ग्यास बुलेटको अड्को खुल्ने अपेक्षा «

ग्यास बुलेटको अड्को खुल्ने अपेक्षा

प्रधानमन्त्री केपी शर्मा ओलीको शुक्रबारदेखि हुने भारत भ्रमणमा लामो समयदेखि रोकिएका नेपाली नम्बरका ग्यास बुलेट फुकुवा गर्ने विषयलाई पनि एजेन्डा बनाइएको छ । दुई वर्षदेखि अल्झिएको विषयलाई एजेन्डा बनेपछि ग्यासमा देखिएको कानुनी अवरोध हट्ने उद्योगीले अपेक्षा राखेका छन् ।
प्रधानमन्त्री ओलीले मंगलबार संसद्मा सम्बोधन गर्दैै नेपाली नम्बर प्लेटका बुलेटमा भारतबाट ग्यास ओसार्न देखिएको समस्या समाधानमा सार्थक पहल गर्ने बताएका थिए । नेपाल एलपी ग्यास उद्योगका निवर्तमान अध्यक्ष शिवप्रसाद घिमिरेले प्रधानमन्त्रीले भारत भ्रमणले लामो समयदेखि रोकिएका ग्यास बुलेट फुकुवा हुनसक्ने अपेक्षा गरिएको बताए । नेपाली नम्बर प्लेटका ७ सय ७५ बुलेट निर्माण गर्नका लागि नेपाल आयल निगमले स्वीकृति दिएको थियो । दुई वटा बुलेट नेपालमा भित्रिसकेपछि सञ्चालन हुन सकेको छैन ।
नेपाली नम्बरका बुलेट सञ्चालन गर्नका लागि भारतको नागपुरमा रहेको एक्स्प्लोसिभ डिपार्टमेन्टबाट ‘बुलेट सुरक्षित छ र ग्यास ढुवानी गर्दा कुनै खतरा हुँदैन’ भन्ने बेहोराको लाइसेन्स चाहिन्छ, । तर भारत सरकारले जुन लाइसेन्स नदिँदा निर्माण भएका ग्यास लामो समयदेखि भारतमै रोकिएका हुन् । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव दुई साता घि विश्व व्यापार संगठनको मन्त्रिस्तरीय बैठकमा भारतमा गएका बेला बुलेट फुकुवा गर्ने विषयमा भारतको पेट्रोलियममन्त्री धर्मेन्द्र प्रधानलाई भेटेर ध्यानाकर्षण गराएका थिए ।
मन्त्री यादवले पनि हालसम्म निर्माण भइसकेका बुलेटको यकिन संख्या व्यवसायीसँग माग्दै बुलेट सञ्चालनको पहल गरिरहेको बताएका थिए । भारत गएका बेला मन्त्री यादवले विदेशमन्त्री सुष्मा स्वराज, उद्योग तथा वाणिज्यमन्त्री सुरेश प्रभु र पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री धर्मेन्द्र प्रधानलाई भेटेर ग्यास बुलेटको समस्या समाधान गर्न भारतपट्टिबाट भएको अवरोध खुलाउन आग्रह गरेका थिए ।
‘एक्स्प्लोसिभ’ प्रमाणीकरण भएपछिमात्र आइओसीका रिफाइनरीमा पेट्रोलियम पदार्थ र एलपिजी ग्यासको लोड दिने कानुनी प्रावधान छ । भारतले यस्तो सर्टिफिकेट नदिँदा तयार भएका बुलेटले ग्यास ढुवानी गर्न नपाइ भारतमै रोकिएका हुन् । नेपाल एलपी ग्यास उद्योग संघका अनुसार अहिले विभिन्न ५३ वटा ग्यास उद्योगले ७ सय ७५ ग्यास बुलेट खरिद गर्न ५ अर्ब ४२ करोड ५० लाख रुपैयाँ खर्च गरिसकेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्