लगानी तथा मुनाफामा सुरक्षा प्रत्याभूतिः प्रधानमन्त्री «

लगानी तथा मुनाफामा सुरक्षा प्रत्याभूतिः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रलाई सहभागी गराएर लगानी तथा मुनाफामा सुरक्षा प्रत्याभूति दिने प्रतिवद्धता जनाएका छन् । नयाँ वर्षको अवसरमा राराबाट राष्ट्रको नाममा सम्बोधन गर्दै उनले राष्ट्रिय अर्थतन्त्रको महत्वपूर्ण अंगको रूपमा रहेको निजी क्षेत्रलाई लगानी तथा मुनाफाको प्रत्याभूति दिने प्रतिबद्धता जनाएका हुन् ।
वाम सरकारको आर्थिक नीतिका बारेमा धेरैमा शंका रहेकोले प्रधानमन्त्रीले निजी क्षेत्रलाई आश्वस्त तुल्याउन खोजेका हुन् । सम्बोधनमा ओलीले वाम गठबन्धनलाई जनताको स्पष्ट बहुमत प्राप्त भएको र जनताको वहुमतलाई दुरूपयोग गर्न नहुने भन्दै निजी क्षेत्रलाई आश्वस्त पार्न खोजेका छन् । राष्ट्रिय अर्थतन्त्रको महत्वपूर्ण अंगका रूपमा निजी क्षेत्रलाई सहभागी बनाउँदै लगानीमैत्री वातावरण, अनुकूल श्रम सम्बन्ध र लगानी तथा मुनाफाको सुरक्षाको प्रत्याभूति गरिने पनि उनले बताए ।
संविधानमा उल्लेख भएअनुसार सहकारीहरू समाजवादउन्मुख अर्थतन्त्रको महत्वपूर्ण आधार हुने ओलीले बताए । ओलीले सरकारको आर्थिक कार्यदिशासँगै केही सामाजिक सुरक्षाका कार्यक्रमको समेत घोषणा गरेका छन् । सरकारले आगामी बजेटमा सामाजिक सुरक्षाका केही नीतिगत व्यवस्था गर्ने भन्दै उनले गरिबीको रेखामुनि रहेका जनता, बालबालिका र ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने बताए । उनले कृषिलाई उच्च प्राथमिकता दिँदै कृषिमा निर्भर दुईतिहाई जनसंख्यालाई पाँच वर्षभित्र २५ प्रतिशतमा सीमित गर्ने घोषणा पनि गरे । कृषिको आधुनिकीकरण र व्यवसायीकरण गर्दै कृषिलाई सम्मानित पेशा र किसानहरूलाई सम्मानित नागरिकका रूपमा अगाडि बढाउने कार्यक्रम ल्याइने पनि ओलीले बताए ।
निर्वाचनमा प्राप्त बहुमत व्यक्तिगत स्वार्थ पूरा गर्ने अवसर नभएर जनताको सेवा गर्ने तथा कर्तव्य पालना गर्ने अवसर भएको बताउँदै उनले प्रतिपक्षलाई प्राप्त जनताको मत पनि सदनमा विरोध मात्र गर्ने नभई देश विकास र समृद्धिका लागि रचनात्मक सुझाव राख्ने अवसर भएकाले देशमा अहिले सहमति, सहकार्य र राष्ट्रिय एकतालाई प्राथमिकता दिनु पर्ने भनाइ थियो ।
ओलीले राष्ट्रियता, सामाजिक सद्भाव खलबल्याइ जस्तोसुकै हिंसात्मक गतिविधि गर्ने कार्य कसैलाई पनि छुट नहुने पनि बताए । देशमा रहेको व्याप्त महिला हिंसा, वाल विवाह, बहुविवाह कुनै पनि वहानामा छुट नहुने प्रधानमन्त्री ओलीले बताए । नेपालललाई कृषिप्रधान देश मानिए पनि वर्तमान कृषि प्रणाली निर्वाहमुखी, अव्यावहारिक खेतीप्रणाली, उर्वर भूमीको खण्डीकरण प्रमुख चुनौती रहेको ओलीको भनाइ छ । अबको पाँच वर्षभित्र नेपालको कृषि उत्पादन चार गुणाले वृद्धि गर्नेगरी कृषिमा आधुनिकीकरण, व्यवसायीकरण गर्दै कृषिलाई सम्मानित पेशा वनाउन सरकारले आफ्नो नीति तथा कार्यक्रममा समेट्ने प्रधानमन्त्रीको सम्बोधनमा उल्लेख छ ।
विगतमा विदेशी लगानी प्रतिबद्धता आए पनि लगानी नगरेरै फिर्ता हुने गरेकाले अब यसरी लगानी फिर्ता हुने वातावरणको अन्त्य हुने ओलीले वताए । सरकारले लगानी प्रतिफल प्राप्त हुनेगरी मुनाफा व्यवस्थापन र लगानीमैत्री वातावरण सिर्जना गर्ने भएकाले लगानी गर्न चाहने स्वदेशी–विदेशी सबै लगानीकर्तालाई ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह समेत गरे । उनले छिमेकी मुलुक तथा विदेशी मित्र राष्ट्रसँग पारस्पारिक सम्बन्ध कायम राख्ने र सबैको सहयोग र सद्भाव उत्तिकै आवश्यक रहने बताए ।

कर्णाली विकसित प्रदेश हुनेछ
हुम्ला, १ वैशाख (कास): प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली प्रदेशलाई यसअघि सरकार र व्यवस्थाले पछाडि पारे पनि आगामी दिनमा विकसित नेपाल र समृद्ध प्रदेश बनाउने सरकारको संकल्प रहेको बताएका छन् । हुम्लाको सिमकोट आएका प्रधानमन्त्रीले देशको भूगोल सजिलो वा गाह्रो, भिरालो वा समथर जे भए पनि यसको महत्व कम नहुने र यसलाई सही ढंगले प्रयोग गर्न सके समृद्ध कर्णाली र हुम्ला हुनसक्ने बताए । हुम्ला पर्यटकीय दृष्टिकोणले रमणीय, धार्मिक दृष्टिले दर्शनीय जिल्ला भएकाले यसको विकास गर्नका लागि आफू निरन्तर लागि पर्ने बताए । सिमकोट विमानस्थलमा प्रधानमन्त्री ओलीले कर्णाली जडिबुटीको धनी भए पनि यसको उचित प्रशोधन र उपयोग गर्नमा स्थानीयवासी अग्रसर हुनुपर्ने बताए ।
दानबहादुर बूढा (मुगु) तथा रेशमराज रोकाया (हुम्ला)

प्रतिक्रिया दिनुहोस्