Logo

कालिकोटमा बाढी पहिरोबाट १५ करोड बढीको क्षती

जुम्ला -कालिकोट जिल्लामा बाढी पहिरोबाट हाल सम्मको तथ्यांक अनुसार ३१ जनाको मुत्यु भएको छ । भने करिब १५ करोड भन्दा बढीको भौतिक क्षती भएको छ । साउन पहिलो हप्ता देखि शुक्रबार सम्मको तथ्यांकलाई दिँदा ३१ जनाको मृत्यु भएको र ६ जना बेपत्ता रहेको कालिकोटका डिएसपी श्याम ओलियाले जानकारी दिए ।
उनका अनुसार शुक्रबार मात्रै कालिकोट महाँवै गाँउपालिका–३ नकुमा पहिरो जाँदा दुई परिवारका ६ जनाको घटनास्थलमै मृत्यु भएको छ । महाँवै गाउँपालिका ३ का वडा सदस्य रजबहादुर बिष्टको घर पहिरोले पुरिएको हो । रजबहादुर बिष्टका २ छोरा २ छोरी र दाजु डिलबहादुर बिष्टका २ छोरीको मृत्यु भएको डिएपी ओलियाले बताए ।
मृत्यु हुनेमा रजबहादुर बिष्टका छोरा १३ वर्षीय पुष्प बिष्ट, ११ वर्षीय प्रविण बिष्ट, छोरीहरु १८ वर्षीया सबिना बिष्ट, १५ वर्षीया आशा बिष्ट रहेका छन् । भने, त्यसैगरी रजबहादुरका दाजु डिलबहादुर बिष्टकी छोरी १९ वर्षीया कान्ती बिष्ट र १० वर्षीया रेखा बिष्ट पनि पहिरोमा परी भएको प्रहरीको भनाइ छ ।
साथै शुक्रबार बाहेक अघिल्लो बाढी पहिरोमा परि १९ जानले ज्यान गुमाएको कालिकोट प्रहरीले जनाएको छ । डिएपी श्याल ओलियाले भने,“साउन १४ गते कालिकोटको नरहरीनाथ गाउँपालिकाको ७ बागामा पहिरो जाँदा एकै परिवारका ७ जना सहित नौ जनाको मृत्यु भयो । बाँगाका ६२ वर्षीय गंगे बुढाको घरमा पहिरो आएको थियो । मृत्यु हुनेमा एकै परिवारका सात जनामा गंगेसहित उनकी श्रीमती ६२ वर्षीया नैना बुढा, २४ वर्षीया बुहारी उषा बुढा, १० वर्षीया नातिनी चन्द्रिका बुढा, नातीहरु ७ वर्षीय राम बुढा,१८ वर्षिय विमला बुढा र डेढ वर्षीय चरित्र बुढा रहेका छन् ।”
यस्तै नरहरीनाथ गाउँपालिका ४ गोठीमा पहिरो जाँदा बले बुढाको घर पुरिएको छ । भने, पहिरोले घर पुरिँदा बले बुढा र उनकी श्रीमती मना बुढाको घटनास्थलमै ज्यान गएको थियो । साथै रास्कोट नगरपालिकामा गएको पहिरोमा परी १ जाको ज्यान गएको थियो । कालिकोटका महावै,नरहरीनाथ, सान्नीत्रिवेणी गाउँपालिका, खाडाचक्र, रास्कोट नगरपालिका गरी चार स्थानीयतहका ३१ जनाको मृत्यु भएको हो । भने, रास्कोट नगरपालिका १ को गंगेखहरे खोलामा आएको बाढीले जय बहादुर शाहिको घर बगाएको छ । जय बहादुर शाहि लगायत ६ जना अहिले सम्म बेपत्ता छन्
१५ करोड बढीको क्षती
साउन पहिलो साता देखि भईरहेको अविरल वर्षाका कारण आएकोे बाढि पहिरोले कालिकोटमा ठुलो जनधनको क्षती गरेको छ । अहिले सम्म मानवीय क्षती संगै बाढी पहिरोले कालिकोटमा १५ करोड भन्दा बढीको नोक्सान गरेको जिल्ला प्रहरी कार्यालय कालिकोका सूचना अधिकारी यक्षराज जोसीले बताए ।
उनले भने,“सयौ भेडाबाख्रा, गाईभैसी बगेका छन् । भने निसाना नरहने गरी घर समेत पुरेर बाढीले क्षती गरेको छ । शुक्रबार मात्रै नरहरीनाथ गाउँपालिका १ कोटबाडाको धारीमा पहिरो खस्दा दुई जना घाइते भएका छन् पहिरोले ७० वर्षका नरबहादुर बिष्टको घर पुरिएको छ ।”
डिएसपी ओलियाका अनुसार “शनिवार सम्मको तथ्यांक अनुसार १५ करोडको क्षती भएपनि क्षतीको लगत संकलन जारी रहेकाले अझै बढ्न सक्ने छ ।” अहिले सम्मका घटनामा प्रहरी सम्बन्धीत स्थानीयतहका प्रहरी चौकीका सुरक्षाकर्मी पुगेर उद्धार कार्य गरिरहेका छन् । अझै पनि नरहरीनाथ, महावै गाउँपालिकामा दर्जनौ बस्ती जोखिममा रहेको बस्ती सार्ने विषयमा राज्य मौन रहेको कालिकोटका स्थानीयको गुनासो छ । वर्षा निरन्तर भईरहेकाले अपरजेट हुन सक्ने घटनाको उद्धारका लागि सुरक्षाकर्मी तयारी अबस्थामा रहेको कालिकोट प्रशासनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्