पहिरो पीडितका लागि राहत संकलन «

पहिरो पीडितका लागि राहत संकलन

संखुवासभाको शिलिचोङ पहिरोबाट बिस्थापित १ सय ३६ घरपरिवारका लागि सहयोग जुटाउने उद्देश्यले शिलिचोङ गाउँपालिका समन्वय समिति काठमाडौंले सुरु गरेको सहयोग संकलन अभियानमा १९ लाख ४२ हजार संकलन भएको छ ।
शुक्रबार नेपाल पत्रकार महासंघ संखुवासभाको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरी शिलिचोङ काठमाडौँ समन्वय समितिका संयोजक संयोगान्त कुलुङ्गले पीडितका लागि देश तथा विदेशमा रहने नेपालीहरूबाट १९ लाख ४२ हजार संकलन भएको जानकारी दिए ।
उनले शिलिचोङ काठमाडौँ समन्वय समितिले १३ लाख २२ हजार १ सय २४ रुपैयाँ र शिलिचोङ गाउँपालिका १ चित्रे निवासी जाङ्बु शेर्पा र ओङ्छु शेर्पाको पहलमा उठेको ६ लाख २ हजार ३२ रुपैयाँ केही समय भित्रै शिलिचोङ गाउँपालिकासँग समन्वय गरी रकम सदुपयोग गरिने जानकारी दिए । संकलित रकम सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै शिलिचोङ काठमाडौँ समन्वय समितिका संयोजक कुलुङ्गले विपद्को मारमा परेका पीडितलाई देश तथा विदेशमा रहेर सहयोग गर्ने सम्पूर्ण सहयोगी नेपालीहरूलाई धन्यवादसमेत प्रकट गर्दै संस्थाले बिगतमा समेत बृहत स्ट्रेचर वितरण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको जानकारी दिए ।
उनले उक्त रकम पहिरोका कारण घरबासविहीन बनेका १ सय ३६ परिवारको पुनर्वासका लागि खर्च गर्न उपयुक्त रहने भन्दै घरबार बिहिन् बनेकालाई स्थानीय र प्रदेश र संघीय सरकारले समेत सहयोग गर्नूपर्ने धारणा राखे ।
सहयोग रकम सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ शाखा संखुवासभाका अध्यक्ष इन्द्र गिरीले शिलिचोङ काठमाडौँ समन्वय समितिलाई धन्यवाद प्रकट गरे । उनले संकलित रकमबाट विस्थापितको स्थायी पुनर्वासको व्यवस्था गर्न उचित हुने भन्दै विस्थापितको पुनःस्थापनाका लागि पत्रकार महासंघले सहयोगी भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए । उनले आपतकालीन अवस्थामा देश तथा विदेशमा रहेर सहयोग जुटाउन मद्दत गर्ने सबैप्रति आभार र धन्यवाद व्यक्त गरे ।
गत असार २७ गते राति शिलिचोङ गाउँपालिका–१ मा पहिरो जाँदा ९ घर बगाउनुका साथै ११ जनाको मृत्यु भएको थियो । बेपत्ताहरूलाई अहिलेसम्म फेला पर्न सकिएको छैन ।
विस्थापितहरू अहिले शिलिचोङको चित्रे र बुधबारेमा विस्थापित जिवन बिताइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्