विद्यालय तहमा नयाँ पाठ्यक्रम «

विद्यालय तहमा नयाँ पाठ्यक्रम

पाठ्यक्रम विकास केन्द्रबाट तयार गरिएको नयाँ पाठ्यक्रम क्रमशः २०७७ बाट सुरु भएर विक्रम संवत् २०८० सालसम्ममा सबै तहमा लागू भइसक्नेछ ।

यसै शैक्षिक सत्रदेखि नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय पाठ्यक्रम विकास केन्द्रले परिवर्तन गरेको विद्यालयीय तहको पाठ्यक्रमअनुसार पठनपाठन हुने भएको छ ।
यसअघिको पाठ्यक्रमका तुलनामा यो पाठ्यक्रमले नयाँ आयाम बोकेको देखिन्छ । जब लामो समयदेखि पठनपाठन हुँदै आएका विषयहरूका सट्टामा थप केही विषयको व्यवस्था हुँदा नवीनता झल्केको छ । फलस्वरूप हाल विद्यमान विषयहरू जुन विद्यालय तहमा अध्ययन हुने गरेका थिए, ती परिवर्तन गरिएका छन् ।
नयाँ पाठ्यक्रम संरचनाले पुरानो पूर्णाङ्क प्रणाली हटाएर क्रेडिट आवरको अवधारणा ल्याएको छ । नेपालमा आधुनिक शिक्षाको थालनीदेखि नै प्रचलनमा आएको पूर्णाङ्क व्यवस्थालाई हटाइएको हो । कक्षा ११ र १२ मा हप्तामा २७ क्रेडिट आवर बनाइएको छ भने कक्षा १ देखि १० सम्ममा हप्तामा ३२ घण्टाको क्रेडिट आवर कायम गरिएको छ । अबदेखि सबै तहका विद्यार्थीको मूल्यांकन अक्षरांकन पद्धतिबाट मात्र हुनेछ ।
नयाँ पाठ्यक्रमअनुसार कक्षा १ देखि ३ सम्म नेपाली, अंग्रेजी, मेरो सेरोफेरो र गणित विषयलाई एकीकृत पाठ्यक्रम बनाइएको छ । त्यस्तै स्थानीय तहले मातृभाषा र स्थानीय विषयलाई स्थानीय पाठ्यक्रमका रूपमा तयार गरी हप्ताको पाँच घण्टा अध्यापन गर्नुपर्ने व्यवस्थासमेत गरिएको छ ।
यस्तै कक्षा ४ देखि ८ को पाठ्यक्रममा मानव मूल्य शिक्षा विषय पनि थपिएको छ । हाल कक्षा ४ र ५ मा नैतिक शिक्षा थिएन । कक्षा ६ र ८ मा नैतिक शिक्षा पठनपाठन भइआएकोमा अब त्यसको सट्टामा मानव मूल्यमा आधारित शिक्षा पढाइनेछ । नैतिक शिक्षाको सट्टामा नै मानव मूल्यमा आधारित शिक्षा बनाइएको हो । यसैगरी कक्षा ६ देखि ८ सम्म अध्यापन हुँदै आएको पेसा, व्यवसाय र प्रविधिलाई यस वर्षदेखि राष्ट्रिय पाठ्यक्रमबाट हटाइएको छ भने त्यसलाई स्थानीय पाठ्यक्रममा समावेश गरिएको छ ।
कक्षा ९ र १० मा अनिवार्य विषयका रूपमा रहेको स्वास्थ्य, जनसङ्ख्या तथा वातावरण विषय हटाइएको छ । यसअगाडि आठ विषय पढाइ हुँदै आएकोमा अब सातवटा विषयमात्र पढाइ हुनेछ । विगतको स्वास्थ्य, जनसंख्या र वातावरण विषयलाई अहिलेको पाठ्यक्रमअनुरूप तीनवटा अलग–अलग विषयमा विभाजन गरेर ऐच्छिक विषयको सूचीमा समावेश गरिएको छ । अब विद्यार्थीले जनसङ्ख्या वा स्वास्थ्य वा वातावरणमध्ये कुनै एकवटा रोजेर अध्ययन गर्नु पर्ने व्यवस्था गरिएको हो ।
कक्षा १० र १२ मा अनिवार्य विषयका रूपमा नेपाली राखिएको छ । कक्षा ११ मा व्यवस्थापन, मानविकी र शिक्षा सङ्कायमा र कक्षा १२ मा विज्ञान सङ्कायमा नेपाली विषय पढाइने गरिन्थ्यो अब यस शैक्षिक सत्रदेखि अनिवार्य रूपमा कक्षा ११ र १२ मा यसको पठन–पाठन हुनेछ । त्यस्तै कक्षा १२ मा जीवनोपयोगी शिक्षा समावेश गरिएको छ । कक्षा ११ र १२ मा विषय सङ्काय समूहको प्रावधान हटाइएको छ । अब विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा वा अन्य समूह भनेर भन्न पाइँदैन । आगामी शैक्षिक सत्रबाट एकल पथीय पाठ्यक्रम लागू हुनेछ । समूहमा राखिएका विभिन्न ऐच्छिक विषयहरूमध्येबाट कुनै तीनवटा विषय विद्यार्थीले छनोट गर्न पाउनेछन् ।
यस शैक्षिक सत्र २०७७ बाट कक्षा १ र कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू हुनेछ । यसैगरी कक्षा ६ मा नयाँ पाठ्यक्रम परीक्षणका रूपमा लागू गरिँदैछ । कक्षा ४ देखि १० सम्म विज्ञान तथा प्रविधि विषयको अध्यापन गरिनेछ । यस पूर्व विज्ञान मात्र अध्यापन हुने गरेकोमा यस वर्षदेखि त्यसमा प्रविधि पनि थपेर विज्ञान र प्रविधि विषय बनाइएको हो । पाठ्यक्रम विकास केन्द्रबाट तयार गरिएको नयाँ पाठ्यक्रम क्रमशः २०७७ बाट सुरु भएर विक्रम संवत् २०८० सालसम्ममा सबै तहमा लागू भइसक्नेछ ।
नेपाली शिक्षाले विश्व वजारमा स्थान प्राप्त गर्न अझ सहज होस् भनेर यस वर्षदेखि पाठ्यक्रमले विज्ञान विषयमा प्रविधि पनि थप गरिएको हो । कहिले ऐच्छिक विषयमा पठनपाठन हुने विज्ञान हाल आएर विज्ञान प्रविधि विषयका रूपमा पठनपाठन हुने भएको छ । विश्वमा विकास हुँदै आएको प्रविधिबारे विद्यार्थीलाई सिकाउने उद्देश्यले प्रविधि विषय पनि त्यसमा थप गरिएको हो । नेपालमा विक्रम संवत् १९९० सालबाट एसएलसी परीक्षाको थालनी भएको हो । त्यो बेला अतिरिक्त विषयका रूपमा विज्ञानलाई साधारण विषयका रूपमा पठन–पाठन गरिन्थ्यो । जब नयाँ शिक्षा लागू भयो यो अनिवार्य नेपाली विषयका रूपमा समावेश भयो र विक्रम संवत् २०३१ सालबाट प्रवेशिका परीक्षामा समावेश भएको थियो ।
पाठ्यक्रमले गरेका विभिन्न व्यवस्थामाथि पनि विरोध भएको पाइन्छ । हामीलाई थाहा नै छ, कक्षा ११ र १२ मा गणित विषयलाई ऐच्छिक विषयमा राखेका कारण गणित शिक्षकहरूले त्यसको विरोध गरेका थिए । गणित ज्ञानको आवश्यकता व्यापक भएका कारण गणितबिनाको शिक्षणले त्यसलाई पूर्णता नदिने गणित शिक्षकहरूको दाबी रहेको छ ।
कक्षा ११ र १२ मा नेपाली, अंग्रेजी, नेपाल अध्ययन र सीपमा आधारित विषय गरी चारवटा अनिवार्य र तीनवटा ऐच्छिक विषय रहनेछन् । यसैगरी कक्षा ९ र १० मा अनिवार्य विषय पाँचवटा र ऐच्छिक दुईवटा रहने व्यवस्था गरिएको छ ।
त्यस्तै पाठ्यक्रम विकास केन्द्रले विगत १५ वर्षदेखि परिवर्तन नभएका ऐच्छिक विषयको पाठ्यक्रम पनि परिवर्तन गरेको छ । कक्षा ९ को २०७५ र कक्षा १० को २०७६ बाट कार्यान्वयनमा आएको थियो । ऐच्छिक विषयहरू विगत १५ वर्षदेखि परिवर्तन भएका थिएनन्, अनिवार्य विषय भने यसअगावै परिवर्तन भएर कार्यान्वयनमा आइसकेको छ ।
कक्षा ८ को परीक्षा स्थानीय तहमा हुनेछ । यसैगरी कक्षा १०, ११ र १२ मा राष्ट्रिय परीक्षा बोर्डले नै परीक्षा सञ्चालन गर्ने व्यवस्था पाठ्यक्रममा निर्दिष्ट गरिएको छ । कक्षा १० को परीक्षा प्रदेश स्तरमा र कक्षा ११ र १२ को परीक्षा राष्ट्रिय स्तरमा हुनेछ । तर, कोभिड १९ का कारण कक्षा १० र ११ को परीक्षा आन्तरिक मूल्याङ्कनका आधारमा हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्