Logo

सुरक्षाकर्मीको उपस्थितिमा टावर निर्माण

दोलखा-पटक पटकको अवरोधपछि सिंगटी–लामोसाँघु १३२ केभी प्रसारण लाइन आयोजनाको अवरुद्ध काम सुरक्षाकर्मीको उपस्थितिमा भइरहेको छ । टावर निर्माणमाा स्थानीयको अवरोध गरेपछि एक महिनादेखि सुरक्षाकर्मी खटाएर टावरको काम जारी छ ।
सुरुवाति वर्षमा ठेकेदारले काम नगर्दा समयमै पूरा हुन नसकेको आयोजना पछिल्लो समय स्थानीयको अवरोधले समयमा काम पूरा हुन सकेन । टावर ठड्याउने ठाउँमा स्थानीयल रुट सार्न माग गर्दै अवरोध गरेपछि आयोजनाको काम समयमा पूरा हुन सकेको छैन । अवरुद्ध स्थानमा सुरक्षाकर्मीको उपस्थितिमा काम भएकाले आउँदो कात्तिकसम्ममा प्रसारण लाइनको काम पूरा हुने सिंगटी–लामोसाँघु प्रसारण लाइन आयोजनाका प्रमुख राजन ढुंगेलले जानकारी दिए ।
दोलखाको भीमेश्वर नगरपालिका–८ को बोचमा रहेको तिलोत्तमा हिमाली फुड प्रोडक्सन एण्ड रिसर्ज सेन्टर प्रालिको जग्गामा लामो समयदेखि ७४ नं. टावर निर्माण हुन नसकेपछि टावर निर्माणका लागि जिल्ला प्रशासनले गत असारमा प्रहरी नै परिचालन गर्नुपरेको थियो । प्रहरीको बाक्लो उपस्थिति भएपछि स्थानीयपछि हटे र त्यहाँको टावरको जग तयार भयो । स्थानीयले आफ्नो जग्गाबाट प्रसारण लाइन लैजाँदा व्यवसाय प्रभावित हुने कम्पनीले टावरको रुट सार्न माग गर्दै उच्च अदालत पाटनसम्म पुगेको थियो । तर अदालतले समेत स्टे अर्डर दिनु नपर्ने आदेश दिएपछि प्रशासनले प्रहरी परिचालन गरी टावर निर्माण थालेको हो ।
बोचपछि भीमेश्वर नगरपालिका–९ झिंगानेमा अहिले प्रहरीकै उपस्थितिमा टावरको काम भइरहेको छ । झियानेको भूकम्पभन्दा अघि सर्भे गरेको ठाउँमा स्थानीयले भूकम्पपछि घर बनाएका छन् । त्यो ठाउँमा रुट परिवर्तन गर्न स्थानीयले माग गर्दै अवरोध गरेपछि प्रहरी परिचालन गरेको हो । प्रसारण लाइनको झियानेदेखि खरिढुंगासम्म ८१, ८२, ८४ र ८६ नं. टावर पर्छ । स्थानीयले टावर उठाउनुभन्दा अघि नै क्षतिपूर्ति माग गर्दा पछिल्लो चरणमा समस्या भएको हो । टावरका कारण हुने क्षतिपूर्ति प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा हुने जिल्लास्तरीय संयन्त्रले निर्णयबमोजिम आयोजनाले दिने उनले बताए । तर कुन घर वा जग्गा पर्छ भन्ने टावर गाड्ने ठाउँको यकिन गर्न सके तापनि तारमुनिको तार नतानी भन्न नसकिने हुँदा तार तानेपछि मात्र भुक्तानी हुने उनले बताए । अग्रिम रूपमा भुक्तानी गर्दा बोचमा एउटा घरको २८ लाख पाउन नपर्ने मान्छेलाई परेकाले पनि समस्या परेको उनले बताए ।
यी टावरको जग तयार भएपछि अब ठड्याउने र तार तान्ने काम हुन्छ । सामाजिक समस्याको रूपमा रहेका यी २ ठाउँको समस्या समाधान भएपछि सब समयमै प्रसारण लाइन बन्नेमा आफू ढुक्क भएको उनले बताए ।
यस्तै, ४० किलोमिटर प्रसारण लाइनमा पर्ने १२४ टावरमध्ये समस्यामा परेकाबाहेक सबै टावर ठड्याउने काम सम्पन्न भएको छ । ३२ किलोमिटर सिंगल सर्किट तारसमेत टांगिएको छ । सिन्धुपाल्चोकमा २ वटा र दोलखाको सुनखानीमा एउटा टावर प्राविधिक समस्या आएका कारण तयार हुन सकेको छैन । जग तयार तयार गर्ने ठाउँमा कतै कडा चट्टान आएको र डिजाइन नमिलेकाले त्यसलाई मिलाउने काम भएको उनले बताए ।
सिंगटी खोला र खानी खोला तथा खारे खोला बेसिनमा निजी क्षेत्रका निर्माण भएको जलविद्युत् आयोजना यही प्रसारण लाइन कुरेर बसेका छन् । प्रसारण लाइन पूरा नहुँदा आयोजना समेत समयमा निर्माण पूरा गर्न सकेका छैनन् । १० मेगावाटको सिप्रिङ, ११ मेगावाटको तल्लो खारे खोला, ५ मेगावाटको घट्टे खोलाको विद्युत् खेर गइरहेको छ । २५ मेगावाटको सिंगटी खोलाले पनि आयोजना पूरा गरेर परीक्षण गरिरहेको छ । ३० मेगावाटको खानी खोला र ४० मेगावाटको खानी खोला १ आयोजनाले काम अन्तिम चरणमा पुगेर पनि विद्युत् उत्पादन गर्न सकेका छैनन् । यसले आयोजनाका लागत बढाइ रहेका छन् ।
प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले स्थानीय अवरोध हटाउन गृह मन्त्रालयले निर्देशन आएकाले समन्वय गर्दै बलसमेत प्रयोग गर्नुपर्ने अवस्था आएको बताए । “अवरोध गर्नेसँग आवश्यक छलफल गर्दै कानुनी रूपमा काम गरेका हौं ।” घर जग्गा पर्नेसँग नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ आफैंले समेत व्यक्तिव्यक्तिसँग फोन गरेका छन् । विद्युत् प्राधिकरणले भारतीय ठेकेदार कम्पनी अरावली इन्फ्रा पावरसँग सन् २०१० अक्टोबरमा ठेक्का सम्झौता गरेको थियो । सम्झौताअनुसार २ वर्षभित्र प्रसारण लाइन र सिंगटीको सबस्टेसनसमेत निर्माण गर्ने रहेको थियो । तर १० वर्ष बित्न लाग्दासमेत प्रसारण लाइन बन्न सकेको छैन ।
सम्झौताअनुसार सबस्टेसनका लागि साढे १७ करोड र प्रसारण लाइनका लागि करिब ४२ करोड रुपैयाँमा अरावलीले ठेक्का लिएको हो । ठेकेदार कम्पनी पहिलो पटक म्याद थप भएपछि सम्पर्कविहीन भयो ।

 

प्रतिक्रिया दिनुहोस्