपहल बढेको पाइन्छ अधिकारीले भने ।
“साविकका ८ गाविस मिसाएर बनाइएको पाणिनी गाउँपालिकाको केन्द्र दुर्गाफाँटमा सबै वडाबाट एक घण्टामा आउन सकिन्छ,” अध्यक्ष अच्यूत गौतमले भने । “पहिले सदरमुकाममा काम हुन्थ्यो, त्यसैले हामी दुई दिन लगाएर पनि जिल्ला जान्थ्यौं,” मैदानका हरि भट्टराईले भने, “अहिले गाउँपालिकामै सबै काम हुने भएकाले सबैको जमघट यतै हुन्छ ।”
व्यापार व्यवसाय वृद्धि
गाउँपालिका सदरमुकाम बनेपछि जनप्रतिनिधि, कर्मचारी, संघसंस्थालगायतको उपस्थितिले स्थानीय व्यापार व्यवसायसमेत बढेकोे छ । कार्यालय र संघसंस्थाका लागि भनेजस्तो घर भाडामा नपाएको स्थानीय तहका जनप्रतिनिधिको भनाइ छ । गाउँमा चहलपहल बढेसँगै सदरमुकामका सटरहरू खाली हुनुका साथै अधिकांश घरका कोठा खाली भएका छन् भने घडेरीको कारोबारसमेत ठप्प भएको छ ।

प्रतिक्रिया दिनुहोस्