गोन्डा र बेतालपुर नाकाबाट गुड्ने ट्यांकरमा पनि लकिङ

नेपाल आयल निगमले नेपालगन्जको गोन्डा र भैरहवाको बेतालपुर नाकामा गुड्ने ट्यांकरमा लकिङ प्रणाली (ताल्चा) जडान गर्ने भएको छ । झापाको सिलगुडी नाकाबाट लकिङ प्रणाली सुरु गरेको निगमले अप्रिल अन्तिम सातादेखि थप दुई नाकामा गुड्ने ट्यांकरमा लकिङ प्रणाली जडान गर्ने भएको हो । निगम प्रवक्ता वीरेन्द्र गोइतले अप्रिल अन्तिम सातादेखि गोन्डा र बेतालपुर नाकामा लकिङ प्रणाली जडान गरिने बताए । इन्डियन आयल कर्पाेरेसन (आईओसी)ले लकिङका लागि ताल्चा उपलब्ध गराइसकेकाले छिट्टै नै थप दुई नाकामा गुड्ने ट्यांकरमा लकिङ प्रणाली जडान गर्न लागिएको उनले जानकारी दिए । “लकिङ प्रणाली जडान भएपछि बाटोमा ट्यांकरबाट तेल निकाल्न मिल्दैन,” प्रवक्ता गोइतले भने, “यसले वार्षिक करोडौं रुपैयाँ बराबरको इन्धन चोरी, चुहावट र गुणस्तरमा आउने कमीलाई नियन्त्रण हुन्छ ।” आगामी मे महिनाभित्र सवै ट्यांकरमा लकिङ प्रणाली जडान गरिसक्ने उनले बताए ।
भैरहवाको बेतालपुर नाकाबाट दैनिक २ सय ५० र गोन्डा नाकाबाट १ सय २० ट्यांकर गुड्ने गर्छन् । इन्धन बोक्ने ट््ययंकरमाा तेल निकाल्ने ठाउँमा रड लगाएर ताल्चा लगाउँदा बीच बाटोमा कसैले तेल निकाल्न सक्दैन । निगमले १४ मार्चदेखि सिलुगडीबाट झापाको चारआली नाकामा गुड्ने ट्यांकरमा लकिङ प्रणाली जडान गरिसकेको छ । सुरुमा ट्यांकर चालकले विरोध जनाए पनि निगम, स्थानीय प्रशासन र चालकबीचमा भएको सहमतिपछि सो नाकाबाट लकिङ प्रणाली जडितका ट्यांकरले तेल बोक्दै आएका छन् ।
निगमले मे महिनाको पहिलो हप्तामा रक्सोल र बरौनी नाकामा गुड्ने ट्यांकरमा लकिङ प्रणाली जडान गर्ने बताएको छ । रक्सोल र बरौनी नाकाबाट काठमाडौ, पोखरा, जनकपुर र विराटनगरका लागि इन्धन आयात हुन्छ । रक्सोल नाकाबाट कूल आयातको ७० प्रतिशत इन्धन आयात हुने गर्छ । सो नाकाबाट दैनिक २ सयदेखि ३ सय ट्यांकर लोडिङ भएर आउने गर्दछन् ।
पहिलो चरणमा आइओसी र निगमको डिपोमा लकिङ प्रणाली जडान गरिने र दोस्रो चरणमा निगम डिपोबाट डिलरसम्म जाने ट्यांकरमा लकिङ प्रणाली जडान गरिने छ । पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका अध्यक्ष लीलेन्द्र प्रधानले धागो र नाइनलको सिल लागेर इन्धन ल्याउने गरेको लकिङ प्रणालीले आमउपभोक्ता र देशलाई नै फाइदा हुने बताए । तौल र गुणस्तरमा स्वच्छता हुँदा इन्धन ढुवानी गर्दा व्यवसायीलाई लाग्ने गरेको चोरीको आरोप अन्त्य हुने उनको भनाइ छ ।