२२ वर्षमा पनि बनेन व्यवस्थित बसपार्क

रोल्पामा व्यवस्थित बसपार्क नहुँदा सवारी साधन पार्किङमा समस्या भएको छ ।
रोल्पाको सदरमुकाम लिबाङ सडक सञ्जालमा जोडिएको २२ वर्ष भन्दा धेरै भइसक्दा समेत अहिलेसम्म एउटा पनि व्यवस्थित बसपार्क बन्न नसक्दा ठूला तथा साना सवारी साधन पार्किङ गर्न समस्या भएको यातायात व्यवसायीहरूको गुनासो छ । जिल्लामा व्यवस्थित बसपार्क नहुँदा ठूला गाडी असुरक्षित रूपमा पार्किङ गर्नुपर्ने बाध्यता रहेको जलजला यातायात व्यवसायी समितिका अध्यक्ष तेजविक्रम रावतले बताए । “लामो समयसम्म सम्बन्धित निकायले बसपार्क निर्माणमा चासो दिएनन्” अध्यक्ष रावतले भने । जलजला यातायात व्यवसायी समितिले २० लाखभन्दा धेरै लगानीमा लिबाङनजिकै सोलाबाङ भन्ने ठाउँमा सामान्य बसपार्क निर्माण गरेको छ । तर उक्त बसपार्कमा जाने बाटो साँघुरो र जोखिमपूर्ण भएकाले ठूला बस लैजान नसकिएको उनको भनाइ छ ।
यस्तै तत्कालीन जिल्ला विकास समिति रोल्पाले सदरमुकामभन्दा ७ किमि टाढा रेउघामा ७ वर्षअघि निर्माण कार्य सुरु गरेको रेउघा बसपार्क अहिले अलपत्र बनेको छ । ऐलानी जग्गा भनी बसपार्क निर्माण कार्य सुरु गरेको भए तापनि उक्त जग्गा ऐलानी नभई स्थानीय खड्गबहादुर सिंहको जग्गा भएकाले जग्गा धनी सिंहले मुद्दा दायर गरेपछि करिब ३३ लाख रुपैयाँ खर्च गरेर निर्माण गरिएको बसपार्क प्रयोगमा आउन सकेको छैन ।
जिल्लामा सार्वजनिक र प्राइभेट गरी चार वटा संस्थाले आन्तरिक तथा लामो दूरीका करिब ३ सय सवारी साधन सञ्चालन गर्दै आएका छन् । जिल्लामा व्यवस्थित बसपार्क नहुँदा साँघुरो सडक त्यसमा पनि छेउछाउमा गाडी पार्किङ गर्नपर्ने बाध्यता रहेकाले हिँडडुल गर्न समेत कठिन हुने गरेको सर्वसाधारणको गुनासो छ ।