पोखरी संरक्षणमा स्थानीय «

पोखरी संरक्षणमा स्थानीय

तनहुँको व्यास नगरपालिका–१४, रुम्सीका बासिन्दाले करिब तीन सय वर्ष पुरानो पानी पोखरीको संरक्षण थालेका छन् । वन्यजन्तु र चरिचरण गर्ने घरपालुवा चौपायालाई पानीको अभाव हुन थालेको र परापूर्वकालमा निर्माण गरिएको पोखरी संरक्षणको अभावमा जीर्ण हुँदै गएपछि पुराना पोखरीको संरक्षण अभियान सुरु गरिएको हो ।
पुराना पोखरी संरक्षणका लागि रुम्सीवासीलाई हरियो वन कार्यक्रमअन्तर्गत गैरसरकारी संस्था समन्वय समिति तनहुले केही आर्थिक सहयोग गरेको छ । गैसस समन्वय समितिले रुम्सीको चारवटा पुराना पोखरीको सरसफाइ कार्यक्रमका लागि ४० हजार रुपैयाँ बजेट उपलब्ध गराएको छ । उक्त रकमबाट पुराना पोखरीको सफाइ साथै एउटा नयाँ पोखरी पनि निर्माण गर्ने रुम्सी सामुदायिक वन उपभोक्ता समितिकी अध्यक्ष एवं व्यास नपाकी कार्यपालिका सदस्य नरिमाया रानाले बताइन् । पानीको अभावमा वन्यजन्तुलाई पनि समस्या भएको र जंगलमा चराउन लैजाने घर पालुवा जनावरलाई पनि निकै समस्या भएको हुँदा पोखरी संरक्षणको लागि आफूहरूले पहल गरेको उनले बताइन् ।
रुम्सीकै शिवशक्ति आमा समूहले पुराना पोखरीको संरक्षणको पहल गरेको समयमा गैसस समन्वय समितिले नै हरियो वन कार्यक्रमअन्तर्गत पुराना पानी पोखरी संरक्षण कार्यक्रम आफ्नो गाउँमा ल्याएपछि आफूहरूलाई निकै सजिलो भएको उनले बताइन् । वर्षाको समयमा पर्ने आकाशे पानीले उक्त पोखरी भरिने र हिउँदको समयभरि वन्यजन्तु र घरपालुवा चौपायालाई पानी उपभोग गर्न पुग्ने सामुदायिक वनका सचिव ज्ञानबहादुर थापाले बताए । पोखरीमा हिउँदभरि पानी राखी राख्न पोखरीको वरपर नयाँ बिरुवा लगाउने पनि उनले बताए ।
पोखरीमा पानी भरिँदा जंगल पनि चिस्यान हुने र त्यसले पानीका अन्य मुहानबाट पानी निरन्तर निस्कन सहयोग पग्ने सामुदायिक वनका पूर्वअध्यक्ष चन्द्रबहादुर आलेले बताए ।
पछिल्लो समयमा गाउँमा जनशक्तिको अभाव हुँदा पशुपालन गर्ने संख्यामा कमी भएका कारण सयौं वर्ष पुराना पोखरीको संरक्षण हुन नसकेको अध्यक्ष रानाले बताइन् । अहिले स्थानीयले वनको संरक्षण गर्दा वनमा वन्यजन्तुको संख्या पनि बढ्न थालेको हुँदा उनीहरूका लागि पनि पानी आवश्यकता परेको उनले बताइन् ।
उक्त वनमा चितुवा, मृग, स्याल र घोरल जस्ता वन्यजन्तु रहने सचिव ज्ञानबहादुर थापाले बताए । चारवटा पुराना पोखरी संरक्षणको लागि गैसस समन्वय समितिले ४० हजार रुपैयाँ उपलब्ध गराए पनि स्थानीय बासिन्दा सबै मिलेर पोखरी संरक्षणको काम गरिएको गाउँलेको भनाइ छ । कुनै ठाउँमा उक्त १० हजारले काम सम्पन्न हुन नसके पनि स्थानीयको श्रमदानसमेत उक्त काममा प्रयोग गरिएको अध्यक्ष रानाले बताइन् ।
गैसस समन्वय समिति तनहुका अध्यक्ष प्रतापसिंह गुरुङले हरियो वन कार्यक्रमअन्तर्गत सेती नदी जलाधार क्षेत्रमा पोखरीको सानो भूपरिधि क्षेत्र निर्माण गर्ने उद्देश्यले पुराना पोखरी सफाइ र नयाँ पोखरीको निर्माण गरिएको बताए । पोखरी भूपरिधि क्षेत्र देवघाट, व्यास नपा, म्याग्दे र रिसिङ गाउँपालिकाको सेती नदी किनारको क्षेत्रमा निर्माण हुनेछ ।
उनले यो कार्यक्रमअन्तर्गत ५० वटा पुराना पोखरी संरक्षण र ५ वटा नयाँ पोखरी निर्माण गरिने बताए । एउटा पुरानो पोखरी सफाइका लागि स्थान हेरेर १० देखि २५ हजार र नयाँ पोखरी निर्माणको लागि ५० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको अध्यक्ष गुरुङले बताए । यो कार्यक्रमअन्तर्गत पोखरीको सफाइसँगै पोखरी वरपर वृक्षारोपण, संरक्षणको बोर्ड राख्ने र अन्य वैकल्पिक उपायको खोजी गर्ने पनि रहेको गुरुङले बताए ।
कृष्ण न्यौपाने

 

प्रतिक्रिया दिनुहोस्