सिन्धुलीका ५ स्थानीय तहमा अत्यावश्यकबाहेक सेवा बन्द

सिन्धुली-कोरोना भाइरस संक्रमितको दर बढ्न थालेसँगै सिन्धुलीका स्थानीय तहहरुले अत्यावश्यक बाहेकका सेवा बन्द गरेका छन् । अहिलेसम्म दुई नगरपालिका र तीन गाउँपालिकाले अत्यावश्यक बाहेकका सबै सेवाहरु बन्द गरेका हुन् ।
कमलामाई नगरपालिका, दुधौली नगरपालिका, सुनकोशी गाउँपालिका, गोलञ्जोर गाउँपालिका र मरिण गाउँपालिकाले अत्यावश्यक बाहेकका सबै सेवा र पसल एक सातादेखि १५ दिनसम्मका लागि बन्द गरेका छन् ।
संक्रमण समुदायस्तरमा फैलिन नदिन कमलामाई नगरपालिकाले एक साताका लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको जनाएको छ । एक सातासम्म औषधि, दूध पसल, एम्बुलेन्स, दमकल, सरसफाई व्यवस्थापन बाहेकका सबै सेवाहरु बन्द गरिएको नगरपालिकाले जनाएको छ ।
नगर क्षेत्रका मुख्य राजमार्गबाहेकका सबै सिमानाका सडकहरु पूर्णरुपमा बन्द गरिएको छ । विपी राजमार्गमा सञ्चालन हुने अत्यावश्यकीय सवारी साधनमा पनि नगरपालिका क्षेत्रभित्र रोक्न, यात्रु चढाउन र ओराल्नका साथै होटलसमेत प्रयोग गर्न रोक लगाइएको नगर प्रमुख खड्गबहादुर खत्रीले बताए ।
त्यस्तै दुधौली नगरपालिकाले पनि लकडाउनको घोषणा गरेको छ । अत्यावश्यक बाहेकका सबै सेवाहरु बन्द गर्दै नगर प्रवेश गर्ने सबै नाकासमेत एक साताका लागि बन्द गरिएको जनाइएको छ ।
नगरपालिकाका अनुसार नगरभित्र स्वास्थ्य संस्था र सुरक्षा निकायबाहेक सबै सेवा बन्द गरिएको छ । खाद्यान्न तरकारी फलफूल दूध पसलहरु विहान ६ देखि १० बजेसम्म खुल्ने छन् । नगर क्षेत्र भित्र प्रवेश गर्ने सबै नाका बन्द गरिएको छ । ती नाकामा सुरक्षाकर्मीको व्यवस्था गरिएको जनाएको छ ।
यस्तै, सुनकोशी गाउँपालिकाले १५ दिनका लागि अत्यावश्कबाहेकका सेवा बन्द गरेको छ । गाउँपालिका र मातहतका सबै कार्यालयबाट दिइने अत्यावश्यकबाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको जनाइएको छ । गाउँपालिकाको एक विद्यालयमा कार्यरत सिराहाका एकजना शिक्षकमा कोरोना संक्रमण पुष्टि भएपछि कोरोनाको संक्रमण समुदायमा फैलिन नदिन अत्यावश्यकबाहेकका सबै सेवाहरु बन्द गरिएको बताइएको छ ।
शिक्षक लकडाउनको समयमा घर गई बैकल्पिक माध्यमबाट पठनपाठन गर्ने भएपछि हालैमात्र आई क्वारेन्टाइनमा बसेका थिए ।
गोलञ्जोर गाउँपालिकाले पनि एक साताका लागि अत्यावश्यकबाहेकका सबै सेवाहरु बन्द गरेको छ । वडा नम्बर ५ का एकजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि गाउँपालिकाले अत्यावश्कबाहेकका सबै सेवा एक सातासम्मका लागि बन्द गरेको हो ।
यस्तै मरिण गाउँपालिकाले पनि विभिन्न नाका हुँदै आयात निर्यात हुने औषधी, मलखाद र पशुपंक्षीजन्य आहारा बाहेक सबै मालबस्तुको ओसारपसारमा रोक लगाएको छ । शनिवार राती १२ बजेदेखि लागू हुने गरी भदौ १० गतेसम्मका लागि बन्द गरिएको जनाइएको छ । साथै गाँउपालिकाले निर्माण कार्यमा हाल मौज्दात रहेको निर्माण सामाग्री र उपलब्ध जनशक्तिबाट सुचारु राख्न आग्रह गर्दै थप सामाग्री तथा जनशक्तिको आयातमा रोक लगाएको छ ।