Logo

दूधमा आत्मनिर्भर बनाउन गाई फर्म सञ्चालन

सिन्धुलीको मरिण गाउँपालिकाले पालिकालाई दूधमा आत्मनिर्भर बनाउन किसानलाई प्रोत्साहन कार्यक्रम सुरु गरेको छ । किसानहरुलाई व्यावसायिक गाई पालनमा प्रोत्साहनका लागि अनुदानको कार्यक्रम ल्याएको हो ।
व्यावसायिक गाई पालनमार्फत गाउँपालिकालाई दूधमा आत्मनिर्भर बनाउन अनुदानको कार्यक्रम ल्याइएको पालिकाले जनाएको छ । यहाँका अधिकांश किसानहरु कृषि तथा पशुपालनमा आवद्ध भएपनि व्यावसायिक बन्न नसकेकाले किसानहरुलाई प्रोत्साहका लागि कार्यक्रम सुरु गरिएको गाउँपालिका अध्यक्ष पानीराज बम्जनले जानकारी दिए ।
गाउँपालिकाका सबै वडामा गाई फार्म सञ्चालन गर्ने घोषणा गरे अनुरुप नै किसानलाई अनुदानको व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ । पालिकाका अनुसार फर्म सञ्चालनका लागि ३० लाख रुपैयाँका दरले बजेट विनियोजन भएको छ ।
फर्म सञ्चालनका लागि सहकारी संस्थामार्फत अनुदान परिचालन गरिएको जनाइएको छ । सोही कार्यक्रमअन्तरगत ७ नम्बर वडा जयमंगलमा गाई फर्म सञ्चालनमा आइसकेको गाउँपालिका अध्यक्ष पानीराज बम्जनले जानकारी दिए । कपिलाकोट साना किसान कृषि सहकारी संस्थाले गाई फर्म सञ्चालन गरेको हो ।
फर्ममा सहकारीले होल्यान्ड जातको १४ वटा दूध दिने गाई र २ वटा बाच्छी खरिद गरी ल्याएको मरिण बम्जनले बताए । बम्जनका अनुसार गाईफर्ममा उत्पादन भएको दूधको बिक्री वितरणका लागि डेरी तथा चिस्यान केन्द्र पनि निर्माण गरी सञ्चालनमा ल्याइएको छ । गाउँपालिकाको ९ लाख रुपैयाँ आर्थिक सहयोगमा कपिलाकोट साना किसान कृषि सहकारी संस्थाले नै केन्द्रको स्थापना गरी सञ्चालन गरेको हो ।
फर्म सञ्चालन कार्यक्रम अन्य वडामा भने चालू आवमा निरञ्तरता दिइने गाउँपालिकाले जनाएको छ । कोरोना भाइरसका कारण अरु वडाहरुमा गाई फर्म सञ्चालन गर्न नसकिएको बताइएको छ । “गाउँपालिकालाई दूधमा आत्मनिर्भर बनाउन भनेर हामीले गाई फर्म सञ्चालनको योजना ल्याएका थियौं ।” अध्यक्ष बम्जनले भने, “लकडाउनका कारण हामीले सोचे जति काम अगाडी बढाउन सकेनौं । काम नहुने भएपछि हामीले फर्म सञ्चालनका लागि छुट्याएको बजेटसमेत रकमान्तर ग-यौं ।” पछिल्लो समय कृषि तथा पशु पालन व्यवसायमा युवाहरुको आकर्षणलाई मध्यनजर गर्दै कार्यक्रम ल्याएको उनले बताए ।
गाउँपालिकाका अधिकांश किसान गाई तथा भैंसी पालनमा आवद्ध छन् । भौगोलिक हिसावले पनि पशु पालनका लागि मरिणलाई राम्रो मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्