पेट्रोलियम पदार्थ भारततर्फ चोरी तस्करी «

पेट्रोलियम पदार्थ भारततर्फ चोरी तस्करी

रौतहट- रौतहटबाट भारततर्फ पेट्रोलियम पदार्थ चोरी तस्करी हुने गरेको छ । चोरी तस्करी हुन थालेपछि गौरलगायत मुख्य बजारमा पेट्रोलियम पदार्थको कृतिम अभाव भएको छ । दिउँसो पम्प बन्द गरी रातिको समयमा भारतीय गाडीमार्फत डिजेल र पेट्रोलको चोरी तस्करी हुने गरेको गौरका राकेश यादवले बताए । गौर, राजपुर, बंकुल, औरैयालगायतका सीमाबाट अवैधरूपमा भारततर्फ पेट्रोलियम पदार्थको चोरी बढेको रौतहट भन्सार कार्यालयले जनाएको छ ।
नेपालमा भन्दा भारतमा डिजेल र पेट्रोलको मूल्य प्रतिलिटरमा २५ रुपैयाँ महँगो भएकाले चोरी तस्करी भएको प्रमुख भन्सार अधिकृत राजनबाबु काफ्ले बताए । प्रहरीको सहयोग चोरी तस्करी गर्नेलाई पक्राउ गरिएको उनले बताए । नेपाली पेट्रोल पम्पले ग्राहकलाई नबेची भारतीयलाई बेच्ने गरेका छन् ।

राजस्व संकलन सुधारोन्मुख
चालू आर्थिक वर्षमा १७ करोड ४० लाख रुपैयाँ संकलन गर्ने लक्ष्य लिएको रौतहट भन्सार कार्यालय लक्ष्य पुर्याउने प्रयासमा छ । चैत मसान्तसम्म ९ करोड ४० हजार रुपैयाँ संकलन गरेको काफ्लेले जानकारी दिए । उनले गत वर्षको तुलनामा राजस्व संकलन सुधारोन्मुख भएको बताए । “गत आवसम्म १० करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको भए पनि चालू आवमा अन्य भन्सारको झै यसको पनि राजस्व संकलन लक्ष्य बढाएको हो,” उनले भने, “सानो भन्सार भए पनि तोकिएको लक्ष्यमा पुग्ने प्रयासमा छौं ।” जिल्लामा ठूला व्यापारी नरहेकाले आक्रामक रुपमा राजस्व संकलन हुन सकेको छैन भने चोरी तस्करी पनि अधिक छ ।
भारतीय सीमावर्ती वैरगनियाँबाट नेपालमा सामान भित्रने गरेको छ । आलु, प्याजलगायतका खाद्यान्नका वस्तुबाट भन्दा पनि औद्यागिक वस्तु आयातनिर्यात भएमा राजस्व संकलन वृद्धि गर्न सकिने काफ्ले बताउँछन् । चैतमा भने सिमेन्ट बनाउन प्रयोग हुने क्लिङ्करलगायतका वस्तु र कोइलासमेत आयात हुँदा दुई महिनाको राजस्व संकलन तोकिएको लक्ष्यभन्दा बढी भएको थियो । चालू आवको साउन र भदौमा बाढीलगायत नेपाल र भारततर्फ पनि निर्वाचन भएकाले पनि करिब ४५ प्रतिशत मात्रै राजस्व संकलन भएको थियो । भन्सारले अहिलेसम्म औसतमा ७२ प्रतिशत राजस्व संकलन गरेको छ ।
भन्सारले साउनमा ५० लाख ५६ हजार, भदौमा ६१ लख ९५ हजार, असोजमा १ करोड ४१ लाख रुपैयाँ राजस्व असुली गरेको हो । यसैगरी कात्तिकमा ९८ लाख ९१ हजार, मंसिरमा डेढ करोड, पुसमा १ करोड ८२ लाख, माघमा ९५ लाख र फागुनमा १ करोड १८ लाख रुपैयाँ राजस्व संकलन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्