Logo

आरआरएनद्वारा पहिरो पीडितलाई सहयोग

संखुवासभाको सिलिचोङ गाउँपालिका–१ वेसिन्दामा गत असार २७ गते गएको पहिरोबाट विस्थापित घरपरिवारलाई नेपाल ग्रामीण पुनर्निर्माण संस्था आरआरएनले ५० लाखको बराबरको राहत सामग्री उपलब्ध गराएको छ ।
पहिरोबाट विस्थापित भएका १ सय १० घर परिवारलाई साधारण आवास सामग्री–१ सय १३ सेट, किचन सेट (भाडाकुँडा)१ सय १४ सेट, ब्लाङ्केट –२ सय २३ थान, गर्भवती महिला र बालिकाहरूका लागि लत्ताकपडा, महिलाहरूका लागि कपडा, ब्रस, साबुन, टर्चलगायत ७० झोला सामग्री उपलब्ध गराएको छ । ५ वर्षमुनिका बालबालिकाहरूका लागि ५० झोला लत्ताकपडा, ५ देखि १५ बर्ष सम्मका बालबालिकाहरूका लागि ५० झोला लत्ताकपडा र एक सय झोला स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको नेपाल ग्रामिण पुनर्निर्माण संस्था (आरआरएन) का अध्यक्ष हरि तामाङले जानकारी दिए ।
राहत सामग्री वितरण कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय प्रमुख सुमन शाक्यले राहत तथा उद्दारमा सबै क्षेत्रले सकेको सहयोग गरिरहेकोमा खुसी प्रकट गरे । उनले पहिरो पिडीतलाई चाडै पुर्नस्थापनामा गर्नु सबैको दायित्व भएकोमा जोड दिँदै दाताहरूबाट प्राप्त रकम गाउँपालिका मार्फत स्थायी घरबासको ब्यवस्थापनमा खर्च गरिनु उपयुक्त हुने धारणा राखे ।
राहत वितरण कार्यक्रममा खाँदबारी नगरपालिकाका प्रमुख मुरारीप्रसाद खतिवडाले पहिरो पीडितको सहयोगमा हातेमालो गर्न सधैं तयार भएको बताए ।
उनले जिल्लाभित्रका गाउँपालिकामा भएको बिपत्तिमा सहयोग गर्नु सबै स्थानीय निकायको समेत सामूहिक दायित्व भएको भन्दै शिलिचोङ्मा आईपरेको प्राकृतिक बिपत्तिको सामना गर्न सघाउ पु-याउन खाँदबारी नगरपालिकाले ३ लाख रुपैयाँ सहयोग उपलब्ध गराएको जानकारी दिए ।
राहत सामग्री बुझ्दै सिलिचोङ गाउँपालिका अध्यक्ष रामबहादुर कुलुङले राहत स्वरुप प्राप्त सामग्री र दाताबाट संकलन गरिएको रकम पीडितको पुनर्वासका लागि खर्च गरिने जानकारी दिँदै दाताहरूलाई धन्यवाद प्रकट गरे ।
उनले पहिरोमा बेपत्ता भएका ११ जनाको परिवारका लागि विशेष राहत प्याकेज घोषणाको माग गर्दै पहिरोबाट विस्थापितको पुनर्वासको ब्यवस्था मिलाउन प्रदेश र संघीय सरकारसँग समेत अनुरोध गरे ।

 

प्रतिक्रिया दिनुहोस्