के हुदैछ कञ्चनपुरमा ? «

के हुदैछ कञ्चनपुरमा ?

कृिष, पर्यटन र विकास निमार्णका सम्भावनायुक्त कञ्चनपुरमा अन्य सम्भावना पनि उत्तिकै प्रबल छ । जिल्लामा विकास र पूर्वाधारका काम निकै ढिलो भए पनि केही हुँदै नभएको भने होइन । तर, अपेक्षाकृत हुन नसक्नु विडम्बना हो ।

महाकाली सिँचाइ आयोजना
महाकाली सिँचाइ आयोजनको तेस्रो चरणअन्तर्गत कञ्चनपुरको मटेनादेखि कैलालीको मालाखेतीसम्म मूल नहर तथा शाखा नहरको कुल लम्बाइ १५१ किलोमिटर छ । उक्त नहर सन् २०२२ सम्म पूरा गर्ने लक्ष्य रहे पनि समयमै पूरा हुने अझै छाँटकाँट छैन । हालसम्म करिब १३ किलोमिटर नहर मात्रै निर्माण भएको छ । नहर निर्माणका लागि २७ अर्ब रुपैयाँ लागत अनुमान गरिएको उक्त आयोजनाको बजेट सक्ने बाहेक अरू कुनै काम हुन सकेको छैन । करिब एक दशक बित्दा १ अर्ब ८० करोड रुपैयाँ मात्रै खर्च भएको छ । सरकारले “६० करोड रुपैयाँ जग्गा मुआब्जाका लागि खर्च गरेको छ । जग्गा मुआब्जा विवादका कारण नहर निर्माणको काम लामो समयसम्म प्रभावित बन्यो ।” शाखा प्रशाखा गरी कुल १ हजार ६ सय किलोमिटर लामो नहर सञ्जाल छ । नहर निर्माणका लागि चालू आवमा २८ करोड रुपैयाँ रकम विनियोजन गरिएको थियो । त्यसमध्ये २२ करोड रुपैयाँ नहर निर्माण तथा ५ करोड रुपैयाँ जग्गा मुआब्जामा खर्च भएको छ । चालू आवको अहिलेसम्ममा ६ किलोमिटर नहर निर्माण गरिएको छ । गत आवमा नहर निर्माणका लागि ३१ करोड रुपैयाँ विनियोजन गरिएको थियो भने चार किलोमिटर नहर निर्माण भएको थियो । आर्थिक वर्ष २०७५र७६ का लागि १ अर्ब रुपैयाँ बजेट माग गरेको महाकाली सिँचाइ आयोजनाका इन्जिनियरले बताए । थप १५ किलोमिटर नहर निर्माणको ठेक्का भएर मुआब्जा प्रक्रिया अघि बढाएका छ । कैलाली कञ्चनपुरको गौरवको आयोजना महाकाली सिँचाइ आयोजना निर्माणका लागि तीनवटा समूहमा ठेक्का दिइएको छ, अहिलेसम्म निर्माण सम्पन्न गरिएका नहर हस्तान्तरणको चरणमा छन । अब बन्ने १५ किलोमिटर नहरका लागि २ अर्ब ९४ करोड रुपैयाँ बजेट आवश्यक पर्छ । तेस्रो चरणको नहर निर्माण सम्पन्न भए कैलाली र कञ्चनपुरको गरी कुल ३३ हजार ५ सय २० हेक्टर जमिनमा सिँचाइ गर्न सकिनेछ । महाकाली सिँचाइ आयोजनाको तेस्रो चरणलाई बर्सेनि आर्थिक अभाव हुने गरेको छ । भारतले टनकपुर बाँधबाट सुक्खायाममा महाकालीको ३ सय क्युसेक तथा वर्षा याममा १ हजार क्युसेक पानी उपलब्ध गराउने महाकाली सन्धिमा उल्लेख छ । महाकाली सिँचाइ तेस्रो चरणअन्तर्गतको नहर निर्माण भइरहे पनि महाकालीको पानी पाउनेबारे अझै अनिश्चितता छ । महाकाली सन्धि कार्यान्वयन नहुँदा कञ्चनपुर र कैलालीका किसान सिँचाइ सुविधाबाट बञ्चित हुँदैआएका छन् । कैलाली कञ्चनपुरमा कृषिका थुप्रै सम्भावना हँुदाहँुदै पनि सिँचाइको सुविधा नपाएर किसानहरू आकासे पानीका भरमा खेती गर्दैआएका छन् । भारतले पानी नदिने मनसायले नै नहर निर्माणमा चासो दिएको छैन । पानी उपलब्ध नभए नहर निर्माणमा गरिँदै आएको लगानी खेर जाने चिन्ता छ । महाकाली सन्धि भएको २२ वर्ष वित्दा पनि टनकपुर ब्यारेज नहरबाट ३ सय क्युसेक पानी नपाउनुमा नेपालकै दोष देखिन्छ ।
नेपालका तर्फबाट चालू आर्थिक वर्ष २०७४र०७५ चैत मसान्तसम्ममा १३ किलोमिटर मात्रै मूल नहर निर्माण गरिएको छ तर वि.सं. २०७९ सालमा कुल १ सय ५१ किलोमिटर नहर निर्माण गरिसक्नुपर्ने लक्ष्य छ । १० वर्षमा १३ किलोमिटर मात्रै नहर बन्ने अनुपात अनुसार पूरै नहर निर्माण गर्नका लागि अझै एक शताब्दीभन्दा बढी समय लाग्नेछ । यही गतिमा तेस्रो चरणको नहर निर्माण हुने भए झन्डै १ सय २० वर्ष लाग्नेमा दुईमत छैन ।

दोधरा चादनीमा सुक्खा बन्दरगाह
महाकालीपारिको दोधारा–चाँदनीमा सुक्खा बन्दरगाह र महाकाली नदीमा चार लेनको पक्की पुल बन्ने हो भने ७ प्रदेश नम्बरको आर्थिक विकासमा निकै ठूलो परिवर्तन आउने देखिन्छ । महाकालीमा पक्की पुल निर्माणपछि भारतका पञ्जाव, हरियाणा, गुँडगाव, दिल्ली, नोयडा, रुद्रपुरलगायत महेन्द्रनगरबाट छोटो दूरीमा रहेका ठूला औद्योगिक क्षेत्रबाट सहज रूपमा वस्तु आयात–निर्यात गर्न सकिन्छ । यसका लागि महाकालीमा पक्की पुल र दोधारा–चाँदनीमा सुक्खा बन्दरगाह बनाउनु नै कञ्चनपुर समृद्धिको बाटो लाग्नु हो । पुल निर्माणपछि भारतका विभिन्न औद्योगिक क्षेत्रसँग सुदूरपश्चिमको सीधा सम्बन्ध जोडिनेछ । दोधाराचाँदनीमा सुक्खा बन्दरगाह निर्माण गर्ने सरकारी स्तरबाट अहिले सम्म ५ पटक अध्ययन भइसकेको छ । यहाँ अहिले सुख्खा बन्दरगाह निर्माणको प्रक्रिया अघि बढाइएको छ । केही दिनअघि नेपाल–भारतको संयुक्त प्राविधिक टोलीले सुक्खा बन्दरगाह निर्माणस्थलको अनुगमनसमेत गरिसकेको छ । जग्गाको उपलब्धताका आधारमा सुक्खा बन्दरगाहको क्षेत्रफल ३० देखि ६० बिगाहासम्म रहने प्रस्ताव गरिएको छ ।

महाकालीमा पक्की पुल निर्माणाधीन
सुदूर पश्चिमको मुख्य नाकाका रुपमा रहेको महाकाली बन्न लागेको चार लेनको पक्की पुल त्रिदेशीय नाकाको रुपमा विस्ता गर्न सके ७ नम्बर प्रदेशकै समृद्धि हुने छ । भीमदत्त नगरपालिकाको वडा नम्बर–१२ ओदालीमा ८ सय मिटरको पुल बन्ने छ । ३ अर्ब २७ करोड ९३ लाख ३४ हजार लागतमा बन्न लागेको महाकाली पुल पुल निर्माण गर्न तीन वर्ष लाग्नेछ । पुल निर्माणपछि कञ्चनपुर नेपाल–भारतको महत्वपूर्ण व्यापारिक नाकाका रूपमा विकसित हुनेछ ।
भारतीय क्षेत्रबाट कच्चा पदार्थ, औद्योगिक उपकरण र वस्तु आयात गर्न नेपालको पूर्वी नाकाबाट घुमाएर पश्चिममा पु¥याउनुपर्ने बाध्यता छ । भारतका दिल्ली, नोयडा, गुडगाउँ, रुद्रपुर लगायतका औद्योगिक क्षेत्र नेपालको पश्चिमी सीमाबाट नजिक छन् ।
पक्की पुल बनेपछि भारतसितको परनिर्भरता घट्ने छ । कञ्चनपुरको आर्थिक विकास र नेपाल–भारत सहज आवागमनका लागि महाकाली नदीमा पक्की पुल निर्माण हुनु आवश्यक छ । महाकालीमा पुल निमार्ण भएपछि पश्चिमको आर्थीक नाका का रुपमा कञ्चनपुर नाका विकास हुनेछ ।
दैजीछेला औद्योगिक क्षेत्र
सरकारले घोषणा गरेको कञ्चनपुरको बेतकोट नगरपालीका दैजी छेला औद्योगिक क्षेत्र निर्माण कार्य अघि बढेको छ । औद्योगिक क्षेत्रको स्थापनाका लागि डीपीआरको काम सम्पन्न भएको छ । २०५२ सालमा जिल्ला वन समन्वय समिति कञ्चनपुर र साविकको दैजी गाविसको निर्णयबमोजीम दैजीका वडा नम्बर ५ र ६ हाल बेतकोट नगरपालीकाको वडा नम्बर २ र ३ को छेला आसपासको क्षेत्रमा औद्योगिक क्षेत्र स्थापना गर्ने पहल सुरु भएको थियो । तर वन कार्यालयले काम छिटो नगरी दिँदा औद्योगिक क्षेत्र स्थापनामा ढिलाइ भएको छ ।

पर्यटन विकासको सम्भावना
पर्यटकहरूको आर्कयाणको हिसावले महत्वका साथ हेरिने शुक्लाफाँट वन्य जन्तु आरक्ष छ । यो आरक्ष घुम्नका निम्ति स्वदेशी र विदेशी पर्यटकहरू आउने गरेका छन । करिब १ सय ५ किमी क्षेत्रफमा रहेको यो आरक्षमा सालको घना जंगल र घाँसे मैदान रहेका छन । यहाँ बाह्रसिंगे बथान, मयूर देख्न पाइन्छन् । आरक्षभित्र रानी पनि छ । शुक्लाफाँटामा हजारौँको संख्यामा देखिने बाह्रसिंगको झुण्डले यहाँ आउने पर्यटकहरूलाई लोभ्याउने गरेको छ ।
महाकाली पारिका गाउँ दोधरा र चादीलाई जोड्ने नेपालको सबैभन्दा लामो झोलुंगे पुल पनि छ । पर्यटनका निम्ति कञ्चनपुर जाने जो कोही पनि यो एशियाको नमुना पुल नहेरी फर्कंदैनन् । यस पुलको लम्बाइ १ हजार ४ सय ९५ मिटर रहेको छ । सीमा विदका अनुसार दोधरा र चाँदनी महाकालीका गाउँ होइनन्, बरु दोधरा, चादनी पारि महाकाली बग्ने गथ्र्याे । सन् १९२० मा शारदा सम्झौता भएपश्चात् महाकाली नदीको बनबासामा बृटिसले पुल बनाए । महाकाली त्यहीबाट बग्ने बनाइयो । बनबासा पुलमा पहिले नेपाल र भारत दुवै देशका झन्डाहरू थिए अहिले भारतको मात्र झन्डा रहेको छ । बनबासा पुलभन्दा करिब एक किलोमिटर तल झोलुंगे पुल पर्ने गर्छ । आजभोलि दोधरा र चाँदनीका जनता यही पुल भएर महेन्द्रनगर आउने गर्छन् ।
बेतकोट ताल र झिलीमिली ताल पनि महत्वपूर्ण पर्यटकीय स्थल बन्न सक्छन् । भीमदत्त नगरपालिका–९ मटैनाको माथि चुरै पर्वतमा अवस्थित झिलीमिली ताल नाउजस्तै झिलीमिली नै छ । करिब पाँच विगाहाको उपत्यका जस्तो पहाडको चुचुरोमा रहेको यस ताल पर्यटकीय क्षेत्रको प्रचार भने गरिएको छैन । तर, तालसम्म पुग्ने पदयात्राको निम्ति मार्ग निर्माण भने गरिएको छ । झिलीमिली ताल अवलोकन गर्न जानेहरूको संख्यामा पछिल्लो समय वृद्ध भइरहेको पाइन्छ ।
यहाँको जातीहरूको छुट्टै पहिचान छ । साँस्कृतिक पर्यटनको दृष्टिले थारु जाति र संस्कृतिको यहाँ छुट्टै पहिचान र विशेषता रहेको छ । थारु जातिको बसोबास कञ्चनपुरको दक्षिणी भेगमा ठुलो संख्यामा रहेको छ । त्यसै गरि सुदुरपश्मिको भेषभूषा यहाँको रहन सहन यहाँको कला र संस्कृतिमा पर्यटकहरू रमाउनको निमित्त पछिल्लो समय आउने गरेको पाइन्छ ।
ठूलो संख्यामा श्रद्धालुहरू महेन्द्रनगरको सिद्ध बाबा र ब्रहमदेवको सिद्धबाबा दर्शन गर्दछन । चैत र वैशाखमा महेन्द्रनगरमा पर्यटकहरूको घुइँचो नै लाग्ने गर्छ । यसबाहेक सीमामा बृटिस कालमा बनेको बनबासा पुल, टनकपुर बाँध, टनकपुर पुल हेर्न पनि पर्यटक आउँछन् ।
महादेव अवस्थी

प्रतिक्रिया दिनुहोस्