मर्जरमा कर्मचारी व्यवस्थापन

जबसम्म एउटा कर्मचारीलाई म यो संस्थामा आफ्नो कार्यकाल बिताउन सक्छु भन्ने लाग्दैन, उसलाई उक्त संस्थाप्रति जिम्मेवारी बोध खासै हुँदैन । |
केही समयअगाडि एउटा ठूलो मर्जर भयो । राष्ट्र बैंकले चाहेअनुरूप भएको उक्त मर्जरको रौनक देख्दा लाग्थ्यो, वित्तीय क्रान्तिसरह नै केही भयो । सबै पक्ष हर्षित देखिन्थे, राष्ट्र बैंकका गभर्नरदेखि अर्थमन्त्रीसम्म— सबैले यसको जोडतोडका स्वागत पनि गरे । लगानीकर्ता उत्तिकै हर्षित देखिन्थे, अनि उक्त संस्थामा कार्यरत कर्मचारी आफूलाई गर्व महसुस भएको भनी आफ्नो विचार व्यक्त गर्थे । अन्य पक्षले उक्त हर्ष कायम नै राखे पनि कर्मचारीमा भने त्यो उत्साह बिस्तारै घट्दै जान थाल्यो । फलस्वरूप कतै शाखा नै रित्तिने गरी अनि कतै एक–एक जना गरेर राजनीतिमा आउन थाले । प्रमुख कार्यकारी अध्यक्षसम्मको राजीनामा आयो । यस अवस्थाबारे मर्ज भएको संस्था पहिले नै सतर्क भएरै होला, मर्ज हुने निश्चित भएपछि पनि ठूलो संख्यामा कर्मचारी भर्ना गरेको ।
यसपालिको मौद्रिक नीतिले पनि मर्जरलाई निकै प्रोहत्सान गरेसरह नै देखिन्छ । मर्जरको यत्रतत्र तारिफ भइरहँदा कर्मचारीमा पर्ने प्रभावका बारे खासै ठूलो बहस कतै हुँदैन । विगतकै वर्षमा भएका ठूला मर्जरले पनि धेरैले जागिर छोड्नुपरेकै हो । त्यही समयका ती बैंकका कर्मचारी कति शिक्षण पेसामा लागे, कति बेरोजगारी स्विकारेर बसे । यसपालि पनि अवस्था फरक देखिँदैन । हुन त सबै कार्य गुपचुप नै हुन्छ ताकि भोलि मिडियामा यसको विषयले चर्चा नपाओस्, तर कर्मचारीको पीडा दबिएकै हुन्छ ।
मर्जरले सिनर्जिक प्रभाव पार्नुपर्ने थियो, जसमा २ र २ जोड्दा ५ ल्याउनुपर्ने हो । तर, यहाँ सिनर्जिकको उल्टो प्रभाव देखिने संकेत बढी देखिन्छ । मर्जरका कारणले गर्दा कर्मचारीमा देखिने प्रमुख समस्या एकअर्काको संस्कृतिमा भिज्नु हो । दुई अलग वित्तीय संस्थाले प्रयोग गर्ने सफ्टवेयरदेखि अपनाउने शैलीसम्म भिन्न हुनु स्वाभाविक हो, मर्जरपश्चात त्यो एक हुनुपर्ने हुन्छ, जसमा निकै कठिनाइ देखिन्छ । हिजोसम्म असार मसान्तसम्म बिदा लिनुपर्नेमा अब चैत मसान्तमात्र हुँदा पनि कर्मचारीको वार्षिक चक्रमा फरक पर्ने हुन्छ । हिजोसम्म एउटा ढाँचामा काम गरिरहेको कर्मचारीले मर्जरपश्चात् अर्को ढाँचामा आफूलाई उतार्नुपर्ने बाध्यता हुन्छ, जसले गर्दा दैनिक कामकाजमै समस्या देखिन्छ । फेरि यदि एउटा ठूलो वित्तीय संस्था र अर्को सानो मर्ज वा प्राप्तिबाट आएको हो भने उक्त सानो संस्थाका कर्मचारीले सधैं अपहेलनाको सामना गर्नुपर्ने हुन्छ ।
साधारणतया मर्जरले शाखाको संख्या घटाउने हुन्छ र कतिपय स्थानमा स्थानान्तरण हुने हुन्छ । शाखा घट्दा होस्, या स्थान परिवर्तन हुँदा, प्रत्यक्ष असर कर्मचारीलाई नै पर्ने हुन्छ । एउटा सहज भइरहेको ठाउँबाट अर्को नयाँ ठाउँमा आफूलाई लैजानुपर्ने हुन्छ, जसले कठिनाई निम्त्याउनु सामान्य हो । फेरि दुई संस्थाका कर्मचारी एकै संस्थामा गाभिँदा कर्मचारीको संख्या चाहिएभन्दा बढी हुनु स्वाभाविक हो, जसले गर्दा हिजोको तुलनामा कर्मचारीलाई आफ्नो अस्तित्वप्रति दिक्क लाग्न सक्ने हुन्छ । धेरै कर्मचारी हुँदा कर्मचारीको बेवास्ता अर्को मर्जरको चुनौतीपूर्ण पक्ष हो । हिजोसम्म आफ्नो पहिचान बोकेको कर्मचारीले एकाएक आफ्नो महत्व घटेको, आफ्नो अवस्था संस्थाले नबुझेको अनुभूति गर्न थाल्छ र फलस्वरूप कर्मचारीलाई संस्था छाड्नुको विकल्प हुदैन । सायद त्यही भएर होला, यस मर्जरपश्चात् पनि कर्मचारीले दिएको योगदानभन्दा उनीहरूको राजीनामा–पत्र बढी महत्व पूर्ण देखिएको । हालसम्म पनि नियमित राजीनामा आउनु र संस्थाले त्यसलाई सहजै स्विकार्नुबाट स्पस्ट हुन्छ । अझ नयाँ कर्मचारीलाई घुमाउरो शैलीमा संस्था छोडे पनि हुन्छ भनेर भन्नुपर्ने अवस्थाको परिकल्पना पक्कै पनि बिग मर्जरको बहस गर्नेले गरेको थिएन होला ।
एकै तहका वित्तीय संस्था मर्ज हुँदा त समस्या नआउला, अन्यथा बढुवाभन्दा पनि घटुवाको प्रावधान बढी हुन्छ । अझ कतिपय अवस्थामा खाइपाइ आएको सेवासुविधामै कटौती हुने डर पनि त्यही मात्रामा रहने हुँदा कर्मचारीको मनोबल झन् घट्दै जान्छ । एउटा ठूलो लगानी गरेर गरिएको मर्जपश्चात्, एक समूह कर्मचारी कार्यालयभित्रै बेरोजगारसरह बस्नुपर्ने हुन्छ, जसले उनीहरूमा नकारात्मक तृष्णा सिर्जना गर्छ र स्वाभाविक रूपमा उत्पादकत्वमा कमी आउन थाल्छ । काम गर्ने जोस र जाँगर घट्दा, शाखाको मात्र नभएर समग्र संस्थाकै उत्पादकत्वमा कमी आउने हुन्छ । हरेक कर्मचारीलाई व्यक्तिगत रूपमा चिन्न प्रयास गर्ने मानव संसाधन विभाग कठोर हुनुपर्ने हुँदा अझ उच्च तहको व्यक्ति फरक संस्थाको परेमा नचिन्ने हुन्छ, जसले गर्दा हिजो बिन्ती गरिएका कुराहरू सबै बालुवामा पानी हुने समस्या देखिन्छ । दुई संस्था मर्ज भएर एक हुँदा विनियमावली संशोधन भएर एक हुनुपर्ने हुन्छ, जसले सबै कर्मचारीको हित नै गर्छ भन्ने हुँदैन ।
मर्जरले अर्थतन्त्रमा एउटा ठूलो, बलियो र विश्वासिलो संस्था उपहारस्वरूप प्रदान गरिरहँदा कर्मचारीलाई पर्ने नकारात्मक प्रभाव पर्ने पक्षप्रति पनि उचित अध्ययन र व्यवस्थापन आवश्यक छ । यो व्यस्थापन एक दिनमा सम्भव नहोला, तर जति समय लाग्छ त्यसको तयारी पनि संयुक्त कारोबार अगाडि नै आवश्यक देखिन्छ । कर्मचारीको मान, इज्जत र समाजमा एउटा प्रतिष्ठा हुन्छ, कार्यरत संस्थाले त्यसमा एउटा महत्व पूर्ण योगदान दिएको पनि हुन्छ, तर बिनापूर्वतयारी यस्तो कार्य गर्दा कर्मचारीलाई आफ्नो संस्था टोक्नु न बोक्नुको अवस्थामा पु¥याइदिन्छ । उक्त कर्मचारीलाई सधैैं गर्व लाग्ने आफ्नो संस्थाप्रति वितृष्णा जागृत हुने सम्भावना उत्तिकै रहन्छ । फलस्वरूप, उसको कार्यदक्षतामा त्यसको सोझो असर देख्न सकिन्छ र उसको उत्पादकत्वमा कमी स्वाभाविक रूपले देखिन्छ । यसका निमित्त मर्जरमा गएर एकीकृत कारोबार गर्ने उद्देश्य राख्दा कर्मचारीको मनोबल बढाउने, उसको हकहित र सहजतालाई प्राथमिकतामा राखी सोहीअनुरूपको उद्देश्य निर्माण गर्नुपर्छ । एकीकरण हुँदै गर्दा कर्मचारीको आँच र प्रतिष्ठालाई उत्तिकै प्राथमिकता दिन सक्नुपर्छ ।
मर्जरपश्चात् झन् ठूलो संस्थाको कर्मचारी भनी चिनाउन पाउँदा कर्मचारी आफैं हर्षित हुने हुन्छन्, तर त्यसका निमित्त उनीहरूको अवस्था पनि बुझिनुपर्ने हुन्छ । कर्मचारीको मनोबल, सेवा–सुविधामा मात्र निर्भर रहने पक्कै होइन । बढुवाको बाटो खुकुलो पार्दा, पायक पर्ने ठाउँमा सरुवाको व्यवस्था मिलाउँदा उनीहरूले संस्था नै छोड्ने अवस्था आउने थिएन होला र उचित व्यवस्थापनले संस्थाले पनि जन्माएको कर्मचारीलाई बोझका रूपमा पर्ने अवस्था हुने थिएन होला । जबसम्म एउटा कर्मचारीलाई म यो संस्थामा आफ्नो कार्यकाल बिताउन सक्छु भन्ने लाग्दैन, उसलाई उक्त संस्थाप्रति जिम्मेवारी बोध खासै हुँदैन । त्यसका निमित्त कर्मचारीको मर्का संस्थाले समयदेखि नै बुझ्न आवश्यक रहन्छ । संस्थाले कर्मचारीलाई आउने–जाने प्रक्रिया हो भनी हेर्ने दृष्टिकोण परिवर्तन गरी कर्मचारीलाई कसरी सन्तुष्ट पार्ने भन्ने विषय पनि उत्तिकै महत्व पूर्ण रहन्छ । संस्थाले यो भुल्नु हुँदैन— हिजोका दिनमा राति अबेरसम्म बसेर संस्थाको नाफाका निमित्त काम गर्ने तिनै कर्मचारी थिए भनेर ।
मर्जरले सहजताभन्दा कठिनाइ निम्त्याउने अवस्थाको सिर्जना भयो भने भोलि मर्जर भन्ने नाम सुन्नासाथ कर्मचारी तर्सिने अवस्था आउने वातावरणप्रति सम्बन्धित पक्ष सजग हुन र नियमन गर्ने निकायले पनि यो पक्षलाई गम्भीरताका साथ लिन आवश्यक छ ।