मकवानपुरमा पहिलो पटक उत्पादनमा आधारित कृषि बिमा सुरु

मकवानपुरमा पहिलो पटक उत्पादनमा आधारित बाली बिमा सुरु गरिएको छ । कृषि बिमाप्रति मकवानपुरका कृषकहरूको आकर्षण बढ्ने क्रमसँगै उत्पादनमा आधारित बाली बिमा पनि सुरु भएको हो ।
मकवानपुर गढी गाउँपालिकाका तरकारी कृषकहरूको उत्पादनमा आधारित तरकारी बाली बिमा सुरु गरिएको गाउँपालिकाले जनाएको छ । यसअघि जिल्लाका कृषकहरूले लागतमा आधारित बाली बिमा गरिँदै आएकोमा अब उत्पादनमा आधारित बिमा पनि पहिलोपटक सुरु भएको मकवानपुर गढी गाउँपालिकाका कृषि संयोजक चन्द्रकान्त झाले जानकारी दिए ।
लागतमा आधारित बाली बिमाअन्तर्गत रोपेदेखि उत्पादन टिप्दासम्म भएको लगानीको मात्र बिमा हुने गर्दछ । उत्पादनमा आधारित बाली बिमाका लागि सरकारले क्षेत्रफलअनुसार बाली उत्पादन हुने परिणामको सीमा निर्धारण गरेको छ । बालीअनुसार उत्पादन हुने परिणामसमेत फरक हुने भन्दै अहिले तरकारी बाली, अदुवा, बेसार, बीउ उत्पादन र चैते धान खेतीमा मात्र बिमा हुने मकवानपुर गढी गाउँपालिकाका कृषि संयोजक झाले बताए ।
उनका अनुसार उत्पादनमा आधारित बाली बिमामा क्षेत्रफल, बाली अनुसार उत्पादन हुने परिणाम र मूल्य तोकिएको हुन्छ र उत्पादन हुने रकमको बाली बिमा गरिन्छ ।
लागतमा आधारित बाली बिमा गराउँदा बिमांक रकमको पाँच प्रतिशत प्रिमियममध्येमा ७५ प्रतिशत सरकारले अनुदान दिने गरेको छ । उत्पादनमा आधारित बाली बिमा गर्दा भने बिमांक रकमको ७ प्रतिशत प्रिमियम रकममध्येमा ७५ प्रतिशत सरकारले अनुदान दिने जनाइएको छ ।
–केशव समर्पण