नेप्से ५२ अंकले घट्दा लगानीकर्ताको ६१ अर्ब गुम्यो «

नेप्से ५२ अंकले घट्दा लगानीकर्ताको ६१ अर्ब गुम्यो

वाम सरकार गठन भएदेखि लगातार घटिरहेको सेयर बजारमा सोमबार ‘सर्किट ब्रेकर’ नै लगाउनुपर्नेगरी गिरावट आएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले विराटनगर पुगेर सेयर बजारमा लहडी लगानीकर्ता भनेको भोलिपल्ट बजार परिसूचक नेप्से करिब ५२ अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार सेयर बजारको आकार (बजार पुँजीकरण) ६१ अर्बले खुम्चिएको छ । अर्थात्, सोमबारमात्र लगानीकर्ताको ६१ अर्ब रुपैयाँ गुमेको छ ।
बजारमा जतिसुकै गिरावट आए पनि अर्थमन्त्री भने टसमस भएका छैनन् । केपी ओली प्रधानमन्त्री भएयता नै २५० अंकले बजार सूचकांक ओरालो लागिसकेको छ । ओलीले विगतमा ‘अब सेयर बजार घट्दैन’ भने पनि हाल अस्वभाविक रूपमा ओरालो लागिरहँदा समेत प्रधानमन्त्रीको मौनताप्रति इन्भेष्टर्स फोरमले आपत्ति जनाएको छ । फोरमले अर्थमन्त्रीले दावी गरेजस्तो माग बढेका कारण मूल्य घटेको नभइ जिम्मेवार निकायको पुँजी बजारप्रतिको गलत दृष्टिकोणका कारण यस्तो अवस्था आएको दावी गरेको छ ।
बजार उच्च अंकले घट्न थालेपछि अब कता जाने हो भन्ने त्रास आम लगानीकर्तामा देखिन थालेको छ । आइतबार सार्वजनिक विदाका कारण सोमबारमात्र खुलेको बजार भोलिका दिनमा झन् घट्ने हो कि भन्ने चिन्ता लगानीकर्तामा देखिन्छ ।
सोमबारको गिरावटले आफूहरू झनै त्रासमा रहेको लगानीकर्ता विष्णु भण्डारीले बताए । “वाम गठबन्धनको सरकारले सेयर बजारको विषयमा चासो दिँदैन भन्ने हल्ला अहिले वास्तविकता नै भयो,” उनले भने, “प्यानिक अवस्थामा बजार आइसकेको हुनाले सरकारी तवरवाट एक पटक गम्भीर भएर सोच्नुपर्ने अवस्था आएको छ ।”
नेपाल राष्ट्र बैंकको पुँजी वृद्धिको नीतिले धितोपत्रको आपूर्ति बढ्दै गएकाले सेयर बजार विगतदेखि नै घट्दो क्रममा भने थियो । सोमबार नेप्सेले कारोबार सुरु भएको ४५ मिनेटमा नै सर्किट ब्रेकर लगाउनु परेको थियो । विगतदेखि अधिक आपूर्ति र वित्तीय बजारको बढ्दो व्याजदरको कारणले घट्दो क्रममा रहेको सेयर बजार सोमबार ५२ अंकले घटेपछि पछिल्लो २७ महिनायताकै न्यून विन्दु ११६८ अंकमा झरेको छ । सेयर बजारको कुल बजार पुँजीकरण पनि ६१ अर्ब रुपैयाँले घटेर १३ खर्ब ६८ अर्बमा झरेको छ । गत साताको अन्तिम दिन बिहीबार नेप्सेको कुल कजार पुँजीकरण १४ खर्ब २९ अर्ब रहेको थियो । २०७३ साउन १२ गते हालसम्मकै उच्च अंक १८८१ अंकमा पुगेको थियो । सो उच्च विन्दुवाट घट्न थालेको नेप्से हाल १२२० मा झरेको छ ।
सरकारको सेयर बजारप्रति सकारात्मक नदेखिएपछि नेप्सेले एकपछि अर्को न्यून विन्दुको रेकर्ड बनाएको सेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालले बताए । अर्थमन्त्रीले सेयर बजारको अवस्था के छ भनेर एकपटक चासो देखाउनुपर्ने उनको भनाइ छ । अहिलेको बजारलाई सरकारको स्पष्ट दृष्टिकोणको खाँचो रहेको बताउदै उनले भने, “अहिलेको सरकारले सेयर बजारलाई कसरी लिन्छ भन्ने स्पष्ट सन्देश आएको अवस्थामा भने बजार अहिलेको जस्तो प्यानिक नहोला ।”
वित्तीय क्षेत्रमा देखिएको कर्जायोग्य रकमको अभावका कारण ब्याजदर वढ्न जाँदा सेयर बजार परिसूचकमा नकारात्मक असर परेको हो । त्यसका साथै बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाहमा समेत नियन्त्रण गरेपछि बैंकिङ क्षेत्रको पैसा सेयर बजारमा जान नपाउँदा पनि थप घट्न सहयोग गरेको हो । यता, नियामक निकाय धितोपत्र बोर्डका प्रवक्ता निरज गिरि नयाँ सरकार आए पनि तत्कालै सेयर बजारसम्बन्धी नीति परिवर्तन नहुने भएकाले आत्तिनुपर्ने अवस्था नरहेको बताउँछन् ।
सोमबार कारोबार सुरु हुदाँदेखि निरन्तर घटेको नेप्से बन्द हुँदासम्म कायम रह्यो । कारोबार सुरु हुँदा १२२०.४४ अंकमा रहेको नेप्से ५१.८९ अंकले घटेर ११६८.५५ अंकमा झरेको छ । नेप्सेसँगै ‘क’ वर्गका कम्पनीको सेन्सेटिभ इन्डेक्स पनि १०.७६ अंकले घटेको छ । नेप्सेमा कारोबार भएको समूहगत परिसूचकमध्ये बैंकिङ ४१.९८, विकास बैंक ५१.२७, जलविद्युत् ६९.४९, लघुवित्त ७५.५२, बिमा ३८३.९२, वित्त समूह ४.७२, अन्य २१.९४, होटल ८१.३४ र उत्पादनमूलक समूह ६०.९५ अंकले अंकले घटेका छन् ।
नेप्सेमा १५७ कम्पनीको ७ हजार ४ सय ८८ कारोबारबाट ४७ करोड ३३ लाख रुपैयाँ बरावरको १५ लाख ५८ हजार ८ सय ४ कित्ता सेयर खरिद बिक्री भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्