करोडौंको काठ कुहियो «

करोडौंको काठ कुहियो

इलामको दक्षिणी सेक्टर वन कार्यालयमा पुग्दा कुहिएका काठ, पुराना साइकल र सवारी साधनको कवाडी खानाजस्तै लाग्छ । तस्करीमा प्रयोग भएका सबै सामग्रीको मुद्दा अन्तिम टुँगोेमा नपुग्दा करोडौंको सम्पत्ति कामै नलाग्ने भएको हो ।
आठ वर्षदेखिको दर्जनौ मुद्दा टुंगो नलागेकाले वन कार्यालयको परिसर काठ र सवारी साधनले भरिएको दक्षिणी सेक्टर वन कार्यालय सुखानीका सहायक वन अधिकृत हरिनारायण मण्डलले बताए । जिल्लाको चुरे क्षेत्रका सामुदायिक वनबाट तस्करी भएको काठ वनका कर्मचारी र सुरक्षाकर्मीको सक्रियतामा पक्राउ हुने गरेको छ । पक्राउ भएको काठ र काठ तस्करीमा प्रयोग भएका सवारी बरामद गरेर वन कार्यालयमा राख्ने गरिएको छ । सुखानी र चलाचुलीस्थित वन कार्यालयमा सबैभन्दा बढी काठ थुपारिएको छ ।
२०६८ सालयता कार्यालयमा मुद्दा चलेको १३ हजार २८४ क्युफिट सालको चिरान काठ कुहिएर काम नलाग्ने अवस्थामा पुगेको छ । यस्तै जिल्ला अदालतमा मुद्दा चलेको ६६ क्युफिट अन्य प्रजातिको गोलिया पनि कार्यालय परिसरमै कुहिँदै आएको छ । कार्यालयको तथ्यांकअनुसार ६ हजार ९३ क्युफिट सालको चिरान र ५९९ क्युफिट सालको गोलिया काठ कुहिने अवस्थामा छ । यस्तै अन्य प्रजातिका ३ हजार १२९ क्युफिट काठ सड्न थालेको छ ।
वन ऐन २०४९ अनुसार १० हजार रुपैयाँ बिगो बराबरको काठ मुद्दा जिल्ला वन कार्यालय र १० हजार बिगोभन्दा माथिको मुद्दालाई जिल्ला अदालतमा पेस गरिन्छ । तर, मुद्दा टुंगो लाग्न नसकेको अवस्थामा वन कार्यालयमा राखिएको काठ संरक्षण गर्न नसक्दा कुहिएर खेर गइरहेका छन् । मुद्दातर्फका आठवटा ट्रयाक्टर, ५१ वटा साइकल, २ वटा पिकअप भ्यान, २ वटा बस र ३ वटा मोटरसाइकल जीर्ण बन्दै गएको छ । त्यस्तै बेवारिसे २५४ वटा साइकल तथा एकवटा मोटरसाइकल र ट्रयाक्टर जीर्ण बनेको छ ।

प्रतिक्रिया दिनुहोस्