Logo

पुल भएपछि विकट पनि निकट

दुईतर्फको अक्करे भीरको शिरमा अवस्थित रघुगंगा गाउँपालिका–१ को बेग र बादुक गाउँ झोलुंगे पुलले जोडिएका छन् । दुई बस्तीको सिमाना भएर बग्ने बेगखोलामा झोलुंगे पुल बनेपछि विकट गाउँ निकट भएका हुन् ।
पुल निर्माण भएपछि भीर, जंगल र खोल्साखाल्सीको बाटोमा घुमाउरो यात्रा गर्नुपर्ने बाध्यता हटेको बादुक गाउँ टोल सुधार समितिका संयोजक भक्तबहादुर पुनले बताए । “पुलले विकट बस्तीलाई निकट बनाएको छ,” पुनले भने, “वडा कार्यालय, स्वास्थ्य संस्था र विद्यालय जान आउन धेरै सुविधा भएको छ ।”
तीन घण्टाको घुमाउरो बाटो पुल बनेपछि ३० मिनेटमा छोटिएको उपभोक्ता समितिका अध्यक्ष नेत्र पुनले बताए । भौगोलिक विकटताका कारण छिमेकी वडा भुरुङ तातोपानी, दोवा र हिस्तानको विद्यालयमा पढ्न जानुपर्ने बादुक र तिप्ल्याङ गाउँका बालबालिकाको बाध्यता हटेको छ ।
बादुक र तिप्ल्याङ गाउँका बासिन्दालाई बेग देउरालीस्थित वडा कार्यालय, स्वास्थ्य चौकीको सेवा लिन र विद्यालयमा पढ्न जान आउन सहज भएको पुनले बताए । वि.सं २०७३ भदौदेखि सुरु भएको पुल निर्माणकार्यले पूर्णता पाएपछि २०७५ वैशाखदेखि आवत जावतका लागि खुल्ला गरिएको छ ।
३६५.८ मिटर लामो यो झोलुंगे पुल सिंगल स्पाम प्रविधिमा नेपालकै लामो भएको जिल्ला प्राविधिक कार्यालयका इन्जिनियर रविन मर्हजनले बताए । अन्नपूर्ण र रघुगंगा गाउँपालिकाको बेग, हिस्तान, दोवा, भुरुङ तातोपानी, चिमखोला, दग्नाम, पिप्ले, भगवतीलगायत वडाका तीन हजार ५ सय घरधुरी लाभान्वित भएका छन् । यो पुल १४८ मिटरभन्दा बढी अग्लो छ ।
जिल्ला समन्वय समितिअन्तर्गतको प्राविधिक कार्यालयले ठेक्कामार्फत दुई करोड ७९ लाख ९० हजार १ सय रुपैयाँको लागतमा पुल निर्माण गरेको हो । पुल निर्माणको ठेक्का लिएको पोखराको मुक्तिनाथ श्री गीता जेभीले हस्तान्तरणको तयारी गरेको छ । टीबीएसयूले केबल र बुल्डअफ ग्रीपलगायतका निर्माण सामग्री उपलब्ध गराएको थियो ।
भुरुङ तातोपानी, दोवा, बाँदुक, बेग हुँदै धौलागिरि हुँदै पर्यटकीय रुइसे पुग्ने पदमार्गको समेत परिकल्पना गरिनुका साथै रघुगंगा गाउँपालिका क्षेत्रको पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।
बेनी–जोमसोम सडकखण्डअन्तर्गत बेगखोला र तिप्याङबाट यस झोलुंगे पुलसम्म पुग्नका लागि सडक सञ्जालसमेत विस्तार भइसकेकाले मुस्ताङ जाने पर्यटकलाई समेत आकर्षित गरेको वडाध्यक्ष बिलप्रसाद फगामीले बताए । पुलसम्म पुग्ने सडकको स्तरोन्नति, होटल तथा रेस्टुराँ स्थापना र प्रचारप्रसार गरेर विकट बस्तीलाई निकट बनाएको बेग बादुक पुललाई पर्यटकीय गन्तब्य बनाउन पहल गरिने वडाध्यक्ष फगामीको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्