विपद्मा करिब १७ लाख रुपैयाँ राहत वितरण «

विपद्मा करिब १७ लाख रुपैयाँ राहत वितरण

लमजुङ-अविरल वर्षासँगै असारको अन्तिम साता गएको बाढी–पहिरो प्रभावितहरूका लागि करिब १७ लाख रुपैयाँ राहत वितरण भएको छ । असारको २५ गतेयता जिल्लाको विभिन्न स्थानीय तहमा बाढी र–पहिरोबाट क्षति भएका घर परिवारलाई जिल्ला विपद् व्यवस्थापन समितिले नगद राहत वितरण गरेको हो ।
जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार बाढी र पहिरोबाट धनजनको क्षति भएका १ सयभन्दा बढी घरपरिवारलाई १६ लाख ८७ हजार रुपैयाँ राहात वितरण भएको हो । समितिका अनुसार जिल्लाको सबैभन्दा धेरै मध्यनेपाल नगरपालिकामा राहात वितरण भएको छ । मध्यनेपाल नगरपालिकाको विभिन्न वडाका बाढी–पहिरो पिडितहरूलाई मात्रै ६ लाख १२ हजार ५ सय रुपैयाँ राहात वितरण भएको हो ।
सो बाहेक बेंसीसहर नगरपालिकामा ४ लाख ४५ हजार रुपैयाँ राहात वितरण भएको छ । बेंसीसहर नगरपालिकाअन्तर्गत पहिरोमा परी ज्यान गुमाएका ३ जनाको परिवारलाई ३ लाखसहित सो रकम वितरण भएको हो ।
जिल्लामा मस्र्याङ्दी गाउँपालिका अन्तर्गतका बाढी–पहिरो प्रभावितहरूलाई ३ लाख ३५ हजार रुपैयाँ राहात वितरण भएको छ । यसैगरी दोर्दीमा २ लाख २५ हजार, क्होलासोँथारमा ५० हजार, सुन्दरबजारमा २० हजार, राइनास र दूधपोखरीमा १०-१० हजार रुपैयाँ राहात वितरण भएको जिल्ला विपद् व्यवस्थापन समिति लमजुङले जनाएको छ ।
असार यता बाढी र पहिरोका कारण जिल्लामा तिनजनाको ज्यान गएको थियो भने १ सयभन्दा बढी घरपरिवार प्रभावित भएका थिए । समितिका अनुसार जिल्लामा सबैभन्दा धेरै मध्यनेपाल नगरपालिकामा घर क्षति भएको छ । मस्र्याङ्दी गाउँपालिकाअन्तर्गत पनि एउटै पहिरोले झण्डै २१ घर पुर्ण क्षति हुनुको साथै ८० घर जोखिममा परेका छन् । सो बाहेक मस्र्याङ्दी–३, अर्खलेमा पनि सिँगो गाउँ पहिरोको जोखिममा परेको छ ।
यसैगरी दोर्दी गाउँपालिकाअन्तर्गत पनि जमिन भास्सिदा धेरै घर भत्कनुका साथै जोखिममा परेपछि उनिहरूको अस्थायी स्थानान्तरण भएको छ । बाढी पहिरो प्रभावित क्षेत्रमा जनप्रतिनिधिसहित विपद् व्यवस्थापन समितिको स्थलगत अवलोकनसँगै सम्बन्धित स्थानीय तह र स्थानीय प्रहरी मुचुलकाको आधारमा क्षतिको आँकलन गरी राहात वितरण भएको हो ।
समितिले क्षतिको आधारमा न्यूनतम पाँच हजारदेखि मानवीय क्षति नभएका घर परिवारहरूलाई २० हजारसम्म राहात उपलब्ध गराएको छ । मानविय क्षति भएको खण्डमा भने १ लाख रुपैयाँसम्म राहत उपलब्ध गराउने प्रावधान छ ।
बाढी र पहिरोका कारण क्षति भएका घर परिवारलाई स्थानिय तह र प्रहरी प्रतिवेदनको आधारमा राहत उपलब्ध गराईने समितिले जनाएको छ । समितिले विपदबाट पूर्ण क्षति भएका घर परिवारलाई नगद २० हजार र आंशिक क्षति भएकाहरूलाई क्षतिको आधारमा सोभन्दा कम रकम उपलब्ध गराउने जनाएको छ ।

सन्देश पौडेल

प्रतिक्रिया दिनुहोस्