विद्यार्थीहरू व्यावसायिक अदुवा खेतीमा «

विद्यार्थीहरू व्यावसायिक अदुवा खेतीमा

पाल्पाको बगनासकाली गाउँपालिका–८ बराङदीका कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीले व्यावसायिक अदुवा खेती सुरु गरेका छन् । उनीहरूलाई अध्ययनसँगै व्यवसायी बनाउँदै स्वरोजगार गराउने उद्देश्यले युवा कृषकलाई व्यावसायिक अदुवा खेतीसम्बन्धी तालिमसमेत दिइएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको पहलमा गठन भएको बेद युवा समूहमा आबद्ध विद्यार्थीले सामूहिक अदुवा खेतीका लागि आवश्यक स्थलगत अदुवारोपण तालिम लिएर अदुवा खेती गर्न थालेका हुन् । बगनासकाली गाउँपालिकाको सहयोगमा युवा समूहले ३ रोपनी बारी भाडामा लिई सामूहिक अदुवा खेती गर्न लागेको युवा समूहका अध्यक्ष बरुण बस्यालले बताए ।
कक्षा ११ र १२ मा पढ्ने विद्यार्थीले पनि पढाइका साथमा समुदायमा केही रचनात्मक काम गरेर देखाउन सक्छन् भन्ने उदाहरण पेश गर्न अदुवा खेती गरिएको अध्यक्ष बस्यालले बताए । यसबाट प्राप्त आम्दानीले युवा समूहमार्फत अन्य रचनात्मक कार्यक्रम सञ्चालन गरिने भन्दै उनले स्थानीयतह र युवा समूहले मिलेर गरेको यो कार्य पाल्पा भित्रिने कृषि पर्यटकका लागि पनि आकर्षणको केन्द्र हुने बताए ।
तालिममा बगनासकाली गाउँपालिका वडा नं. ८ का कृषि प्राविधिक नारायण न्यौपानेले अदुवा खेती गर्ने तरिका सिकाएका थिए । कार्यक्रममा इन्सेकका जिल्ला प्रतिनिधि यज्ञमूर्ति तिमिल्सिनाले युवा समूहले गर्न लागेको यस्तो कामले समुदायदायमै राम्रो प्रभाव पार्ने बताए । तालिममा युवा समूहमा आबद्ध २० जना सहभागी थिए ।

 

प्रतिक्रिया दिनुहोस्