वित्तीय साक्षरता सही ढंगले गरौं

वित्तीय पहुँचको अभाव भएका क्षेत्रहरूको बाहुल्य भएको नेपालमा वित्तीय साक्षरता अनिवार्यता हो । नेपाल राष्ट्र बैंकले वित्तीय समावेशिताका लागि विभिन्न कार्यक्रमहरू ल्याएको थियो । समावेशी ढंगले विकास अगाडि बढ्न पहुँचको आवश्यकता हुनैपर्छ । पहुँच बढाउन के गर्ने भन्दा साक्षरता अभियानलाई आक्रामक तरिकाले अगाडि बढाउने भन्ने महसुस भयो । सोहीबमोजिम वित्तीय साक्षरताको अगुवाइ केन्द्रीय बैंकले सुरु गर्यो । विद्यार्थीसँग राष्ट्र बैंक, बैंकिङ गीत–संगीतका अतिरिक्त बैंकिङ प्रवद्र्धित हुने धेरै कार्यक्रम नेपाल राष्ट्र बैंकले आयोजना गर्यो । एकताका बैंकिङ सेवा प्रवद्र्धनका लागि राष्ट्र बैंककै मातहतमा बैंकिङ प्रवद्र्धन समिति थियो । तर, बैंकिङ प्रवद्र्धन समिति नेपाल बैंकर्स संघलाई हस्तान्तरण गरिएपछि पछिल्ला दिनमा यो समितिमार्पmत भइरहेको कार्यबारे संघ स्वयं बेखबर देखिन्छ ।
साक्षरता नितान्त आवश्यक छ, त्यसमा पनि वित्तीय सेवाका लागि । इन्टरनेटको द्रुत जमानामा पनि मानिसहरू आफूलाई केही थाहा नभएको भन्छन् । कृषकलाई ५ प्रतिशतमै कृषि कर्जा दिइने नियम ल्याएको एक वर्ष भयो । कृषकहरूलाई थाहै छैन । जिल्लास्तरमा ब्याज अनुदान कार्यविधिअनुसार गठित समन्वय समितिको संयोजकका हिसाबले कृषि विकास कार्यालयले अधिकांश जिल्लामा एउटा पनि बैठक डाकेको छैन । पशु विकास कार्यालयका कर्मचारीहरूलाई पनि थाहा छैन भनिन्छ । अहिले मूल विषय साक्षरताको चर्चा हो । साक्षरता कस्तो ? केका लागि ? कति दिनसम्म ? कुन तह र स्तरको साक्षरता ? कसले दिने र कसले लिने ? जस्ता कुराको योजनाबद्ध साक्षरता अभियान बनाएर त्यहीअनुरूप कार्यान्वयन गरे मात्र यसको सफलीभूत हुने देखिन्छ ।
बैंकहरूको पुँजी वृद्धि गरियो । त्यही अनुसार व्यवसाय बढाउनु आवश्यक छ भन्ने कुरा महसुस गर्दै त्यसका लागि बढीभन्दा बढी व्यक्तिलाई बैंकिङ क्षेत्रमा आबद्ध गर्न वित्तीय साक्षरतालाई अभियानै चलाउनुपर्छ भन्ने सोचमा केन्द्रीय बैंक पुग्यो । फलस्वरूप बैंकहरूलाई वित्तीय साक्षरता अनिवार्य रूपमा आफ्नो वार्षिक कार्यक्रममा समेट्न भनियो । व्यवहारमा हेर्दा बैंकहरूको वित्तीय साक्षरताका लागि गरिएको कार्यक्रमले उद्देश्यलाई पुष्टि गर्न सकेको छैन । धेरै बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत गर्ने कार्यक्रमहरू साक्षरतामा समायोजन गरेका छन् । धेरैले कर्मचारीहरूलाई दिइनुपर्ने तालिमको साक्षरतासँग जोडेका छन् । यसको कारण तालिम र वृत्ति विकास तथा सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकहरूले वार्षिक रूपमा अनिवार्य रूपले खर्च गर्नुपर्ने नियामकको बाध्यात्मक व्यवस्था हो । त्यो व्यवस्था नभइदिए यो टड्कारोपन देखिने थिएन । तर, यसो भनिरहँदा वित्तीय साक्षरता कार्यक्रम उनीहरूले स्वतःस्फूर्त गर्न सक्दैनन् भन्ने होइन ।
वित्तीय साक्षरताको अभियान र कार्यक्रम केही बैंकहरूले गरेका क्रियाकलापहरू रोचक छन् । काठमाडौंको न्युरोडमा ‘बचत गरौं, बचत गरौं’ भनेर वित्तीय साक्षरता लेखिएको टिसर्ट लगाएर प्लेकार्ड बोकेर फनफनी एक राउन्ड घुम्दा साँच्चै यसले साक्षरताको अन्तर्निहित उद्देश्य छोयो त ? भन्ने कुरा प्रश्न उठ्छ । यस्तो ठाउँमा गएर बचत गरौं भन्ने कुरा खासै सान्दर्भिक हुँदैन । बचत गरेर पछि ठूलो गर्जो टर्छ भन्ने हेक्का त्यहाँ कसलाई थाहा छैन र ? ज्ञान लिने उपयुक्त मानिसहरूको जमातको हेक्का र निक्र्योलबिना गरिएको यस्तो कार्यक्रमले साक्षरताको मूलभूत उद्देश्यलाई उपहास गरेको छ । अर्को उदाहरण पनि छ । महोत्तरी जिल्लाको एउटा गाउँमा एउटा बैंकले तीन दिन लगाएर दुई गाउँका मानिसहरूलाई भेला गरेछ । भेलाको उद्देश्य बैंक आउने र जानकारी दिइने भनियो । कार्यक्रम हुने दिन बैंकका चार–पाँच जना कर्मचारी बैंकले नयाँ मोबाइल एप लञ्च गरिएको जानकारी फिचरसहित दिए । ३ घण्टाभन्दा बढी चलेको सो कार्यक्रममा मोबाइल बैकिङबाट उक्त बैंकले गरेको प्रगतिका बारेमा चर्चा गरियो । पछि कुरा बुझ्दा त्यो कार्यक्रम वित्तीय साक्षरताको थियो । गाउँका मानिसहरू केवल कार्यक्रममा उपस्थित भए र टोलाइरहे । त्यहाँ जुन कुराको चर्चा गरियो त्यसका लागि स्मार्टफोनको आवश्यकता हुन्छ, जुन गाउँमा बस्ने मान्छेहरूसँग कमै हुन्छ । फेरि त्यसका लागि इन्टरनेट चाहियो । एउटा बैंकिङ सेवाको एप चलाउनका लागि कम्तीमा पनि थ्रीजीको स्पिड चाहिन्छ । गाउँमा टुजीभन्दा बढी नेटवर्क छैन भन्दा पनि हुन्छ । टुजी नेटवर्कमा त्यस्तो एप चलाउन कठिन हुन्छ । यस्तो वास्तविकतामाझ उक्त बैंकको वित्तीय साक्षरता कार्यक्रम कत्तिको सफल रह्यो भन्ने अब आफैं बुझौं । कार्यक्रम गर्नका लागि कार्यक्रम गरियो भन्ने कर्मकाण्डी तवरले वित्तीय साक्षरता जब सञ्चालन गरिन्छ, के आशा गर्नु र अब त्यसबाट यसको उद्देश्य पूरा हुन्छ भनेर ।
वित्तीय साक्षरताका लागि व्यावहारिकतामा ढल्नु आवश्यक छ । सिक्ने व्यक्ति, समूह या समाज कस्तो छ । कुन हिसाबले सिक्न चाहन्छ भन्ने कुराको सूक्ष्म अध्ययन हुनुपर्छ । एउटा मास्टरले पनि स्कुलमा पढाउँदा आफ्नो विद्यार्थीको सिक्ने अवस्थाका बारे मनोविज्ञान राख्छ । त्यस्तै, तालिम दिने प्रशिक्षकले पनि आफ्नो अडियन्स पुल कस्तो हो ? कुन उमेरको समूह हो, कुन संस्था या ठाउँबाट आएको हो, त्यसअनुसार तालिम दिने गर्छ । सिद्धान्ततः लाभग्राहीका गुणहरू पहिचान गर्दा सिक्ने र सिकाउने दुवै जमातलाई फाइदा गर्छ । आफ्नो लक्ष्य हासिल गर्न मद्दत गर्छ । तर, कर्मकाण्डी कार्यले पाँडे पजनी मात्रै हुन्छ । वित्तीय साक्षरता केका लागि, किन र कसरी भन्ने कुरातर्फ सैद्धान्तिक तवरले नमोडिइकन गर्नका लागि गरिदिएको हो भन्ने मात्र देखिन्छ । यसबाट लाभ लिन खोज्ने र दिन खोज्ने दुवै ठगिन्छन् ।
वित्तीय साक्षरता नेपालमा एकोहोरो भेडा हिँडाइजस्तो छ । विद्यालय र कलेजका विद्यार्थीहरू मात्रै वित्तीय साक्षरताका योग्य छन् भन्ने लालबुझक्कड विज्ञहरूमा देखिएको छ । के अन्य समूह या क्षेत्र यो शिक्षाका लागि योग्य छैनन् ? प्रश्न स्वाभाविक देखिन्छ । सबैभन्दा वित्तीय साक्षरता त कृषक र उद्यमशील व्यक्तिहरूलाई दिइनुपर्ने देखिन्छ । यतिखेर उत्पादनशील क्षेत्रमा बैंकहरूले लगानी गर्नुपर्ने कुरा सर्वाधिक चर्चित छ । व्यापारघाटाले चुर्लुम्मै डुबाएका बेला यसतर्फ कदम चाल्नु उपयुक्त पनि हो । कृषिक्षेत्र त्यस्तो क्षेत्र हो जहाँ अहिले पनि गैरबैंकिङ जमात बढ्दो छ । यस्तो जमातले अहिलेसम्म बैंकबाट लोन लिएर काम गर्न भ्याएकै छैन । भ्याउनुभन्दा पनि अवसरबाट वञ्चित गराइएको छ । वित्तीय साक्षरताको मुख्य बुझाइ अहिले बैंकहरूलाई निक्षेप तान्नुसँग सम्बन्धित हुन्छ । व्यवसाय बढाउनभन्दा पनि निक्षेप संकलन गर्नका लागि बैंकिङ ज्ञान दिइएको पाइन्छ । तर, कर्जा प्रवाहको लक्ष्य समात्न कर्जा र असुलीसम्बन्धी ज्ञान र शिक्षा सेवाग्राही ग्राहक र जनतालाई किन दिन सकिन्न ? सबैभन्दा ठूलो प्रश्नवाचक वाक्य यो भएको छ अहिले ।
धेरै मानिसहरूलाई बैंकको ऋणको प्रक्रिया थाहा हुँदैन । कसरी लिने ? कुन कुन कागजात पुराउने ? प्रक्रियामा ढिलाइ कसरी हुन्छ ? कति पक्ष कर्जा प्रक्रियामा संलग्न हुन्छन् ? कर्जा बेलैमा नतिर्दा के हुन्छ ? कर्जा नोक्सानी व्यवस्था कायम बैंकले किन गर्नुपर्छ ? यसको असर ग्राहकमा कसरी पर्छ ? राष्ट्र बैंकको नियम के छ ? लिलाम कसरी हुन्छ भन्ने जस्ता तमाम प्रश्नको जवाफसहितको साक्षरता जनतासम्म कहिलेसम्म पुराउने ? यस्तो साक्षरता कहिलेसम्म आउँछ, व्यवहारमा भन्ने कुरा अहिले महत्वपूर्ण छ । बैंकहरूले प्रवाह गर्नुपर्ने वित्तीय साक्षरतासम्बन्धी सन्देश यस्तो महŒवपूर्ण छ अहिले ।
नेपालमा कलेज वा विश्वविद्यालयबाट पास आउट भएपछि जाने ठाउँ मुख्यतः तीनवटा छन् । पहिलो नोकरी बजार जहाँ हरेक वर्ष ५ लाख नेपाली होमिन्छन् । दोस्रो वैदेशिक रोजगारी, जुन नेपालीका लागि नियति भइसकेको छ । तेस्रो, उद्यमशीलता अर्थात् आफंै केही गरेर खाऊँ न भन्ने । यो तेस्रो अहिलेको समयको माग हो । देशले चाहेको हो । अर्थतन्त्रलाई साँच्चिकै त्राण दिने हो भने उद्यमशीलतालाई बढावा दिने त्यो हरेक कदम चाल्न जरुरी छ, जसले नेपालको उत्पादनको आधारलाई बढाउन सक्छ । सरकारले पनि उद्यमशीलतालाई बढावा दिन बजेटमा अनुदान र कर सहुलियतका कार्यक्रमहरू राखेको छ । तर, त्यो सबैलाई थाहा छैन । उद्यमशीलताले रोजगारी सिर्जना गर्नेदेखि लिएर उत्पादनको आधार बढाई व्यापारघाटा कम गर्ने, व्यक्ति र समाजको सामाजिक र आर्थिक रूपान्तरण गराउँछ । सरकारले ल्याएको ‘एक घर एक स्वरोजगार’ कार्यक्रम प्रशंसनीय छ, तर कार्यान्वयन वैज्ञानिक ढंगले हुनुपर्यो । त्यसका लागि उपयुक्त समयमा ज्ञान आदानप्रदान र लाभान्वित हुने वर्गलाई शिक्षा दिन जरुरी छ । जानकारी नै नभए कसरी कार्यक्रम सफल होला !
(नेपाल राष्ट्र बैंकमा कार्यरत गिरीका यी विचार निजी हुन् ।)