तुलसीपुरमा ९५ प्रतिशत योजना सम्पन्न

दाङ-तुलसीपुर उपमहानगरपालिकाले आर्थिक वर्ष ०७६-७७ मा ९५ प्रतिशत योजना सम्पन्न गरेको जनाएको छ ।
विभिन्न खालका ७ सय ३० योजनामा ६ सय ९१ योजना सम्पन्न गरिएको हो । जुन कुल योजनाको करिब ९५ प्रतिशत हुन आउँछ । ३९ योजना यो आर्थिक वर्षमा सम्पन्न हुन सकेनन् । असारमा मात्रै विकास गर्ने अवधारणालाई परिवर्तन गरेर तुलसीपुरले गत आर्थिक वर्षबाट प्राथमिकता निर्धारण गरेर योजना अगाडि वढाएका कारण समयमै योजना सम्पन्न गर्न सकिएको नगर प्रवक्ता सूर्यबहादुर डाँगीले जानकारी दिए । उनले कोरोनाका कारण केही योजनाको रकमान्तरण गर्नुपरे पनि त्यसको संख्या न्यून रहेको जानकारी दिए ।
योजना शाखाका प्रमुख टेकबहादुर खड्काका अनुसार गत आर्थिक वर्षमा ४ सय ५७ वटा वडास्तरीय योजनामा ४ सय ४७ योजना सम्पन्न भएका छन् भने ३८ वटा बहुवर्षीय आयोजनामा ३७ वटा सम्पन्न भइरहेका छन् । निर्वाचन क्षेत्र नम्बर ३ को स्थानीय पूर्वाधार कार्यक्रमअन्तर्गत १० वटा योजनामा सबै योजना सम्पन्न भने क्षेत्र नम्बर ३ को पनि ५ वटा योजनामा सबै योजना सम्पन्न भएका छन् । तुलसीपुर उपमहानगरपालिका दुवै निर्वाचन क्षेत्रअन्तर्गत पर्ने गर्दछ । संघीय सरकारको ससर्त अनुदानअन्तर्गत शिक्षातर्फ १० वटा भवन निर्माणका योजनामा सबै योजना सम्पन्न भएको पनि योजना शाखाले जानकारी दिएको छ । संघीय समपूरक अन्तर्गतको एउटा योजना पनि सम्पन्न भइसकेको छ ।
उपमहानगरपालिकाले सम्पन्न गरेको योजनाहरुमा सिँचाइतर्फ १ सय ३९, खानेपानी तर्फ ६१, भवनका १ सय ९९, अन्य कार्यक्रमतर्फ १ सय ६७ योजना छन् । यसैगरी संघीय सरकार विशेष अनुदानअन्तर्गत ४ वटामा ३ योजना, प्रदेश समपूरक अनुदानमा २ वटामा १ जना, प्रदेश सशर्त अनुदान १२ वटामा ११ वटा सम्पन्न भएका छन् । प्रदेश विशेष अनुदान २ वटामा २ वटा, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत २ वटा योजना, तराई मधेस समृद्धि कार्यक्रमअन्तर्गत ४ वटा योजनामा ३ वटा योजना, गरिबसँग विश्वेश्वर कार्यक्रम अन्तर्गत ३ वटा योजनामा ३ वटा सम्पन्न भएको योजना प्रमुख खड्काले जानकारी दिए । संघीय सरकारको कार्यक्रम अन्तर्गत ९ वटा वडामा ऊर्जा सोलार बत्ती जडानको काम पनि सम्पन्न भएको छ । महिला तथा बालबालिका मन्त्रालय अन्तर्गतको एउटा योजनामा सम्पन्न भइसकेको छ भने सडक बोर्डका २ वटा योजना पूरै बाँकी छन् ।
तुलसीपुर उपमहानगरपालिकाले आव ०७६-७७ को वार्षिक समीक्षा गरेको छ । उपमहानगरपालिकाका १९ वटै वडा र उप महानगरपालिका अन्र्तगतका शाखाले एक वर्षभरिमा गरेका कार्यक्रमको समीक्षा गरेका हुन् ।
समीक्षाका क्रममा कोरोना महामारीका कारण केही योजनाको रकमान्तरण गर्नुपर्ने अवस्था सिर्जना भएता पनि सन्तोषजनक रूपमा सबै योजना सम्पन्न भएको वताइएको थियो । योजना सम्पन्न गर्दा आउने कठिनाइका साथै त्यसको समाधानका विषयमा पनि समीक्षामा छलफल गरिएको हो । योजना सञ्चालनका लागि कतिपय स्थानमा उपभोक्ता समितिले ठेक्कासमेत दिने गरेकाले आशा गरे अनुरुप काम हुन नसेकको सहभागीहरूको भनाइ थियो । वडामा सबै अधिकार प्रत्यायोजन गरिएकोले कर्मचारीहरूले विशेष ध्यान दिएर काम गर्नुपर्ने नगरप्रमुख घनश्याम पाण्डेले बताए । उनले व्यक्तिगत फाइदाका लागि भन्दा पनि सामूहिक फाइदाका लागि काम गर्न अनुरोध गरे । “हामीले जनतालाई सन्तुष्ट बनाएर पठाउनु पर्दछ, जनताको खुसी नै हाम्रो व्यावसायिक धर्म हो,” नगरप्रमुख पाण्डेले भने ।