सुशासन प्रभावकारी बनाउन गृहमन्त्रीको निर्देशन

गृहमन्त्री रामबहादुर थापाले सुशासन र जनसेवा प्रभावकारी बनाउन चितवनका सरकारी अधिकारीलाई निर्देशन दिएका छन् ।
जिल्ला प्रशासन कार्यालय, चितवनमा सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिसँगको छलफलमा उनले जनताको सेवालाई चुस्त पार्दै भ्रष्टाचारलाई रोक्नतर्फ सबैले सहयोग गर्नुपर्नेमा जोड दिए ।चितवन जिल्ला विभिन्न आपराधिक क्रियाकलापका दृष्टिले ‘ट्रान्जिट प्वाइन्ट’ रहेको भन्दै उनले शान्ति, सुरक्षा, सुव्यवस्था र सेवामा समेत ध्यान दिन कर्मचारी तथा सुरक्षा अधिकारीलाई निर्देशन दिए ।
कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जिल्लाको शान्ति सुरक्षाको अवस्था र रणनीतिबारे गृहमन्त्री थापालाई जानकारी गराएका थिए । यस्तै, माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालले चितवन निकुञ्ज र स्थानीयबीच द्वन्द्व बढ्दै गएको भन्दै समाधानका विषयमा गृहमन्त्री थापाको ध्यानाकर्षण गराए । अन्य विषयगत कार्यालयका प्रमुखले आआफ्नो कार्यालयका बारेमा गृहमन्त्रीलाई जानकारी गराएका थिए ।
सो क्रममा गृहमन्त्री थापाले नीतिगत रुपमा सुधार गर्नुपर्ने विषयमा आफ्नोतर्फबाट सहयोग रहने प्रतिबद्धतासमेत जनाए । जिल्ला सुरक्षा समितिको बैठकमा सहभागी हुँदै गृहमन्त्री थापाले जिल्लाको सुरक्षा अवस्थाबारे जानकारी लिए ।