कोभिड महामारी : वित्तीय क्षेत्र र व्यवसायीबीचको सम्बन्ध «

कोभिड महामारी : वित्तीय क्षेत्र र व्यवसायीबीचको सम्बन्ध

अनुत्पादनमूलक क्षेत्रमा नै लगानी गर्न बैंकहरू बढी उत्साहित छन् । त्यसले गर्दा पनि बैंक र उद्यमीबीच सम्बन्ध प्रगाढ हुन सकेको छैन ।

बैंकको विश्व इतिहास हर्ने हो भने उद्योग–व्यापार सुरुवात र फस्टावटसँगै बैंकिङ क्षेत्रको पनि फैलावट भएको हो । त्यसले पनि इंगित गर्छ कि उद्योगी–व्यवसायी र बैंकबीच कति पुरानो र कति प्रगाढ सम्बन्ध हुन्छ । तर, अहिले विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ अर्थात् कोरोना भाइरसका कारण सिर्जित समस्या, लकडाउन आदिले उत्पन्न समस्याका कारण बैंक–वित्तीय क्षेत्र र उद्योगीबीचको सम्बन्धमा तिक्तता छाइरहेको छ । केही हदसम्म आर्थिक २०७७-७८ का लागि केन्द्रीय बैंकको मौद्रिक नीतिमार्फत व्यवसायीहरूलाई राहत कार्यक्रम आएपछि थोरै मत्थर त भएको छ, तर नेपालमा वित्तीय क्षेत्र र व्यवसायीबीच प्रगाढ सम्बन्ध रहन सकेको छैन ।
उद्योगी र वित्तीय क्षेत्रबीचको तिक्तताले अर्थतन्त्रमा नकारात्मक असर गर्ने गर्छ । त्यसको एउटा सानो संकेत हाल बैंकहरूमा २ खर्बभन्दा बढी अधिक तरलताको अवस्थाले देखाउँछ । सरकार कोरोना संकट टार्न लकडाउन लगाइरहने र बैंकहरू ऋणको साँवा–ब्याज उठाउन सामदाम दण्डभेद अपनाउने कारण पनि व्यवसायीहरू नयाँ ऋण लिन त्रसित देखिएका छन् । खासगरी उद्योगीहरूले पुनर्कर्जा लिन पाउने, बैंकहरूले वित्तीय संकट व्यवस्थापन गर्न सक्ने अवस्थाको खाँचो अहिले छ । त्यसका लागि दुवै पक्षले आफ्ना सम्बन्धहरूको इतिहास, महत्वबोध खुट्याउन सक्नुपर्छ ।
खासगरी नेपालमा पनि औद्योगिक विकासको प्रारम्भसँगै बैंकिङ वित्तीय क्षेत्रको सुरुवात भएको हो । वि.सं. १९९३ मा मुलुककै पहिलो उद्योग विराटनगर जुट मिलको स्थापना भयो । त्यसलगत्तै बि.सं. १९९४ मा नेपालको पहिलो बैंकका रूपमा नेपाल बैंकको स्थापना गरियो । यसरी हेर्दा नेपालमा पनि उद्योग–व्यवसायको विकास एवं विस्तार भएसँगै बैंकिङ क्षेत्रको पनि विकास भएको हो ।
उद्योग–व्यवसायको विकासबिना बैंकहरूको पनि विकास एवं फैलावट सम्भव छैन भन्ने तथ्य स्पष्ट छ । तर, नेपालमा ५० को दशकदेखि युवाहरूको विदेशगमन तीव्र रूपमा बढ्न थाल्यो । २०५२ सालबाट सुरु भएको तत्कालीन माओवादी जनयुद्धको भुङ्ग्रोमा भएका उद्योग कलकारखाना नासिए । २०५२ देखि माओवादी शान्ति सम्झौतामा आउँदासम्म नेपालमा कुनै नयाँ उद्योग खुल्न सकेनन् । बरु भएका उद्योग–व्यवसायहरू पनि बन्द भए । त्यसको असर बैंकहरूमा प-यो । रोजगारीको क्षेत्रमा प-यो । समग्र अर्थतन्त्रमा प-यो ।
बरु २०५० को दशकबाट बिदेसिन सुरु गरेका युवाहरूले पठाएको रेमिट्यान्सको भरमा नेपालको अर्थतन्त्र थेगियो । बैंकहरू थेगिए । अझै पनि रेमिट्यान्समै मूलत नेपालको अर्थतन्त्र र बैंक निर्भर रहेको अवस्था छ । अर्थतन्त्रमा रेमिट्यान्सको योगदान ३१ प्रतिशत पुगिसकेको छ । उद्योग–व्यवसायले अर्थतन्त्रमा उल्लेखनीय योगदान राख्न सकेका छैनन् ।
तर पनि बैंक टिक्ने आधार र अर्थतन्त्र अघि बढ्ने आधार भनेका औद्योगिक विकास नै हो । रेमिट्यान्सको क्षेत्र भनेको दिगो होइन । अहिले त ६० लाख हाराहारी नेपाली युवायुवतीहरू मजदुरी गर्न बिदेसिएको अनौपचारिक तथ्याङ्क छ । समग्र अर्थतन्त्रमा उद्योग–व्यवसायको योगदान ७–८ प्रतिशतभन्दा माथि उठ्न सकेको छैन । मुलुक पूरै मजदुर उत्पादन गर्ने देशजस्तो मात्र भएको देखिन्छ । सीप, श्रम, साधनस्रोत र पुँजीको परिचालनबाट औद्योगिक विकास हुन सकेको छैन । त्यस हिसाबले पनि बैंकहरूले औद्योगिक क्षेत्रमा, कृषि उत्पादन र उद्योगहरूमा लगानी गर्न हिचकिचाइरहेका देखिन्छन् । तर, उद्योगी वा व्यवसायी भनेका कुनै पनि बैंकहरूका लागि पँुजी निर्माणका साधन हुन् । एउटा उद्योगीले कुनै बैंकमा आफ्नो मात्रै खाता खोलेको हुँदैन । कर्मचारी कामदारहरूको पनि खोलाएको हुन्छ । उसले समाजमा सानो वा ठूलो स्केलमा रोजगारी दिएको हुन्छ । आयात तथा निर्यात व्यापारको माध्यमबाट राज्यको आर्थिक गतिविधिलाई चलायमान बनाएको हुन्छ । त्यसकारण बैंकको उद्योगी–व्यवसायीसँगको सम्बन्ध बढी महत्वपूर्ण हुन्छ र हुनुपर्छ ।
वास्तवमा व्यक्ति वा संस्था बैंकका ग्राहक हुन् । ग्राहकसँग बैंकको वा बैंकसँग ग्राहकको अधिक विश्वासमा आधारित सम्बन्ध हुने गर्छ । बैंक र ग्राहकबीच अनेकन् आयामका सम्बन्धहरू हुन्छन् । त्यस्तो सम्बन्ध खासगरीकन कारोबारका आधारमा बढी वा कम हुने गर्छ । व्यक्तिगत ग्राहकसँग जनेरेसनको आधार पनि सम्बन्ध हुन्छ । जस्तो नेपालको सबैभन्दा पुरानो नेपाल बैंकमा जति मात्रामा बूढा–पुराना मान्छेहरूको खाता हुन्छ, त्यति मात्रामा नयाँ आएका बैंकहरूमा हुँदैनन् । त्यस कारण ग्राहक र बैंकबीच अनेकन् आयामका सम्बन्धहरू हुन्छन् । कारोबारको प्रकारका आधारमा बैंकसँगको कस्तो सम्बन्ध हुने निर्धारण हुन्छ ।
विगतमा खालि साहू र आसामी मात्रैको सम्बन्ध बैंक र ग्राहकबीच हुन्थ्यो । त्यो विचारधारा बिस्तारै परिवर्तन भएर आएको छ । बैंकको समाजप्रति, ग्राहकप्रति, सरकारप्रति, उद्योग–कलकारखानाको विकासप्रतिको उत्तिकै दायित्व हुन्छ, जुन बढेर गएको छ । नेपालमा त खासगरी उद्योग–व्यवसायको क्षेत्र कमजोर भएको र त्यो क्षेत्रको कारोबारको आकार बढन नसकेका कारण पनि बैंकहरूले त्यो क्षेत्रलाई विश्वास गर्न सकिरहेका छैनन् । तर, अब नेपालमा बैंकहरूले जसरी आफ्नो विकास र फैलावटलाई विस्तारित गर्दै लगेका छन्, त्यही हिसाबमा उत्पादनमूलक उद्योग र व्यवसायको क्षेत्रमा लगानी विस्तार गर्नुको विकल्प छैन ।

नेपालमा बैंक र उद्योगीबीचको सम्बन्ध
नेपालमा बैंक र व्यवसायीबीचको सम्बन्ध कस्तो छ भन्ने जान्न बैंकहरूको ब्याजदरलाई लिएर उद्योगी–व्यवसायीहरूले बेला–बेला गर्ने आन्दोलन र चर्को विरोध तथा गुनासाहरूलाई नियाल्दा थाहा हुन्छ । अझ हिजोआजका दिनहरूमा कोभिडले थला परेका व्यवसायी र बैंकहरूको ऋण असुलीमा ताकेतालाई हेर्न सकिन्छ । बैंकहरूले बर्सेनि नाफा अधिकतम गर्ने कुरामा जोडि दिइरहेका छन् । सरकारलाई राजस्व अधिक बुझाउनेमा पनि बैंकहरू अगाडि नै छन् । तर, जुन क्षेत्रमा लगानी गरेर बैंकहरू टिकिरहेका छन्, तिनै क्षेत्रमा कोभिडले संकट ल्याउँदा प्राकृतिक विपत्ति ठानेर उनीहरूलाई दिनुपर्ने सहजता दिन सकिरहेका छैनन् । बैंकहरूले नाफा अधिकतम गर्ने कुरालाई अलिकति कम प्राथमिकता दिएर व्यवसायीहरूलाई सहज बनाउने ढंगले सोचेका छैनन् । बैंकहरू पुनर्कर्जा दिन सक्ने अवस्थामा छन् । तरलता अधिक भएको अवस्था छ । उनीहरूले पुनर्कर्जा दिएर भए पनि कतिपय क्षेत्रका जीर्ण उद्योगहरूको त्राण भर्न सक्छन्, तर संकटमा बैंकहरूले उद्योगी–व्यवसायीहरूको मर्म नै बुझ्न सकेका छैनन् । त्यसका केही कारण होलान् । खास गरी सबैजसो बैंकहरूमा चल्तीका सीमित व्यापारीहरूको ठूलो लगानी भएकाले पनि समस्या सिर्जना भएको हो ।
जस्तो अघिल्लो बर्ष विराटनगरका व्यवसायीहरूले बैंकहरूको ब्याजदरलाई लिएर कडा आन्दोलन गरे र प्रधानमन्त्रीलाई नै गुहारेर ब्याजदर घटाउन माग गरे । खासगरी बैंक र व्यवसायीहरूबीच प्रगाढ सम्बन्ध नभएकै कारण त त्यस्ता आन्दोलन भएका थिए । तर, यी दुई पक्षबीच अत्यन्त सौहार्दपूर्ण सम्बन्ध हुँदा मात्र वास्तवमा उद्योग क्षेत्रले प्रगति हासिल गर्न सक्छ र उद्योग क्षेत्रको प्रगति हुँदा मात्रै उनीहरूको बैंकसँगको कारोबार बढ्ने र बैंकको पनि नाफा बढ्ने अवस्था सिर्जना हुन्छ । तर, यहाँ त लय मिलेको छैन । अधिक नाफामुखी सेवामूलक क्षेत्र, रेमिट्यान्स सेरोफेरो र विदेशी दातृ निकायको पैसाको आडमा बैंकहरूको नाफा बढिरहेको छ । बैंकहरूले दीर्घकालीन सोच राख्न सकेका छैनन् । अल्पकालीन उपलब्धि र नाफामा रमाइरहेका छन् । उत्पादनमूलक उद्योगहरूमा सहुलियत ब्याजदरको कर्जा प्रवाह गरेर स्वदेशी अर्थतन्त्रलाई बलियो बनाउनेबारे सोचेकै छैनन् । त्यो सोच हुँदा मात्रै बैंकहरूको पनि मुनाफा र गतिविधि दीर्घकालमा चलायमान हुन सक्छन् ।
ब्याजदर बढी भएकै कारण उद्योग–कलकारखानाहरू खुल्ने क्रम बढ्न सकेको छैन । अर्को कर्जा प्रवाहमा बैंकको बढी ब्याजदर हुँदा उत्पादन लागत बढ्ने र उत्पादित वस्तुको मूल्य पनि बढी हुने हुन्छ । त्यसको आखिरी मर्का पर्ने भनेको उपभोक्तालाई नै हो । फेरि बढी लागतमा उत्पादन हुने वस्तुले विदेशी वस्तुहरूसँग प्रतिस्पर्धा गर्न नसक्नु स्वाभाविक पनि हुन्छ । अर्को नेपालमा बैंकहरूले दिने निक्षेपको ब्याजदर पनि बढी भएकै कारण सेयर बजारमा आकर्षण घटेको हो । ब्याजदर कम हुने हो भने लगानीकर्ताहरूको आकर्षण सेयर बजारमा पथ्र्यो, जसले राष्ट्रिय उत्पादन र उत्पादकत्वमा सकारात्मक प्रभाव पाथ्र्यो । वास्तवमा बैंकहरूले आफ्नो चुक्ता पुँजी ८ अर्ब भएकै अवस्थामा कतिपयले हिजोआजकै वर्षमा वार्षिक ४–५ अर्ब नाफासमेत कमाएका छन् । त्यसरी लगानीको आधा पुँजी एकै वर्ष कुनै पनि व्यवसायले कमाउन सकेको हुँदैन, जुन बैंकहरूले गरिरहेका छन् । त्यसकारण बैंकहरूको कर्जा लगानीमा हुने ब्याजदर बढी नै हो । बैंकहरूको ब्याजदरको ‘बेस रेट’ नै पुनर्मूल्यांकन गरी नयाँ तोक्न जरुरी छ । साढे ४ प्रतिशतको स्प्रेड दरलाई नै अझै घटाउन जरुरी छ । सन्तुलित ढंगको ब्याजदर कायम गरेर बैंकहरूले उद्योगी–व्यवसायीहरूसँगको सम्बन्ध प्रगाढ बनाउन जरुरी छ । बैंकहरूले पारदर्शी ढंगले नाफा आर्जन गर्नु नराम्रो होइन, तर उनीहरूले अधिक नाफा आर्जन गर्ने प्रतिस्पर्धा गर्दा समस्या सिर्जना भएको हो । त्यसमा पनि बैंकहरूको लगानी अनुत्पादनमूलक क्षेत्रमै बढी घुमिरहेको छ । अनुत्पादनमूलक क्षेत्रमा नै लगानी गर्न बैंकहरू बढी उत्साहित छन् । त्यसले गर्दा पनि बैंक र उद्यमीबीच सम्बन्ध प्रगाढ हुन सकेको छैन ।
यसरी नेपालको सन्दर्भमा अहिले बैंक र उद्यमी–व्यवसायीहरूबीचको सम्बन्ध प्रगाढ छैन । बैंकहरू सेवामूलक एवं नाफामुखी क्षेत्रमा लगानी गर्न चाहन्छन् । उद्योगी–व्यवसायीहरू बैंकहरूसँग सहुलियत दरको कर्जा चाहन्छन् । यी दुवै पक्षबीचको सौहाद्र्र सम्बन्ध निर्माणमा सरकारको विशिष्ट भूमिका हुन्छ । त्यसतर्फ ध्यान केन्द्रित गर्न सक्दा बलियो अर्थतन्त्र निर्माणमा सहयोग पुग्छ ।

प्रतिक्रिया दिनुहोस्