Logo

देशभरका अधिकांश मुख्य र साना सडक अवरुद्ध

बाढीपहिरोको प्रकोप

देशभर १२३ जनाको मृत्यु

विराटनगर-विगत ३ दिनदेखि परेको अविरल वर्षाका कारण देशभरका अधिकांश मुख्य र साना सडकहरू अवरद्ध भएका छन् ।
पहाडी र हिमाली जिल्लाका सडक भने पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले बताएको छ । सडक विभागका अनुसार देशभरका ३० वटा राजमार्गका ३३ वटा सडकखण्ड पहिरोले अवरूद्ध भएको छ । पहिरोले अवरूद्ध भएका ३६ वटा सडकखण्ड पूर्णरूपमा सञ्चालनमा आएका छन् भने १३ वटा सडक एकतर्फीरूपमा सञ्चालनमा ल्याइएको सडक विभागको सम्भार महाशाखाले जनाएको छ ।
संघीय राजधानी काठमाडौं जोड्ने पृथ्वी राजमार्गअन्तर्गत नौविसे–मुग्लिङ सडक अवरुद्ध भएको छ । सो सडकखण्डमा साना–ठूला २०० भन्दा बढी पहिरो खसेका छन् । राजमार्गका विभिन्न ठाउँमा सडक अवरुद्ध हुँदा सवारी आवतजावत पूर्ण रूपमा बन्द रहेको चितवन प्रहरीले जनाएको छ ।
वर्षापछि आएको बाढीकै कारण पृथ्वी राजमार्गको मौवाखोलामा पुल बगाउँदा काठमाडौं प्रवेश गर्ने मुख्य सडक नै बन्द भएको छ । सोमबारदेखि पुल भत्किएपछि यातायात सेवा नै अवरूद्ध भएको छ । चितवन र धादिङ जोड्ने मौवाखोलाको पुल र सडक जोड्ने भाग नै बगाएको छ ।
सो खण्ड डिभिजन सडक कार्यालय भरतपुरले हेर्ने गर्दछ । कार्यालयका प्रमुख इन्जिनियर कृष्णराज अधिकारीका अनुसार मंगलबार पनि ठाउँ–ठाउँमा पहिरो खस्ने क्रम जारी छ । बिहान मात्र जोगिमारामा ठूलो पहिरो खसेको छ । “मुग्लिन–नौबिसे सडकखण्डमा मात्र साना–ठूला २०० भन्दा बढी पहिरो खसेका छन्,” उनले भने, “सबैभन्दा बढी समस्या मौवाखोलामा रहेको छ ।”
त्यस्तै लगातार परिरहेको अविरल वर्षाकै कारण देशका विभिन्न सडकहरू अवरूद्ध भएको सडक विभागले जनाएको छ । काठमाडौं प्रवेश गर्ने मुख्य सडक अवरूद्ध भएकोले सुचारू गर्न प्रयास भइरहेको सडक विभागका प्रवक्ता शिवहरि सापकोटाले जानकारी दिए ।
“मौसमले साथ दिएमा बुधबारसम्म सुचारू गर्नका लागि जनशक्ति परिचालन गरिसकेका छौं,” सापकोटाले भने, “अझै पनि ठाउँ–ठाउँमा पहिरो खस्ने क्रम जारी छ ।” सडक विभागको तथ्यांकअनुसार पछिल्लो एक हप्ताको अवधिमा देशभरका ३६ वटा साना–ठूला सडक अवरूद्ध रहेका छन् । त्यस्तै १७ वटा सडक आंशिक र एकतर्फी रूपमा सुचारू गरिएका छन् । ३८ वटा सडक भने सुचारू गरिएको विभागले जनाएको छ । ठाउँ–ठाउँमा पहिरो जाने र सडक अवरूद्ध हुने क्रम जारी नै रहेकाले सडक सुचारु गर्न समस्या भइरहेको सापकोटाले बताए ।
नारायणगढ–मुग्लिङ सडकअन्तर्गत चारकिलो डाँडामा निरन्तर वर्षाका कारण सडक अवरूद्ध छ । त्यस्तै मलेखु–मुग्लिङको जोगिमारामा पहिरो खस्दा सडक हिजोदेखि अवरूद्ध छ । त्यस्तै मलेखु–धादिङबेसीको परेवाटार क्षेत्रमा पनि सोमबारदेखि सडक अवरूद्ध हुन पुगेको छ ।
डुम्रे–बेसीसहर सडकमा पनि अवरूद्ध भएर यातायात अवरूद्ध छ । त्यस्तै बेसीसहर–चामे सडकअन्तर्गत ९ स्थानमा सडक अवरूद्ध भएको छ । वर्षा हुने क्रम नरोकिएकाले त्यहाँ सुचारू गर्न नसकिएको विभागले जनाएको छ । “ठाउँ–ठाउँमा पहिरो जाने र सडक अवरूद्ध हुने क्रम जारी नै छ,” प्रवक्ता सापकोटाले भने, “सडक विभागको जनशक्ति र आवश्यक सामग्री परिचालन भएर काम भइरहेको छ ।”
अरनिको राजमार्ग विभिन्न ६ स्थानमा अवरूद्ध भएको छ । साँफेबगर–मार्तडी सडकखण्ड भने १० दिनदेखि अवरूद्ध रहेको विभागले जनाएको छ । बूढीगंगा नदीको बहावले सडक कटान गरेपछि अवरूद्ध भएको सडक सुचारू गर्ने प्रयास भइरहेको सडक डिभिजन साँफेबगर अछामले जनाएको छ । उक्त सडककै अन्य तीन स्थानमा पनि सडक अवरूद्ध भएको छ । बेनी–जोमसोम–केरला सडक असार २७ गतेदेखि अवरूद्ध छ । बीपी राजमार्ग र शिद्धिचरण राजमार्गका केही स्थानमा अवरूद्ध सडक सुचारू भइसकेको छ । तर शिद्धिचरणकै सिस्नेभीर क्षेत्रमा अवरूद्ध सडक र बीपी राजमार्गकै कमेरेफाट–टुपिडाँडा क्षेत्रमा चार ठाउँमा अवरूद्ध सडक भने सुचारू हुन सकेको छैन । “सडकका ठाउँ–ठाउँमा ठूलो पहिरो गएका कारण पन्छाउन अझै केही दिन लाग्ने देखिएको छ,” उनले भने ।
वीपी राजमार्ग र मध्यपहाडी लोकमार्ग पहिराका कारण अवरुद्ध भएका छन् । सिन्धुली सडकखण्डमा पर्ने दुवै राजमार्गमा लेदो र पहिरो खसेपछि राजमार्ग अवरुद्ध बनेको हो । वीपी राजमार्गअन्तर्गत सुनकोशी गाउँपालिकामा पर्ने कमेरे फाँटमा सडकमा लेदो खस्दा राजमार्गमा दुवैतर्फीका सवारी साधन रोकिएका छन् । अवरुद्ध राजमार्ग पुनः सञ्चालन गर्ने कार्य भइरहेको सिन्धुली प्रहरीले जनाएको छ । केही समयअघि उक्त स्थानमा खसेको लेदो पन्छाई एकतर्फी सवारीसाधन सञ्चालन गरिए पनि फेरि लेदो खसी राजमार्ग अवरुद्ध भएको प्रहरीको भनाइ छ ।
यस्तै मध्यहाडी–पुष्पलाल) राजमार्गअन्तर्गत बादुरे र सोखु खोलामा ठूलो बाढी आएपछि सवारी आवागमन रोकिएका छन् । उक्त स्थानमा पप्पु कन्स्ट्रक्सनले पुल समयमा नै नबनाउँदा खोलामा आएको बाढीका कारण साधन रोकिनुपरेको हो । अविरल वर्षाका कारण आएको पहिरोले गोरखा–आँबुखैरेनी सडकखण्ड अवरुद्ध भएको छ । त्यस्तै अरनिको राजमार्ग पनि अवरुद्ध रहेको छ । पानीको अत्याधिक बहावपछि चन्द्रनिगाहपुर–गौर सडक खण्ड पनि अवरुद्ध भएको छ ।

बाढीपहिरोका कारण १२३ जनाको मृत्यु
अविरल वर्षापछि आएको बाढीपहिरोमा परी हालसम्म १२३ जनाको मृत्यु भएको छ । जेठ ३० गतेदेखि मंगलबारसम्म बाढीपहिरोमा परी मुलुकभर १२३ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । यस्तै ११९ जना घाइते भएका छन् भने ४६ जना अझै बेपत्ता छन् ।
९ जनाको जीवितै उद्धार गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । बाढीपहिरोमा परी सबैभन्दा बढी गण्डकीमा ७३ जनाले ज्यान गुमाएका छन् । गण्डकीमा ५८ जना घाइते हुँदा ५ जना बेपत्ता छन् । त्यस्तै प्रदेश–१ मा २ जनाको मृत्यु भएको छ भने १० जना घाइते र ११ जना बेपत्ता छन् । प्रदेश–२ मा अहिलेसम्म कसैको पनि मृत्यु नभएको प्रहरीको भनाइ छ । २ नम्बर प्रदेशमा घाइते र बेपत्ता हुनेको संख्या ७–७ जना रहेको छ । यस्तै वाग्मतीमा ८ जनाले ज्यान गुमाएका छन् ।
१४ जना घाइते हुँदा बाग्मतीमा २४ जना अझै बेपत्ता छन् । प्रदेश–५ मा ९ जनाले ज्यान गुमाउँदा १२ जना घाइते भएका छन् । त्यस्तै १ जना बेपत्ता छन् । कर्णाली प्रदेशमा १६ जनाको मृत्यु हुँदा ८ जना घाइते भएका छन् । कर्णालीमा ३ जना अझै हराइरहेका छन् । सुदूरपश्चिम प्रदेशमा १४ जनाको मृत्यु भएको छ । १० जना घाइत हुँदा सुदूरपश्चिममा २ जना बेपत्ता छन् । प्रदेश–१ मा ५, गण्डकीमा १ र सुदूरपश्चिम प्रदेशमा ३ जनाको जीवितै उद्धार गरिएको प्रहरी प्रधान कार्यालयको तथ्यांकमा उल्लेख छ ।

 

प्रतिक्रिया दिनुहोस्