सामुदायिक वन अतिक्रमण «

सामुदायिक वन अतिक्रमण

नुवाकोटको विभिन्न सामुदायिक वनको १२७ हेक्टर क्षेत्रफल अतिक्रमणको चपेटामा परेको छ । जिल्ला वन कार्यालयको तथ्यांकअनुसार भूकम्पपछि वन अतिक्रमण हुने दर वृद्धि हुँदै गएको छ ।
जिल्लाको विभिन्न सामुदायिक वनको ६२ स्थानमा ५३४ घरधुरीबाट १२७ हेक्टर वनक्षेत्र अतिक्रमण भएको जिल्ला वन अधिकृत पदमराज नेपालले बताए । “सामुदायिक वन अतिक्रमण गरी आवास तथा टहर निर्माण, विद्यालय स्थापना, खेल मैदान, मन्दिर, सञ्चार सेवा प्रदायक संस्थाको टावर राखिएका छन् ।” नेपालले भने, “हटाउन प्रयास भइरहे पनि अपेक्षाअनुसारको सफलता भने पाउन सकिएको छैन ।”
वन अतिक्रमण गरी बसेकालाई हटाउन जिल्ला वन कार्यालय, जिल्ला प्रशासन कार्यालयदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत बारम्बार ताकेता गरे पनि अवस्था भने उस्तै रहेको सहायक वन अधिकृत राजकुमार यादवले बताए । “वन अतिक्रमण गरी बसेको सूचनाको उजुरी अख्तियारसम्म पुगेपछि हटाउन प्रशासनलाई दिएको आदेशको समेत पालना भएको छैन ।” यादवले भने, “एक स्थानको अतिक्रमण हटाउन नसक्दा त्यसको प्रभावले अर्को स्थानमा बढ्दै गएको छ ।”
वनक्षेत्र अतिक्रमण गरी आवास बनाउनेमा सरकारी कर्मचारी समेतको संलग्नता रहेको उनले बताए । वन अतिक्रमण भएको स्थानमा सरकारी लगानीमा सडक सुविधा, नेपाल विद्युत प्राधिकरणले विद्युत् सेवासमेत उपलबध गराएको छ ।
आर्थिक वर्ष ०६९-७० मा ‘वन अतिक्रमण नियन्त्रण कार्ययोजना’ बनाएर वनक्षेत्र सुरक्षित बनाउने प्रयास अभियानको रुपमा सुरु भए पनि भूकम्पका कारण प्रभावकारी नहुादा अतिक्रमण क्षेत्र वृद्धि हुँदै गएको छ । सामुदायिक वन क्षेत्रबाट सडक विस्तार गर्ने र त्यहाँ रुख ढालेर आम्दानी समेत लिने गरेको पाइएकाले त्यसलाई रोक्न विभिन्न सामुदायिक वनलाई ताकेता गर्दै आएको वन कार्यालयले जनाएको छ ।
वन क्षेत्र अतिक्रमण गर्नेलाई ‘वन ऐन’ अनुसार हट्न पत्राचार गर्ने र नहटेमा बल प्रयोग गरी हटाउन सक्ने कानुनी प्रावधान भए पनि त्यसतर्फ वन कार्यालयको भूमिका कमजोर देखिएको छ ।
-रामहरि न्यौपाने

प्रतिक्रिया दिनुहोस्