उद्यमशीलता र रोजगारीका लागि लघुवित्त

जागिरे मानसिकताबाट ग्रस्त हाम्रो समाजमा उद्यमशीलता संस्कृति मौलाउन सकेको छैन । शारीरिक श्रम गर्न सक्ने युवाहरू खाडी राष्ट्रमा र बौद्घिक युवाहरू युरोप, अमेरिका, अस्ट्रेलिया, क्यानडाजस्ता विकसित देशहरूमा रोजगारीको खोजीमा भौंतारिरहेका छन् । लाखौं रुपैयाँ ऋण लिएर लहलहैमा विदेश जान उत्सुक युवाहरू स्वदेशमै केही उद्यम-व्यवसाय गर्न अग्रसर हुँदैनन् । बर्सेनि युवा जनशक्तिको विदेश पलायनलाई रोक्नका लागि लघुवित्तको माध्यमद्वारा लघुउद्यम-व्यवसायप्रति युवाहरूको आकर्षण वृद्घि गर्नु जरुरी छ । उद्यमशीलतामा आधारित अर्थतन्त्रले मुलुकलाई आर्थिक समृद्धिको मार्गमा डोराउँछ । नेपालको अर्थतन्त्रलाई दिगो एवं सबल बनाउनका लागि रेमिट्यान्स तथा वैदेशिक रोजगारीको परनिर्भरतालाई क्रमशः घटाई आत्मनिर्भर बनाउन कृषि, उद्योग, पर्यटन, सेवामूलक आदि क्षेत्रहरूमा उद्यमशीलता एवं रोजगारी सिर्जना गर्न लघुवित्त सेवा प्रभावकारी औजार बन्न सक्छ ।
अधिकांश शिक्षित युवामा पढेपछि जागिर नै खानुपर्छ भन्ने मानसिकताले एकातिर शैक्षिक बेरोजगारी बढ्दै छ भने अर्कातर्फ उद्यमशीलताको संस्कृति मौलाउन सकेको छैन । कृषि शिक्षा पढेका युवाहरू जागिर खोज्दै हिँड्नु भन्दा आफूले जानेको ज्ञान र सीपलाई व्यवहारमा उतार्ने गरी व्यवसायिक रूपमा खेतीपाती तथा पशुपालन कार्यमा लागेर रोजगारीका अवसरहरू सिर्जना गर्न अग्रसर हुनु जरुरी छ । यसैगरी इन्जिनियरिङ शिक्षा प्राप्त गरेका युवा जनशक्ति मुलुकको पूर्वाधार (सडक, पुल, जलविद्युत्, सिँचाइ, भवन आदि) निर्माण अभियानमा जुट्न जरुरी छ । वास्तवमा हामीकहाँ आफैं स्वरोजगार हुने वा उद्यमशील बन्ने चिन्तनमा निकै कमी छ । उद्यमशीलताले आफूलाई मात्र रोजगार नबनाई अन्य मानिसहरूलाई समेत रोजगारीका अवसरहरू प्रदान गरेर मुलुकको समग्र आर्थिक उन्नतिमा टेवा पुराउँछ ।
हामीकहाँ उद्यमशीलताको संस्कार छैन । चर्काे ब्याजमा लाखौं रुपैयाँ ऋण लिएर लह–लहैमा विदेश जान उत्सुक युवाहरू स्वदेशमै केही उद्यम-व्यवसाय गर्न अग्रसर हुदैनन् । जागिरको खोजीमा भौंतारिने प्रवृत्ति र मुलुकभित्र पर्याप्त रोजगारीको अभावले लाखौ युवा जनशक्ति वैदेशिक रोजगारीमा जान बाध्य छन् । हरेक दिन लगभग १५ सय युवा वैदेशिक रोजगारीको खोजीमा बाहिरिएको अनुमान छ । बर्सेनि युवा जनशक्तिको विदेश पलायनले कृषिक्षेत्रमा परेको नकारात्मक प्रभावका कारण सहरीकरण, उर्वर जग्गाको खण्डीकरण, घडेरीकरण र जग्गा बाँझो राख्ने प्रवृत्ति बढ्दै गइरहेको छ । यसलाई निरुत्साहित गर्नु जरुरी छ । देशमा दिनानुदिन बढ्दै गएको बेरोजगारी समस्या समाधान गर्नका लागि लघुवित्त सेवाको माध्यमद्वारा लघुउद्यम-व्यवसायप्रति युवाहरूको आकर्षणमा वृद्घि गरी पर्याप्त रोजगारीका अवसर सृर्जना गर्न सकिन्छ । उद्यमशीलतामा आधारित अर्थतन्त्रले मुलुकलाई आर्थिक समृद्धिको मार्गमा डोराउँछ । नेपालको अर्थतन्त्रलाई दिगो एवं सबल बनाउनका लागि रेमिट्यान्स तथा वैदेशिक रोजगारीको परनिर्भरतालाई क्रमशः घटाई आत्मनिर्भर बनाउन कृषि, उद्योग, पर्यटन एवं सेवामूलक क्षेत्रहरूको विकास तथा विस्तार गर्नु जरुरी छ ।
लघुवित्तले बिनाधितो लघुकर्जा प्रदान गर्दै न्यून आय भएका मानिसहरूलाई व्यावसायिक तथा उत्पादनशील क्षेत्रहरू लगानी गर्न उत्प्रेरित गर्दै उद्यमशीलता संस्कृतिको विकास गर्न र रोजगारीका अवसरहरू सिर्जना गर्न सहयोग पुराउँछ । लघुवित्तले न्यून आय भएका मानिसहरूलाई समूहमा संगठित गर्दै उनीहरूलाई व्यावसायिक योजना तर्जुमा गर्न र वित्तीय एवं गैरवित्तीय सेवाहरूको माध्यमद्वारा जीवनस्तर उकास्न सहयोग पुराउँछ । लघुवित्तले विशेष गरेर उद्यमशीलतामार्फत कमजोर आय भएका मानिसहरूको जीवनस्तरमा सुधार, स्वास्थ्य, शिक्षा, पेसागत स्तर, महिला सशक्तीकरण आदिमा सकारात्मक परिवर्तन ल्याएको तथ्य विभिन्न अध्ययन–अनुसन्धानले पुष्टि गरेको छ । अतः नेपालजस्ता विकासोन्मुख राष्ट्रहरूमा विशेष गरेर रोजगारी सिर्जना गर्न र उद्यमशीलताको भावना विकास गर्न लघुवित्तको भूमिका महत्वपूर्ण रहन्छ ।
बैंक, वित्तीय संस्था र सहकारीमार्फत सहुलियत ब्याजदरमा शिक्षित एवं अशिक्षित युवाहरूलाई सहज रूपमा ऋण उपलब्ध गराएर तालिम वा सीपका माध्यमद्वारा उनीहरूलाई स्वदेशमा उद्यम वा व्यवसायका लागि आवश्यक वातावरण सिर्जना गर्न सके वैदेशिक रोजगारीप्रतिको निर्भरतामा कमी ल्याउन सकिन्छ । लघुवित्तले विशेष गरेर महिलावर्गलाई मात्र समेटेको हँुदा वैदेसिक रोजगारीमा जाने सबै युवालाई स्वदेशमै उद्यम वा व्यवसाय सञ्चालन गर्न वित्तीय एवं गैरवित्तीय सेवाहरू प्रदान गर्ने भएकाले उनीहरूमा वैदेशिक रोजगारीप्रतिको मोहलाई निरुत्साहित गर्नु जरुरी छ । आर्थिक वृद्घिका प्रबल सम्भावना रहेका क्षेत्रहरूको पहिचान गरी उत्पादनशील क्षेत्रमा वित्तीय क्षेत्रको लगानी केन्द्रित गरी उच्च आर्थिक वृद्घि हासिल गर्न सकिन्छ । कृषिक्षेत्रलाई व्यवसायीकरण एवं आधुनिकीकरण गर्न, पर्यटन क्षेत्रको विस्तार गर्न, युवा–जनशक्तिको पलायन रोक्न र रेमिट्यान्समुखी अर्थतन्त्रको परनिर्भरतामा कमी ल्याई स्वदेशमै रोजगारीका अवसरहरू सिर्जना गर्नका लागि उद्यमशीलताको संस्कृतिको विकास एवं प्रवद्र्धन गर्न सके मात्र मुलुकलाई समृद्घ राष्ट्रमा रुपान्तरण गर्न सकिनेछ ।
वित्तीय सेवाको पहुँच सबै वर्ग र समुदायका मानिसहरूसम्म पुराउनका लागि समावेशी वित्तीय व्यवस्थाको खाँचो पर्छ । यसका लागि वित्तीय साक्षरता, नवीनतम प्रविधिमा आधारित वित्तीय उपकरणलगायत वित्तीय पहँुच विस्तार कार्यक्रमलाई प्राथमिकतामा राख्दै ग्रामीण क्षेत्रसम्म लघुवित्तको सञ्जाललाई विस्तार गर्न जरुरी देखिन्छ । राज्यको मूलधारबाट पछाडि परेका वर्ग वा समुदायका मानिसहरूलाई वित्तीय सेवा उपभोग गर्ने वातावरण सिर्जना गरेर उनीहरूमा रहेका सम्भावित क्षमता एवं अवसरहरूको अधिकतम उपयोग गर्नका लागि वित्तीय समावेशीकरण अभियानमा लघुवित्त सेवा प्रभावकारी मानिन्छ । गरिबीको रेखामुनि रहेका विपन्न तथा सीमान्तकृत वर्गका मानिसहरूलाई वित्तीय तथा गैरवित्तीय सेवा प्रदान गरेर सामाजिक–आर्थिक रूपान्तरण गर्दै मुलुकलाई आर्थिक रूपले समृद्धि र समुन्नतिको मार्गमा अगाडि बढाउन लघुवित्त सेवालाई कोसेढुंगाका रूपमा लिन सकिन्छ ।
लघुवित्त संस्थाहरू पछिल्लो चरणमा नाफामुखी व्यवसायका रूपमा अगाडि बढेको हुनाले लघुवित्तका कार्यक्रमहरूलाई ग्रामीणमुखी र सेवामुखी बनाउन जरुरी छ । आर्थिक रूपले विपन्न-न्यून आय भएका सीमान्तकृत वर्गका मानिसलाई लक्षित गरेर गरिबी घटाउन, रोजगारी सिर्जना गर्न तथा वित्तीय सेवाको पहुँच विस्तार गर्न लघुवित्तका सेवाहरू केन्द्रित हुनुपर्नेमा आफ्नो जिम्मेवारी र दायित्वबाट पछि हटेको आरोप लाग्ने गरेको छ । योबाहेक कर्जामा दोहोरोपना र अस्वस्थ प्रतिस्पर्धा बढ्दै गएको, कर्जामा उच्च ब्याजदर, ग्रामीण क्षेत्रसम्म वित्तीय सेवाहरू पुग्न नसक्नु, व्यावसायिक-सीपमूलक तालिमको अभाव, लघु उद्यम-व्यवसाय स्थापना गर्ने कार्यमा पर्याप्त प्रोत्साहनको कमी, गरिब-सीमान्तकृत वर्गका मानिसहरूसम्म सेवा पुग्न नसक्नु, वित्तीय शिक्षाबारे चासो नदिनु, प्रभावकारी नियमनको अभाव आदिजस्ता समस्यालाई समाधान गर्न सके लघुवित्त सेवा अझ प्रभावकारी बनाउन सकिन्छ ।
राज्यले एउटा व्यक्तिलाई श्रमयोग्य वा दक्ष जनशक्तिका रूपमा परिणत गर्नका लागि पालन–पोषणदेखि लिएर शिक्षा–दीक्षाका कार्यमा थुप्रै लगानी गर्नुपर्छ । यस्तो जनशक्तिलाई बिनालगानी अर्को मुलुकले उपयोग गरेर तीव्र रूपमा आर्थिक समृिद्घ हासिल गरिरहेका छन् । राष्ट्रको विकास एवं निर्माण अभियानमा यस्ता दक्ष जनशक्तिको उपयोग गर्न सके मात्र दिगो आर्थिक विकासको लक्ष्य हासिल गर्न सकिन्छ । मुलुकभित्र रोजगारीका अवसरहरू नपाएर लाखांै युवा जनशक्ति पलायन भइरहँदा पनि राज्यले यसबारे खासै चासो लिएको देखिँदैन । वैदेशिक रोजगारी र रेमिट्यान्समाथि अडिएको नेपालको अर्थतन्त्रलाई आत्मनिर्भर बनाउनु जरुरी छ । अतः मुलुकमा उद्यमशीलता संस्कृतिको प्रवद्र्घन गरी स्वदेशमै पर्याप्त रोजगारीका अवसर सिर्जना गर्न र राज्यलाई आत्मनिर्भर एवं समुन्नत अर्थतन्त्रमा रूपान्तरण गर्नका लागि लघुवित्त सेवा प्रभावकारी मानिन्छ ।
(डा. ढुंगाना लघुवित्त र वित्तीय समावेशीकरण विषयका विज्ञ हुन् ।)