गाउँका घर बनाउदै महिला डकर्मी «

गाउँका घर बनाउदै महिला डकर्मी

वर्ष दिनअघि डकर्मी तालिम लिएकी चौतारा साँगाचोकगढी नगरपालिका–११ कि अन्जु माझीको दिनचर्या अचेल छिमेकीको घर पुनर्निर्माण गरेरै बित्छ । भूकम्पको एकै झट्काले सिंगो गाउँका घर ढालेपछि अहिले उनीसहित पुनर्निर्माणको टोली गाउँ ठड्याउने काममा व्यस्त छ ।
यो गाउँ (एक्लेफाँट)मा रहेका माझी समुदायका ३६ घर एकै साथ निर्माण भइरहेको छ । यहाँ काम गर्ने पुरुषभन्दा महिला बढी सक्रिय छन् । “पहिला संस्थाहरूले दिएको तालिममा सहभागी भएँ, अहिले काम गर्न सजिलो भएको छ,” अन्जुले भनिन्, “गाह्रोसमेत लगाउन सक्ने भएकी छु ।” उनले ढुंगा, बालुवा, इँटा बोक्ने र गाह्रोे लगाउनेमा महिलासमेत हुने गरेको बताइन् । गाउँमा पढेलेखेका युवा सहर केन्द्रित छन् । यहाँ रहेका अधिकांश पुरुष वृद्ध भएकाले गाउँ ठड्याउने जिम्मेवारी महिलाकै काँधमा आएको हो । “गाउँका धेरै महिलालाई विभिन्न संस्थाले तालिम दिएको छ,” उनी भन्छिन्, “त्यसैले महिला धेरै भए पनि घर बनाउने आँट गरेका हौं ।”
पुनर्निर्माणमा खटेकी दिलकुमारी माझी अन्जुकै टोलीमा छन् । उनी पनि अन्य महिलासँगै बिहानैदेखि घाम नअस्ताउन्जेल इँटा, बालुवासँग खेल्छिन् । तर, उनले अन्जुलेजस्तै तालिम भने लिएकी छैनन् । “साथीहरूले गरेको हेरेरै सिकियो,” दिलकुमारी भन्छिन्, “इच्छा भएपछि कुनै पनि सीप सिक्न समय लाग्दो रहेनछ ।” उनीसहित रहेको महिला डकर्मी पुनर्निर्माण टोलीले एक्लेफाँट बस्तीमा मात्रै १५ वटा घर ‘रेक्ट्रोफिटिङ’ गरिसकेको छ ।
“विभिन्न समय र स्थानमा विभिन्न गैरसरकारी संस्थाले महिलालाई पुनर्निर्माणमा ल्याउन तालिम दिएको थियो,” तालिमपछि दक्ष डकर्मी बनेर पुनर्निर्माणमा होमिएकी मन्जु माझीले भनिन्, “पहिला पुरुषले गर्ने काम अहिले हामीले गरेका छौं ।” उनले सिमेन्ट, बालुवा, गिट्टीको मात्रा मिलाएर आफैंले घोल्ने गरेको बताइन् । “एक महिना सिकेको तालिम अहिले गाउँमा निकै काम लागेको छ,” उनले भनिन् ।
मन्जुले आफ्नै सक्रियतामा आफ्नो घर निर्माण सम्पन्न गरिसकिन् । अहिले उनी छिमेकीको घर ठड्याउन व्यस्त छिन् । “साताअघि आफ्नो सकाएँ, अहिले छिमेकीलाई सघाउँदै छु,” उनी भन्छिन्, “गाउँमा रहेका सबैको घर नबनेसम्म पुनर्निर्माण रोक्ने छैनौं ।” गाउँवासीले उनीसहितको टोलीलाई सिंगो माझी गाउँका घरको ‘रेक्ट्रोफिटिङ’ को जिम्मा दिएको छ । “आफ्नै गाउँ हो, जिम्मेवारी जतिसक्दो चाँडो सक्न हामी बिहानैदेखि काममा खट्छौं ।” उनले गर्वसाथ भनिन् ।
एक्लेफाँटमा मात्रै २० भन्दा बढी महिलाले दक्ष डकर्मीको तालिम लिएका छन् । तालिम प्राप्तहरूले गाउँमा रहेका अन्य महिलालाई पनि सिकाइरहेका छन् । मन्जुसँगै तीन महिनादेखि विस्तारै डकर्मी सिक्दै आएकी गोपिनी माझीले पर्खाल लगाउन र झ्यालमा लगाउने ‘रेक्ट्रोफिटिङ लक’ बारे सबै कुरा जानिसकेकी छन् । “अन्य कुनै सीप थिएन, अहिले आयआर्जनको बाटोसमेत बनेको छ,” गोपिनीले भनिन् ।
गाउँका महिला एकै साथ पुनर्निर्माणमा लागेकाले छिट्टै भूकम्पपीडितका घर ठडिइने गाउँका वृद्ध रामजी माझी बताउँछन् । “छोरी, बुहारीको सक्रियता देखेर निकै खुसी छु,” उनले भने, “पुरुषले भन्दा उनीहरूले मेहनत गरेर काम गरिरहेका छन् ।” पुरुषको तुलनामा महिलामा बढी जिम्मेवारीबोध हुने भएकाले घरहरू चाँडै बन्ने विश्वास रहेको उनी बताउँछन् ।
महिलाहरूसँगै गाउँमा रहेका युवा र अन्य पुरुष पनि पुनर्निर्माणमा खटिएका छन् । युवाहरू अध्ययन तथा रोजगारीका क्रममा सहर पसेकाले अधिकांश काम महिलाले गरेको रामजीले बताए । सबै माझी परिवार रहेको यो गाउँ आसपास गैह्रीथोक, पौवाथोक र भिमटारमा महिला डकर्मीको सक्रियताकै कारण पुनर्निर्माणले तीव्रता पाएको छ ।

प्रतिक्रिया दिनुहोस्