Logo

सामाजिक विषयको अध्ययनमा जटिलता

विषयको गम्भीरता र जटिलतालाई नियाल्दा सामाजिक विषय अध्यापन गराउने कार्य कम्ती चुनौतीपूर्ण भने छैन ।

विश्वका देश, त्यहाँको साक्षरता दर, क्षेत्रफल, झन्डा, मुद्रा, भाषालगायत अनेकौं जानकारी दिने सामाजिक विषय राम्ररी पढ्ने विद्यार्थी सहजै लोकसेवा आयोगको नायब सुब्बा पदमा सफलता प्राप्त गर्न सक्षमसमेत हुन्छन् ।

विगत १५ वर्षअगाडिदेखि सामाजिक विषयको अध्ययन–अध्यापन हुन थालेको देखिन्छ । त्यसभन्दा अगाडि माध्यमिक तहमा छुट्टै सामाजिक अध्ययनको विषय नभई इतिहास, भूगोल भनेर फरक–फरक विषय निर्धारण गरिएको थियो । जबदेखि माध्यमिक तहमा ८ सय पूर्णाङ्क निर्धारण गरी पठनपाठन गर्न थालियो तब हामीले सामाजिक अध्ययन विषयलाई अनिवार्य विषयका रूपमा अध्यापन गराउँदै आएका छौं । अब आगामी वर्ष कक्षा ११ मा पनि यस विषयको पठन–पाठन हुने भएको छ । खास गरी निजी विद्यालयका विद्यार्थीका लागि कठिन भनिएको सामाजिक अध्ययन विषयलाई निकै महत्वका साथ हेरिन्थ्यो र अहिले पनि त्यही अवस्था छ, तर जति यस विषयका लागि दक्ष जनशक्ति उत्पादनमा जोड दिनुपर्ने हो त्यो भने भएको पाइँदैन ।
अधिकांश विद्यार्थी ग्रेड कम वा डीदेखि बल्ल माथि आउने पढ्न लाग्दा विद्यार्थीलाई सबै एकाइका बारेमा पूर्वजानकारी पनि भएकै हुन्छ, किनभने ६ कक्षादेखि तिनै विषयवस्तुका बारेमा सुन्दै, पढ्दै अभ्यासका प्रश्नहरूको हल पनि गर्दै गराउँदै आएका त हुन्छन्, तर जुन कक्षामा जति मात्रामा जान्न र बुझ्न या त सम्बन्धित शीर्षकभित्र रहेर आफ्नो समाज, परिवार, संस्कृति तथा सामाजिक विकृतिका बारेमा स्पष्टताका साथ बताउनुपथ्र्यो, त्यो भने फिटिक्कै सक्तैनन् । विद्यार्थीले नसक्नु भनेको अप्रत्यक्ष रूपमा शिक्षकले नै नसकेको हो भन्ने मानिन्छ । हाम्रो परिवेशमा हुन पनि चालकले नै गाडी हाँक्न वा चलाउन जान्दैन भने यात्रुको दोष त किन हुने भयो र ? आज पनि ठूला र नाम चलेका विद्यालयमा सबैभन्दा कम ग्रेड अथवा अक्षराङ्कन गर्ने हो भने समस्या भनेकै सामाजिक अध्ययन विषयमा देखिन्छ ।
गणित, अंग्रेजी, नेपाली, विज्ञानपछि सामाजिक विषयलाई पनि अनिवार्य, अलिक चर्चित र समस्यामूलक मानिँदै आइयो । नेपाली विषय जन्मदेखि वा ताते, मामा, आमा, चाचा भन्न थालेदेखि बोलिँदै आएको भएर होला, सरल मानिन्छ । बोल्ने सवालमा तर लेख्य वा परीक्षामा उत्तर दिने समय, यसमा पनि निजी विद्यालयमा झनै समस्या रहेकै छ । गणित र विज्ञानलाई जति महत्वका साथ हेरिन्छ, त्यसैगरी हेर्ने हो भने सामाजिक विषयले अझै आफ्नो महिमा व्यापक बनाउने देखिन्छ । सामाजिक विषयमा पनि प्रयोगात्मक नम्बरको व्यवस्था नभएको होइन । १ सय पूर्णाङ्कमा ७५ अंकबराबरको ग्रेडिङ विद्यालयको हातमा थियो भने यस वर्ष कोरोना रोगको विश्वव्यापी महामारीका कारण अन्ततः एसईई परीक्षा अमेरिका डिभीझैं बनाइयो ।
सम्पूर्ण तयारी गरेर पनि अघिल्लो रात एकाएक स्थगित भएको एसईई जेठको अन्तिममा पनि गर्न चाहेको भए गर्न नसकिने अवस्था थिएन । असारमा पनि अन्य सबै क्रियाकलापमा पूर्ण कडाइ गर्दै लकडाउन गरेर एक हप्ताभित्र लगातार परीक्षा लिई उत्तर पुस्तिका प्रवेशमा संकलन गर्न सकिने देखिन्थ्यो, तर मन्त्रालय किन र कसका कारण लामो पद्धति र विश्वसनीय मार्गबाट विमुख भयो, त्यो भने बुझ्न सकिएको छैन । ८ सय पूर्णाङ्कमा विद्यालयबाट ६ वटा विषयको प्रयोगात्मक १ सय ५० को कतिपय विद्यार्थीलाई त पूर्णाङ्क नै पठाइने गरिएको हो । अहिले कोभिड–१९ का कारणले ८ सयको नै विद्यालयबाट पहिलेको परीक्षालाई आधार बनाएर पठाउने त्यसलाई स्थानीय शिक्षा शाखाबाट सिफारिस गर्दै राष्ट्रिय परीक्षा बोर्डबाट सोही ग्रेडलाई प्रमाणपत्रमा बदल्ने र प्रमाणित प्रमाणपत्र विद्यालयका नाममा वितरण गरिने भएको न हो ।
नेपाल सरकारले वि.सं. २०५७-५८ देखि नै तालिम पनि दिने गरेको हो, त्यो पनि बिस्तारै घट्दै गएर अब त हटेकै हो कि भन्ने अवस्थामा पुगेको छ । शिक्षकलाई समयसापेक्ष रूपमा सक्रिय र विषयगत समस्या भएमा त्यसको समाधान गर्न सक्षम बनाउने उद्देश्यले पेसागत तालिम टीपीडीका नाममा पनि सञ्चालन भएर धेरै राम्रो, प्रभावकारी भएको पनि थियो, तर पछिल्ला वर्षमा तालिमको कुनै प्रभावकारिता र नगन्य मात्रामा मात्र चलिरहेको पाइन्छ । सामाजिक अध्ययनमा समसामायिक राष्ट्रिय घटना मात्र नभई विश्व घटना तथा राजनीतिमा भएको परिवर्तन, संविधानमा गरिने संशोधनलगायतका गम्भीर विषयमा जानकार रहनुपर्छ । त्यतिमात्र नभई राष्ट्रियता, सीमा सुरक्षा, अन्तर्राष्ट्रिय सहयोग र सम्बन्धजस्ता ज्यादै महत्वका विषयहरू त राम्ररी अध्यापन गरी विद्यार्थीलाई बुझाई उनीहरूलाई बताउन सक्ने बनाउनुपर्ने दायित्व पनि विषय शिक्षककै हो ।
पाठहरूको शीर्षक हेर्दा र सरसर्ती पढ्दा सामान्यझंै लाग्छन्, तर विषयको गम्भीरता र जटिलतालाई नियाल्दा यो विषय अध्यापन गराउने कार्य कम्ती चुनौतीपूर्ण भने छैन । तिमी जन्मेको प्रदेश, जिल्ला, स्थानीय तहको परिचय सरर बताऊ त भन्ने हो भने ११ कक्षामा पुगेकै विद्यार्थीसमेत अलमल्लमा पर्ने अवस्था छ । हावापानीको प्रकार, कुन स्थानमा कस्तो मौसम हुन्छ, कहाँ गर्मी र कुन स्थानमा बढी चिसो हुन्छ ? भन्ने प्रश्नका उत्तर खरर दिन नसक्ने विद्यार्थीको संख्या ठूलै भेटिन्छ । इतिहासको स्रोत, त्यसका प्रकार अनि समय रेखा किन बनाइन्छ ? त्यसका फाइदा के हुन् ? आदिको जवाफ पनि सहजै पाइँदैन । अक्षांश, देशान्तर, कर्कट रेखा, मकर रेखा, अन्तर्राष्ट्रिय तिथि रेखाजस्ता प्रश्न अत्यन्तै जटिल हुन्छ विद्यार्थीका लागि ।
अन्तर्राष्ट्रिय सम्बन्धको महत्व, मित्रतापूर्ण सहयोगको आदानप्रदान, सार्कको गठन प्रक्रिया र महिमा, संवैधानिक अंगको नाम, काम आदिमा विद्यार्थी अलमलमा परेको पाइन्छ । त्यस्तै निर्वाचन प्रणाली, मताधिकारको प्रयोग, निर्वाचन आयोगको कार्यलगायतका धेरै सवालमा विद्यार्थी अड्किने गर्छन् । भ्रष्टाचार नियन्त्रण गर्न कुन निकाय वा अंग सक्रिय छ त ? मानवअधिकार संगठनको काम के हो ? मौलिक हकमा के–के समेटिएका छन् ? जस्ता प्रश्नहरूका उत्तर कठिन बनेका हुन्छन्, किनभने रुचिका साथ नसुन्ने, नपढ्ने, हलुका र सरल विषयका रूपमा यसलाई हेर्ने जस्ता कारणले नै सामाजिक विषय जटिल र मन परेको हो जस्तो देखिन्छ । विश्वका देश, त्यहाँको साक्षरता दर, क्षेत्रफल, झन्डा, मुद्रा, भाषालगायत अनेकौं जानकारी दिने सामाजिक विषय राम्ररी पढ्ने विद्यार्थी सहजै लोकसेवा आयोगको नायब सुब्बा पदमा सफलता प्राप्त गर्न सक्षमसमेत हुन्छन् ।
समग्रमा भन्नुपर्दा सामाजिक विषय सबै हामी र हामीले मान्ने गरेको चाडपर्व, भाषा, धर्म, संस्कृति, परम्परा, वंश, हाम्रा सरकारी निकाय, तीन तहका राज्य, सरकारलगायत सबै साह्रै नै उपयोगी अनि व्यावहारिक छन् र तिनका बारेमा अध्ययन गरिने भएकाले चासो लिनका लागि भने रोचक र जानकारीपूर्ण पनि छ । त्यसैले सामाजिक अध्ययन महत्वपूर्ण पनि छ । यसको गरिमालाई अझै बढाउनेतर्फ सम्बन्धित सरोकारवाला सबै जुट्नुपर्छ ।

 

प्रतिक्रिया दिनुहोस्