जुम्लाका किसानलाई हाते ट्र्याक्टर «

जुम्लाका किसानलाई हाते ट्र्याक्टर

यान्त्रिकीकरण र आधुनिकीकरणको अभावले हिमाली क्षेत्रमा लगानीअनुसार उब्जनी हुन छाडेको छ । खनजोतदेखि मलजलसम्मका विभिन्न पक्षमा आवश्यक ज्ञान तथा साधन नहुँदा पनि यहाँको कृषि क्षेत्र लाभदायी बन्न नसकेको हो । बढी बलौटे माटो रहेको हिमाली क्षेत्रमा न त कुनै आधुनिक औजारको प्रयोग हुन्छ न त कृषिका लागि आधुनिक सीप नै छ । सबै पुरानै शैलीले गर्दा रैथाने बालीहरू विस्थापित हुँदै गएको कृषि विज्ञहरू बताउँछन् ।
समय अनुसारको खेतीपाती गर्न आवश्यक ज्ञान आवश्यक पर्ने भए पनि पुरानै प्रविधिले खेतीपाती गर्दा उब्जाउ हुन छाडेको बाली संरक्षण अधिकृत चन्द्रबहादुर बुढाले बताए । उनले सधैं मान्छेकै भरले खेती गर्न खोज्दा सयौं रोपनी जग्गा बाँझै हुने गरेको बताए । “सरोकारवालाले किसानलाई आधुनिकीकरणतर्फ लैजान आवश्यक छ,” उनले भने, “आधुनिक प्रविधिको प्रयोग गर्न सके कर्णालीमा उत्पादन बढाउन सकिन्छ ।”
यसैबीच जुम्लाको पातारासी गाउँपालिकाले कृषि क्षेत्रको समृद्धिका लागि व्यावसायिक किसानलाई आधुनिक हाते ट्र्याक्टर वितरण गरेको छ । पातारासी गाउँपालिका कृषि शाखाले १८ समूहका कृषकलाई ट्र्याक्टर वितरण गरेको कृषि संयोजक लक्षिराम महतले बताए । यसबारे २ सयभन्दा बढी कृषक लाभान्वित भएका छन् । खनजोतमा सहजता ल्याउन, खनजोतकै अभावले बाझो रहेका जग्गा प्रयोगमा ल्याउने सोचका साथ ट्र्याक्टर वितरण गरिएको हो । “इन्धनमार्फत चल्ने आधुनिक ट्र्याक्टरको प्रयोगले उत्पादन बढ्ने अपेक्षा गरिएको छ,” बरिष्ठ कृषि विकास अधिकृत भरतप्रसाद कँडेलले भने ।

बाँझो जग्गामा अब उब्जनी
खनजोतको अभावमा बाँझै रहेको जग्गाबाट अब उब्जनी धेरै हुने किसानको आशा छ । “घर नजिककै खेतबारीमा मात्रै खनजोत गर्ने तर टाढा रहेका जग्गा खेती गर्न छाडिएको अवस्थामा हाते ट्र्याक्टरको प्रयोग भएपछि बाली लगाउन सहयोग पुग्ने अपेक्षा गरेका छौं,” कृषक तारा बोहराले भने ।
पातारासीका १८ वटा समूहलाई लक्षित गरी ४ वटा ट्र्याक्टर वितरण गरिएको हो । ट्र्याक्टर पाएपछि कृषक निकै खुसी भएका छन् । “अब ढुक्क भएर खेतीपाती गर्न पाइने भयो,” अर्का किसान पुष्पा बोहराले भनिन, “कृषिलाई आधुनिकीकरण गर्न सघाउने निकायप्रति हामी आभारी छौं ।”
विभिन्न गाउँका व्यावसायिक कृषकलाई छनौट गरी ट्र्याक्टर वितरण गरिएको गाउँपालिका अध्यक्ष लक्षिमन बोहोराले बताए । उनले ट्र्याक्टरको प्रयोगपछि उत्पादनमा वृद्धि भएका थप सहयोग गर्न गाउँपालिका तयार रहेको जानकारी दिए । गाउँपालिकाले वितरण गरेको ट्र्याक्टरको लागत ३ लाख ६० हजार रुपैयाँ बराबरको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको आर्थिक सहयोग तथा पातारासी गाउँपालिका कृृषि शाखाको समन्वयमा ट्र्याक्टर वितरण गरिएको हो । 

सागर परियार 

प्रतिक्रिया दिनुहोस्