Logo

वैज्ञानिक वन व्यवस्थापन सुरु

दोलखामा पहिलो पटक वैज्ञानिक वन व्यवस्थापन खोरथली सामुदायिक वनबाट हुने भएको छ । खोरथली सामुदायिक वन समूहले वैज्ञानिक वन व्यवस्थापन गर्न अन्तिम तयारीमा पुगेको छ । वैज्ञानिक वन व्यवस्थापनका लागि रुख गणना गरी नम्बरसमेत टाँस गरेको छ ।
खोरथली सामुदायिक वन उपभोक्ता समूहले चरिकोटमा एक अन्तक्र्रिया कार्यक्रम गरी वैज्ञानिक वन व्यवस्थापनको लागि अन्तिम चरणमा पुगेको जानकारी दिएको छ । कुल वन क्षेत्रलाई १० भागमा विभाजिन गरी हरेक वर्ष एक एक खण्ड रुख कटान गर्ने भएको छ । वनलाई दिगो तथा वैज्ञानिक वन व्यवस्थापनका लागि समूहले आफ्नो साधारणसभाबाट समेत पास गरिसकेको छ ।
प्रारम्भिक चरणमा जिल्ला वन कार्यालय दोलखाले दिगो वैज्ञानिक व्यवस्थापनका लागि केही वनलाई छनोट गरिसकेको छ भने अन्य वन छनोट प्रक्रियामा छन् । जिल्ला वन अधिकृत गोविन्द दाहालले वनलाई हरियाली बनाउनका लागि जिल्लाव्यापी रूपमा वैज्ञानिक वन व्यवस्थापन अभियान सुरु गर्ने तयारी भइरहेको जानकारी दिए । पहिलो चरणमा सदरमुकामनजिक पनि भएकाले खोरथलीबाटै यसको सुरुवात गर्न लागेको बताए ।
“हाम्रा वनका अधिकांश रुख अब काठकै रूपमा पनि उपयोग गर्न नमिल्ने अवस्थामा पुगेका छन्, त्यसको जैविक र पर्यावरणीय महत्व त झनै घट्दो छ,” दाहालले भने, “वनलाई यथास्थितिमा राख्ने हो भने वनको खास अर्थ नहुने भएकाले दिगो वैज्ञानिक व्यवस्थापन गर्न लागिको हो ।” वैज्ञानिक वन व्यवस्थापन २०७१ को कार्यविधिका आधारमा यसको काम सुरु हुने बताए ।
“बारीमा बाली पाकेपछि निकालिन्छ, बारीमै छाडे नष्ट हुन्छ,” उनले भने, “वन पनि त्यस्तै हो, निश्चित समय बढ्ने हो, त्यसलाई त्यही बेला प्रयोग गरे सदुपयोग हुन्छ तर ननिकाले खेर जान्छ ।” वन संरक्षणमात्र गर्नुपर्छ भन्ने मान्यता छ, अब सदुपयोग पनि गर्नका लागेको बताए । वैज्ञानिक वन व्यवस्थापन गर्न कुनै पनि कानुन बाधक नभएको बताए ।
खोरथली सामुदायिक वनका अध्यक्ष नारायण थापाका अनुसार उक्त वनको १७८ हेक्टर क्षेत्रफलमध्ये १४० हेक्टर क्षेत्रफलमा वैज्ञानिक वन व्यवस्थापन गर्न लागिएको जानकारी दिए । ३.५ हेक्टर क्षेत्रफलको एक क्लस्टरका दरले ४० वर्षमा उक्त वन व्यवस्थापन गर्ने कार्ययोजना बनेको छ । कार्ययोजनामा वार्षिक १४ सयसम्म रुख काट्ने र निश्चित रुखलाई बीउका रूपमा राखिने बताए । रुख काटिएका स्थानमा बिरुवा नउम्रे नयाँ बिरुवा पनि रोप्ने योजना भएको बताए ।
संरक्षणमा मात्रै केन्द्रित हुँदा ५०सौं वर्ष पुराना रुख धोद्रा हुने, कुहिएर खेर जाने, नयाँ विरुवा उत्पादनमा बाधक हुने, अक्सिजन दिन नसक्ने, भूक्षय पनि रोक्न नसक्ने आदि कारण नयाँ व्यवस्थापनसहित उपयोगमा जोड दिनुपरेको वन अधिकारीको दाबी छ ।
वैज्ञानिक वन व्यवस्थापनले काठको परनिर्भरता हटाएर निर्यात प्रवद्र्धन गर्ने, मुलुकको गार्हस्थ उत्पादनमा टेवा पु¥याउने, रोजगारीको अवसर सिर्जना गर्ने वन क्षेत्रमा कार्यरत अधिकारीहरूको भनाइ छ । खोरथली सामुदायिक वन समूहका सचिव श्याम गौतमले आफूहरूले सुरु गर्न लागेको वैज्ञानिक वन व्यवस्थापन उच्च पहाडी क्षेत्रकै पहिलो भएको दाबी गरे । तराईका जिल्लामा विगतदेखि नै सुरु भए तापनि पहाडी क्षेत्रमा हुने वन व्यवस्थापन नयाँ भएकाले सुरुमा केही चुनौती समेत आउन सक्ने बताए ।
दोलखा जिल्ला समन्वय समितिका प्रमुख डबल पाण्डेले वनलाई पर्यटन प्रवद्र्धन र आर्थिक विकासका लागि पनि प्रयोग गर्नुपर्ने बताए । भीमेश्वरबाट सुरु भएको वैज्ञानिक वन व्यवस्थापन अब जिल्लाका ९ वटै स्थानीय तहमा लागू गर्नुपर्ने र स्थानीय निकायको आय स्रोतको माध्यम पनि बनाउनु पर्ने बताए ।
वैज्ञानिक वन व्यवस्थापनमा ठूलो परिमाणमा काठ कटान र बिक्रीवितरण गर्नुपर्ने भएका कारण सुशासन र पारदर्शितामा भने गम्भीर हुनुपर्ने सरोकारवालाले सुझाव दिएका छन् । नेपालको तराईका कपिलवस्तु, नवलपरासी, चितवन, रुपन्देहीलगायतका धेरै वनमा वैज्ञानिक वन व्यवस्थापन सुरु भइसकेको छ ।
दिलबहादुर केसी

 

प्रतिक्रिया दिनुहोस्