Logo

सिँचाइ गर्न पक्की कुलो बनेपछि किसान खुसी

प्यूठान– सिँचाइ सुविधा नहुँदा समयमै खेती गर्न नपाएका मल्लरानी गाउँपालिका–२ बान्नाका किसान सिँचाइ कुलो निर्माण भएसँगै खुसी भएका छन् । मल्लरानी गाउँपालिकाअन्तर्गत मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमको सहयोगमा यस वर्ष पक्की कुलो निर्माण भएपछि किसानलाई खेती गर्न सहज भएको हो ।
बर्सेनि कच्ची कुलो मर्मत गर्नुपर्दा सिँचाइको समस्या झेल्दै आएका किसान पक्की कुलो निर्माण भएसँगै समयमयै धानखेती गरेका छन् । झण्डै २ सय मिटर पक्की सिँचाइ कुलो निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष मदनबहादुर जैसीले बताए । “व्यवस्थित कुलो नहुँदा बर्सेनि मर्मत गर्नुपर्ने समस्या थियो,” अध्यक्ष जैसीले भने, “यो वर्ष पक्की कुलोबाट नियमित पानी आउँदा सहज भएको छ ।” धेरै टाढाबाट आएको कुलो भएकाले कच्ची हुँदा धेरै ठाउँमा बिग्रिरहने र पानी बन्द हुने समस्या रहेको उनले बताए ।
करिब एक हजार मिटर लामो कच्ची कुलोमध्ये यो वर्ष २ सय मिटर पक्की कुलो निर्माण भएको छ । “अहिले २ सय रोपनी जति जग्गा पक्की कुलोबाट सिँचित भएको छ,” जैसीले भने, “बाँकी रहेको भागमा समेत पक्की कुलो बनाउन पाए राहत पुग्थ्यो ।”
सिँचाइ सुविधा भएपछि यहाँका स्थानीय अन्नबालीसँगै तरकारी खेतीबाट आम्दानी लिने सोचमा छन् । नियमित पानी उपलव्ध भएपछि किसानहरू मौसमी बेमौसमी तरकारी खेती गर्ने सोच भएको स्थानीय हिमाल केसी बताउँछन् । “यो क्षेत्रलाई तरकारी पकेट क्षेत्रको रूपमा समेत अगाडि बढाउन सकिने अवस्था छ,” उनले भने, “सिँचाइ सुविधाले सबैजना उत्साहित भएका छौं ।”
कार्यक्रमको एक लाख ९६ हजार रुपैयाँमा स्थानीयले जनश्रमदानसमेत गरेपछि पक्की कुलो बनाएको उपभोक्ता समितिका अध्यक्ष जैसीले बताए ।

प्रतिक्रिया दिनुहोस्