पीटीए कार्यान्वयन तथा सहजीकरण वार्ता भारतमा «

पीटीए कार्यान्वयन तथा सहजीकरण वार्ता भारतमा

नेपाल र भारतबीच भएको विद्युत् व्यापार सम्झौता (पीटीए) कार्यान्वयन तथा सहजीकरण गर्नका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव अनुपकुमार उपाध्याय र विद्युत् प्राधिकरणका निर्देशक कुलमान घिसिङसहितको टोली भारत प्रस्थान गरेको छ ।
सोमबार तथा मंगलबार ऊर्जा सचिवस्तरीय (जेएससी) बैठकमा भाग उनीहरू आइतबार भारत प्रस्थान गरेको मन्त्रालयले जनाएको छ । टोलीमा ऊर्जा मन्त्रालयका सहसचिव दिनेशकुमार घिमिरे, विद्युत् विकास विभागका महानिर्देशक नवीनराज सिंह छन् ।
मन्त्रालयका अनुसार ५औं जेएससी बैठकमा नेपाल–भारतबीच २०७१ कात्तिक ४ गते हस्ताक्षर भएको पीटीएबारे सोमबार सह–सचिवस्तरीय संयुक्त कार्य समूह (जेडब्लूजी) को बैठक बस्ने छ । त्यसपछि अन्तिम रूप दिन सचिवस्तरीय बैठक मंगलबार बस्नेछ ।
नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठकमा हालै प्रधानमन्त्री ओलीको भारत भ्रमणमा उठेको ‘इनर्जी बैंकिङ’ बारे पनि छलफल हुनेछ भने दोस्रो अन्तरदेशीय ४ सय केभी प्रसारण लाइन (न्यु बुटवल–न्यु गोरखपुर) पनि मुख्य एजेन्डा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्