प्रदेश ५ को स्थितिपत्र सार्वजनिक «

प्रदेश ५ को स्थितिपत्र सार्वजनिक

प्रदेश नम्बर ५ पर्यटन, कृषि, उद्योग, ब्यापारलगायतका क्षेत्रमा अब्बल रहे पनि विद्युत् उत्पादन(कर्जा)मा भने अन्य प्रदेशभन्दा कमजोर पाइएको छ ।
बिहीबार प्रदेश ५ सरकारले जारी गरेको स्थितिपत्रमा प्रदेश ५ अन्य क्षेत्रमा भन्दा ऊर्जामा कमजोर रहेको सार्वजनिक गरिएको छ ।
ऊर्जा उत्पादनमा प्रदेश २ भन्दा माथि यो प्रदेशको स्थान छ । प्रदेश २ मा कुनै पनि विद्युत् आयोजना छैनन् भने प्रदेश ५ मा परासीको गण्डक विद्युत् आयोजना, प्युठानको झिमरुक जलविद्युत् आयोजना, गुल्मीको माथिल्लो हुग्दी जलविद्युत् आयोजना, रुरु जलविद्युत् आयोजना र बुटवलको तिनाउ जलविद्युत् आयोजनामात्रै हुन् ।
गण्डकको क्षमता १५ मेगावाट, झिमरुकको १२ र माथिल्लो हुग्दीको ५, रुरुको २.४, तिनाउको १ मेगावाट छ । तिनैवटा आयोजनाबाट जम्मा ३५.५ मेगावाट विद्युत् निस्कने सामथ्र्य भए पनि गण्डक र तिनाउमा बारम्बार समस्या आउने गर्दा क्षमताअनुसारको उत्पादन भएको पाइँदैन । यी तीन विद्युत् योजनाबाहेक प्रदेशका अन्य जिल्लामा कुनै पनि ठूला विद्युत् आयोजना सञ्चालनमा छैनन् । प्रदेशका पहाडी जिल्ला पाल्पा, गुल्मी, अर्घाखाँची, रोल्पा, प्युठान, रुकुम पूर्ब, दांगमा समेत विद्युत् उत्पादन गर्न सकिने खोला तथा नदी भएता पति त्यहाँ कुनै संभाब्यता अध्ययन हुन सकेका छैनन् ।
प्रदेश ५ का प्रदेशसभा सचिव डा. मानबहादुर विक ऊर्जा उत्पादनमा सबैभन्दा कमजोर अवस्थामा यो प्रदेश रहेको बताउँछन् । अन्य क्षेत्रमा धेरै राम्रो भएता पनि ऊर्जामा यो क्षेत्र पछाडि छ, सचिव डा. विकले भने । “संभाब्यता धेरै छन्, यहाँ थप विद्युत् उत्पादन हुन सक्ने नदी खोला धेरै छन्, त्यसैले विद्युत् उत्पादनका लागि यस प्रदेशमा अध्ययन हुन जरुरी छ,” उनले भने ।
२ मेगावाट क्षमताको अर्घाखाचीको नौमुरे विद्युत् आयोजना अहिलेसम्म सुरु हुन सकेको छैन । यस्को विस्तृत परियोजना प्रतिवेदन तयारसमेत भएको थियो । उता यो प्रदेशमा लघुजलविद्युत् आयोजना भने धेरै छन् ।
गुल्मी, पाल्पालगायतका पहाडी जिल्लामा लघुजलविद्युत् आयोजना सञ्चालनमा छन् । पाल्पामा मात्रै ४२ वटा लघुजलविद्युत् आयोजना छ । त्यसबाट दैनिक ८५२ किलोवाट विद्युत् उत्पादन भइरहेको ग्रामीण आर्थिक विकाश संघ रेडा पाल्पाका निर्देशक लिला कार्की बताउँछन् । त्यसैगरी गुल्मीमा २७ वटा लघुजलविद्युत्बाट ७ सय किलोवाट विद्युत् उत्पादन भइरहेको कार्कीले जनाए । रेडाले पाल्पा, गुल्मीलगायतका पहाडी जिल्लामा लघुजलविद्युत्सम्म काम गर्दै आएको थियो । गुल्मीको दरामखोला लघुजलविद्युत् आयोजनालाई स्तरोन्नति गरी ३ देखि ५ मेगावाट क्षमतासम्मको बनाउने तयारी गरिरहेका छन् । उता पाल्पाको निस्दीखोलामा १०० किलोवाट र वाकामलाममा ४२ किलोवाटका लघुजलविद्युत् आयोजनाको काम भइरहेको छ । ग्रामीण क्षेत्रमा स्थानीय खोलानालाको प्रयोग गरी लघुजलविद्युत् आयोजनाबाट ऊर्जा निकाल्ने काम भइरहेको छ । प्रदेश ५ जलविद्युत् उत्पादनमा अन्य क्षेत्रभन्दा पछाडि रहे पनि यहाँको नदीखोलाबाट ठूला साना गरी २०० मेगावाटभन्दा बढी विद्युत् निकाल्न सकिने देखिएको छ । हालै मात्र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले प्रदेश ५ मा रहेका सबै जिल्लामा लघुजलविद्युत्, सौर्य ऊर्जा लिफ्ट खानेपानी, सौर्य ऊर्जा, साना सिँचाइ आयोजना र सुधारिएको चुल्हो क्षेत्रमा काम गर्न प्राविधिक सहयोगका रूपमा ग्रामीण आर्थिक विकाश संघ रेडा पाल्पालाई जिम्मेवारी दिएको छ । प्रदेश पाँचको सबै जिल्लामा लघुजलविद्युत् आयोजनाको अध्ययन गर्छौ र छिटै लघुजलविद्युत् विकाशमा लाग्छौ, रेडाका निर्देशक कार्कीले भने । लघुजलविद्युत्मा सरकारले प्रतिकिलोवाट १ लाख ५० हजारदेखि २ लाखसम्म अनुदान दिने गरेको छ । ५० किलोवाट तलको लघुजलविद्युत् निर्माणका लागि प्रतिकिलोवाट ३ लाखर ५० वाट माथिकामा सवा २ लाख रुपैयाँसम्म प्रतिकिलोवाट खर्च आउँछ । लघुजलविद्युत् र अन्य ठूला जलविद्युत् आयोजना सम्भव भएकाले भविश्यमा अझ बढी मात्रामा विद्युत् यहाँ उत्पादन हुनसक्ने देखिन्छ । तर हालका लागि भने प्रदेश पाँच विद्युत् उत्पादनमा सबैभन्दा कमजोर अवस्थामा छ ।

प्रतिक्रिया दिनुहोस्