कारागार र विमानस्थलमा सेना परिचालन «

कारागार र विमानस्थलमा सेना परिचालन

सरकारले देशभरका कारागार र विमानस्थलको सम्पूर्ण सुरक्षा व्यवस्थाको जिम्मा नेपाली सेनालाई दिएको छ । केन्द्रीय सुरक्षा समिति बैठकको निर्णयपछि मुलुकभरका ७४ वटै कारागार र विमानस्थल सुरक्षामा सेना परिचालन गरिएको हो ।
सैनिक प्रवक्ता सहायकरथी नैनराज दाहालले आगामी प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन सुरक्षासँगै सेनाले कारागार र विमानस्थल तथा महत्वपूर्ण प्रतिष्ठानको सुरक्षा जिम्मा पाएको बताए । सरकारको निर्णयपछि पहिलो चरणमा निर्वाचन हुने जिल्लामा सुरक्षा जिम्मा प्रहरीबाट हस्तान्तरणका क्रममा रहेको सेनाले जनाएको छ । पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लामध्येका दैलेख, रुकुम, जाजारकोट, इलामलगायत जिल्लाका विमानस्थल र कारागारमा सेना खटीसकेको प्रवक्ता दाहालले जानकारी दिए ।
अगामी निर्वाचन सुरक्षाका क्रममा सरकारले ६४ हजार २० सेना खटाउन अनुमति दिइसकेको छ । “देशभरका कारागारको सुरक्षा व्यवस्थापन जिम्मा सरकारले सेनालाई दिएको छ,” सैनिक प्रवक्ता दाहालले भने, “यसबाहेक देशभरका विमानस्थल, महत्वपूर्ण भवन÷प्रतिष्ठान तथा मठमन्दीर सुरक्षामा पनि सेना खटाउने निर्णय भएको छ ।”
त्रिभुवन अन्तर्राष्ट्रिय, विराटनगर, भद्रपुर, पोखरा, भैरहवा, सुर्खेत, वीरेन्द्रनगर, दिपालय, जनकपुर, सिमरातथा अन्य जिल्लाका विमानस्थलको सुरक्षामा पनि सेना खटिसकेको छ । यसअघि विमानस्थलको वाहिरी सुरक्षामा मात्रै सेना खटिने गरेकोमा अब यात्रुका लगेज खानतलासीदेखि भित्रि तहको सुरक्षामा पनि सेना तैनाथ हुनेछ ।
सैनिक मुख्यालयका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रु खानतलासीमा बाहेक सबै स्थानमा सेना परिचालन भइसकेको छ ।
निर्वाचन सुरक्षाका लागि सशस्त्र र नेपाल प्रहरीका ९० प्रतिशत फौज परिचालन गर्ने निर्णयपछि विगतमा प्रहरीले सुरक्षा प्रदान गरिरहेका कार्यालय, प्रतिष्ठान तथा मठमन्दीर सुरक्षामा सेना खटाइएको हो ।
अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी कारागारलाई तीन भागमा वर्गीकरण गरी सुरक्षा व्यवस्थापन त्यही अनुसार मिलाइएको सेनाले जनाएको छ ।

तयारी हालतमा ८ सैनिक हेलिकप्टर
निर्वाचन सुरक्षा रणनीतिअनुसार सेनाले ७ प्रदेश र उपत्यकामा तयारी हालतमा सैनिक हेलिकप्टर उपलव्ध गराएको छ । निर्वाचनका क्रममा सुरक्षाकर्मी, निर्वाचन आयोगका अधिकारी, मतपत्र ढुवानी, गस्ती, आपतकालिन सुरक्षा व्यवस्थापन लगायत प्रयोजनका लागि ७ प्रदेश र उपत्य ८ सैनिक पृतना मुख्यालयमा हेलिकप्टर सहितको रिजर्भ फोर्स उपलव्ध गराइएको छ । निर्वाचनमा ६४ हजार २० सैनिक जनशक्ति खटिएका छन् । सैनिक प्रवक्ता दाहालका अनुसार प्रतिनिधि सभा र प्रदेश सभाका हेक निर्वाचन क्षेत्रमा सेनानी (मेजर)को कमान्डमा ३ सय भन्दा बढी जनशक्ति रहेको अस्थायी बेस क्याम्प स्थापना गरिएको छ ।
सोही बेसक्याम्पको कमान्ड÷कन्ट्रोलमा हरेक मतदान केन्द्रको बाहिरी सुरक्षामा सेना परिचालन गर्ने तयारी छ । प्रवक्ता दाहालका अनुसार मंसिर २१ गतेका लागि तय भएको दोस्रो चरणमा निर्वाचन मतपेटीका र मतपत्र समेत मंगलबारबाटै सम्वन्धित जिल्ला पु¥याउने काम सुरु भएको छ ।
निर्वाचनमा मतपत्र तथा मतपेटीका ढुवानी, मतदानपछि मतपेटी गणनास्थलसम्म पु¥याउने, हिमाली तथा विकट जिल्लामा हवाइसाधन उपलव्ध, निर्वाचनमा तेस्रो घेराकोसुरक्षा व्यवस्थापन, बम डिस्पोजल युनिट परिचालन, परिस्थिति काबुलमा राख्न संयुक्त सुरक्षा फौजको कमान्ड, रिजर्भ फौज तयारी हालत तथा उपलव्धता लगायत जिम्मा सेनाले पाएको छ ।
निर्वाचनमा सेना सहित प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र म्यादी प्रहरी गरी २ लाख ५० हजार भन्दा बढी जनशक्ति परिचालित छन् ।

डिस्पोजल टोली अलर्ट
प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन बिथोल्ने गरी बम विस्फोटका घटना एकपछि अर्को बढ्न थालेपछि त्यसलाई नियन्त्रण गर्न नेपाली सेनाले बम डिस्पोजल टोलीसहितको विशेष फौज सक्रिय बनाएको छ । सैनिक मुख्यालयले देशभरका युनिटलाई परिपत्र गरी विस्फोटमा संलग्नको पहिचान र त्यस्ता गतिविधि नियन्त्रणमा विशेष रणनीति अपनाउन निर्देशन दिएको हो ।
सैनिक मुख्यालयको परिपत्रपछि उपत्यकासहित सबै पृतना मुख्यालयले मातहतका बाहिनी, गण, गुल्म तथा अस्थायी बेसक्याम्प मार्फत अवैध हातहतियार ओसारपसार तथा विस्फोटजन्य गतिविधिमा संलग्नलाई नियन्त्रणमा लिन निर्देशन दिएका छन् । सैनिक प्रवक्ता सहायक रथी नैनराज दाहालले साधनस्रोतसम्पन्न बम डिस्पोजल टोली सहितको फौज निर्वाचन सुरक्षामा तैनाथ भएको बताए ।
२०७० सालको संविधानसभा निर्वाचन सुरक्षामा तैनाथ रहदा सेनाको मध्यपृतना मुख्यालयले मात्रै चितवन, मकवानपुर लगायत बागमती, नारायणी र जनकपुर अञ्चल अन्तर्गतका जिल्लाबाट विस्फोटको तयारी गरिएका करिव ६ सय बम निस्कृय पारेको थियो । पछिल्लो सातामात्रै निर्वाचन बहिस्कार गरेको नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको माओवादीले विभिन्न राजनीतिक दलका चुनावी कार्यक्रम तथा नेतालाई लक्षित गरी बम विस्फोट गराउँदै आएको छ । भोजपुर, संखुवासभा, रोल्पा, रुकुमलगायत स्थानमा भएका विस्फोटमा विप्लव समूहको संलग्नता रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्