सेयर बजार सतही : श्वेतपत्र «

सेयर बजार सतही : श्वेतपत्र

निरन्तर घटेको सेयर बजारमा मुलुकको आर्थिक अवस्थासम्बन्धी श्वेतपत्र आएपछि सकारात्मक हुने अपेक्षा गरेका लगानीकर्ता उत्साहित हुने अवस्था देखिँदैन । श्वेतपत्रमा अर्थमन्त्रीले सेयर बजारलाई सतही भनेर ‘सम्बोधनका लागिमात्र सम्बोधन’ गरेका छन् ।
सेयर बजारमा बैंक तथा वित्तीय संस्थाको बाहुल्यता रहेको हुनाले पनि सेयर बजार सतही भएको श्वेतपत्रमा उल्लेख छ । यसले सेयर लगानीकर्ताको मनोबल बढाउने भन्दा पनि झन् कमजोर बनाउने देखिन्छ । श्वेतपत्रमा पुँजी बजार सतही रहनको साथै दायरा संकुचन छ । पूँजी बजारमा हाल २०८ कम्पनीहरू सूचीकृत रहे पनि तीमध्ये ७५ प्रतिशत वित्तीय संस्थाहरू रहेका छन् । पूँजी बजारको कुल कारोबारमा वित्तीय संस्थाहरूको अंश ८१ प्रतिशत रहेको श्वेतपत्रमा उल्लेख छ । त्यसैगरी जलविद्युत् क्षेत्रको कारोबारको अंश ५ प्रतिशत, उद्योगको ३ प्रतिशत र होटलको २ प्रतिशतमात्र रहेको उल्लेख गरेको छ । यसले पूँजीबजारमा उत्पादन क्षेत्रका कम्पनीहरूको उपस्थिति न्यून रहेको देखिन्छ । पुँजी बजारमा ‘डेब्ट मार्केट’को विकास हुन सकेको छैन । संस्थागत लगानीकर्ताको न्यूनता र वित्त बजारमा देखिएको तरलता अभावसँगै बढ्दो ब्याजदर तथा धितोपत्रको आपूर्तिका कारण बजार सूचक प्रभावित भएको श्वेतपत्रमा उल्लेख छ । श्वेतपत्रले पुँजी बजार काराबवारमा यथार्थ सूचना सम्प्रेषणको अभाव, पारदर्शिताको कमी तथा लगानीकर्ताहरू र खासगरी साना लगानीकर्ताहरूमा सेयर र लगानीसम्बन्धी ज्ञानको कमीले सेयर मूल्य मापन गर्ने नेप्से सूचकमा उच्चदरको उतारचढाव आउने गरेको उल्लेख छ ।
यस साता नेपाल स्टक एक्सचेन्जमा १८० कम्पनीहरूको कारोबार भएको छ । जसअनुसार २७५२२ कारोबारबाट एक अर्ब ८८ करोड ९९ लाख ७९ हजार रुपैयाँबराबरका ५८ लाख ९५ हजार ३० कित्ता सेयरहरू खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा ९.८५ प्रतिशत बढी हो । गत साता १७३ कम्पनीहरूको कारोबार भएको थियो । जस अनुसार २३८६९ कारोबारबाट एक अर्ब ७२ करोड पाँच लाख २८ हजार रुपैयाँ बराबरका ४६ लाख दुई हजार छ सय ३० कित्ता सेयरहरू खरिद बिक्री भएका थिए । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ५१.७४ अंकले बढेर अन्तिम दिन १२२०.२९ अंकमा पुगेको छ ।
‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ११.२३ अंकले बढेर २६०.८८ अंकमा आइपुगेको छ । यस साता कारोबार रकम (१९ करोड ४४ लाख १० हजार रुपैयाँ) को आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर संख्या (दुई लाख ५६ हजार कित्ता) को आधारमा पनि नेपाल बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार संख्या (२१७० वटा) को आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ ।
यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि चार दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरूको कुनै पनि कारोबार भएन ।

प्रतिक्रिया दिनुहोस्